(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कित बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुनेका छौ । यसै विषयलाई ध्यानमा राख्दै हामीले कोरोना सङ्क्रमित, कोरोना महामारीमा खटेका व्यक्ति वा परामर्शदार्तासँग छलफल गर्ने प्रयत्न गरेका छौं । यसका कारण कोरोनाको प्रतिरोधी शक्ति बढ्ने अनुमान गर्दै हामी प्रत्येक दिन यस्ता सामग्री स्रोता र दर्शकमाझ ल्याउने प्रयत्न गर्दैछौ । हाम्रा सामग्री के कस्तो लाग्छ । सुझाब लेखेर पठाउनु हुन्छ भन्ने विश्वास लिएका छौ ।)
इलाम माईजोगमाई(हाल इलाम नगरपालिका)का महेश सापकोटा केहीदिन अघि ढाडको समस्या लिएर झापाको अस्पताल पुग्नुभयो । सापकोटालाई ढाडको समस्या थियो तर कोरोना परीक्षण गर्न लाइयो । एन्टिजेन परीक्षणकाे रिर्पाेट पोजेटिभ आयो । तर पिसीआर परीक्षण भने नेगेटिभ आयो । यसबारे सापकोटालाई इलाम आवाज अनलाइनले लिएको अन्र्तवार्ता प्रस्तुत छ :
प्रश्न : तपाईंलाई कोरोनाको कुनै लक्षण थियो कि के कारण कोरोना परीक्षण गर्नुभयो ?
उत्तर : मलाइ ढाडको समस्या थियो । पहिले सामान्य दुखेको थियो । अलि बढी नै दुखेपछि इलाम अस्पताल गएर जाँच गरे । त्यहाँ भएन । त्यसपछि झापाको विर्तासिटी अस्पताल गए । विर्तासिटीमा कोरोनाको परीषण अनिवार्य रहेछ । त्यसैले गर्नुप¥यो ।
प्रश्न : पहिले एन्टिजेन्ट पोजेटिभ आएछ तर तपाईंमा लक्षण चाहिँ रहेछ, नपत्याएर कि किन पीसीआर परीक्षण गर्नुभयो ?
उत्तर अँ, मलाइ कोरोनाको कुनै पनि लक्षण थिएन । अस्पतालले परीक्षण गर्नैपर्छ भनेर गरे । एन्टिजेन्ट पनि नेगेटिभ आउँछ भन्ने लागेको थियो तर आएन । त्यसपछि त सामान्य डर त लाग्यो तर कोरोना होइन भन्नेमा म विश्वस्त थिए । त्यही कारण पीसीआर परीक्षण गराए ।
प्रश्न : एन्टिजेन्ट पोजेटिभ आएपछि अस्पतालले कस्तो व्यहार ग¥यो । तपाईं आफूलाई चाहिँ कतिको डर लाग्यो ?
उत्तर : अस्पतालमा कोरोना पोजेटिभ भनेपछि अर्कै वातावरण वन्यो । यहाँ हुँदैन कोरोना अस्पताल जानु पर्छ भनेर अस्पतालले भन्यो । अरूअरू अस्पताल पनि जान खोजे । तर प्याक भएको थाहा पाएपछि कतै जान पाइएन । अँ, डर त लाग्ने भयो । आफू त कोरोना जित्छु भन्ने लागेको थियो तर घरपरिवार सबैलाई स¥यो होला भन्ने लाग्यो । त्यो कुरामा चाहिँ साह्रै नराम्रो भयो ।
प्रश्न : कोरोना पोजेटिभ(एन्टिजेन) आएपछि तपाईंलाई अरूले गर्ने व्यवहारमा कतिको फरक पाउनुभयो ?
उत्तर : साँच्चीकै भन्ने हो भने मलाइ एक्लो भएको फिल भयो । कोही छेउमा आउन मान्दैन थिए । मेरा त साथीभाइ साह्रै धेरै छन् तर पनि मलाइ एक्लो भएको अनुभव भयो । कति बेला पीसीआर रिर्पोट आउँछ भन्ने मात्रै लागि रहयो । पछि पीसीआर रिर्पोट नेगेटिभ आएपछि साह्रै खुसी लाग्यो ।
प्रश्न : तपाईंको विचारमा एन्टोजिन परीक्षण कस्तो रहेछ , तपाईंले के बुझ्नु भयो ?
उत्तर : एन्टोजिन परीक्षण मेरो विचार रुघा, खोकी वा अरू कुनै लक्षण भएकालाई पनि पोजेटिभ देखाउने परीक्षण हो भन्ने लाग्छ । मेरो मात्र होइन अरू पनि थुप्रैको पोजेटिभ आयो तर पछि पीसीआर नेगेटिभ आयो । यसको भर पर्नुनहुने रहेछ । कोरोना नलागेकालाई पनि देखाउने रहेछ । यदि एन्टिजेन पोजेटिभ आए तत्काल पीसीआर गर्नुपर्छ । यसको मतलब, एन्टिजेन पोजेटिभ आउँदैमा कोरोना लाग्यो भन्न सकिदैन ।
प्रश्न : अनि, तपाईंको त ढाडको समस्या भएर जानु भएको थियो । त्यो चाहिँ के भयो त ?
उत्तर : मेरो ढाड दुख्नुको कारण मेरो किड्नीमा पथ्थरीया भएको रहेछ । अप्रेसन भयो । अहिले रेस्ट गरेर बसेको छु । २२ दिनपछि फलो अपमा बोलाएको छ । अरू कुनै समस्या छैन ।
प्रश्न : जो जो एन्टिजेनको भर परेर बस्नुभएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?
उत्तर : मैले अघि पनि भने । यसको(एन्टिजेन) भर पर्ने नै होइन । यदि एन्टिजेन परीक्षण पोजेटिभ आएपनि पीसीआर परीक्षण गराउनु पर्छ । नभए कोरोना नलागेकालाई पनि कोरोना भयो भनेर बस्न पर्ने हुन्छ । यदि मैले पनि एन्टिजेनको भर परेको भए कोरोना संक्रमित नै जस्तै गरेर बस्थे तर पीसीआर गराएपछि ढुक्क भए । आफूलाई लक्षण अनुसार चेकअप गर्नु उत्तम हुन्छ । लक्षण नै नभई कोरोना देखिदैन भनेर विज्ञहरूले नि भन्दै हुनुहुन्छ । यसमा हतास गर्नुपर्ने कुरा पनि होइन ।