गत बर्ष अत्यन्तै धेरै स्रोताले मनपराएको म्युजिक भिडियो हो–तीनपाते । अर्गानिक पृष्ठभूमि, मन तान्ने गीत र म्युजिक । अनि गाउँघरको अर्गानिक सिनले धेरैले भिडियो मन पराए ।
यो भिडियोको अधिकांश भाग इलाममा खिचिएको हो । यो सिन इलामको मंगलबारे र पानीटारको हो । भिडियोमा कृषि कर्मका चित्र देखिएको छ । तीनपात म्युजिकल फिल्मका निर्देशक नवीन चौहानका अनुसार आफैले अनुभूत गरेको विषय दर्शकसमक्ष पु¥याएको हो । यति धेरै रुचिकर हुनुको पछाडि नवीन भन्छन्,‘पहिला त हामीलाई थाहा थिएन । तीनपाते यस्तो होला भन्ने ।’ चौहान थप्छन्,‘गाउँघरकै परिवेश । अनि हामीले नै भोगेको कथा भएकाले मन धेरै पराइयो ।’
१५ मिलियनले हेरिसकेका छन् । तीनपाते’ले जम्माजम्मी ९ मिनेटभित्र पूर्वेली जन–जीविका, भौगोलिक विशिष्ठता, निश्छल पिरती, युवा सपना र ग्रामिण उद्यमको उमंगमय खाका पेश गर्छ ।
ससर्ती माया–पिरतीको कलेवरमा यसले युवाको उद्यमशिलता बारे देखाउँछ । तर, यसभित्र त्यस्ता थुप्रै मिहिन कुराहरु समेटिएका छन्, जसले ग्रामिण सौन्दर्य उजागर गर्छ । जस्तो मेलापात, हाटबजार, वस्तुभाउ, घरेलु उद्यम, चालचलन ।
ग्रामिण समाजको आफ्नोपन झल्काउने नाङ्लो–मान्द्रो, मानो, घरेलु तानदेखि पञ्चेबाजा, लाहुरे रवाफ जस्ता रोचक कुराहरु समावेश गरिएका छन् ।
निकै होसियारीपूर्वक गरिएका दृश्य संयोजन र प्रतिकात्मक दृश्यहरुले यसलाई अरु खास बनाएको छ । ‘हामी उद्यमशील भएर नेपालमा बाच्न सकिन्छ भन्ने देखाउन चाहन्थ्यौ । हामीबीच पनि यसैबारेमा कुराकानी हुन्थ्यो ।’ मिलनले भने,‘साथी (निर्देशक नवीन चौहान)सँग कुराकानी गर्दा उसको मेरो सोच सधै मिल्थ्यो । मैले पनि तीनपातेबाट नयाँ कुरा सिके ।’
कोरोनाको कारण धेरैको जीवन कष्टकर छ । उद्योग धन्दा ठप्प छ, पेशा–व्यवसाय धरापमा छ, रोजगारी संकटमा छ । अर्कोतिर रोजगारी गुमाएर विदेश एवं शहरबाट युवाहरु गाउँ फर्कदैछन् । यसरी गाउँ फर्किएका युवाहरुले आफ्नै चुल्होमा पाकेको भात खाएर, आफ्नो पसिनाले घर–बारी सिंचित गरेर जीवनलाई अरु उन्नत बनाउन सक्छन् । यो भिडियोको आशय पनि यही नै हो ।
वैदेशिक रोजगारीमा बढ्दो आकर्षण घटाउन तीनपातेले सहयोग गर्छ । एक युवाले कसरी स्वदेशमा जीवनयापन गर्न सक्छ भन्ने चित्र तीनपातेले गर्छ । यस बारे संगीतकार सुजन चापागाईं आफ्नो अनुभव भन्छन्,‘ सुरुमा गीत बनायौ । नवीन दाइले स्क्रिप्ट लेखेर इलाम पुगिसक्नुभएको थियो ।’ उनले थपे,‘म पनि पहिलो चोटी इलाम गएको । पहिले त कस्तो संगीत भर्ने पत्तै पाइन । पूर्वतिरको गीत सुने । म बिस्तारै भिज्दै गए । फटाफट मिलाउँदै गए ।’
सुजनका अनुसार गीतमा चारवटा पार्टछन् । विस्तारै सबै पार्ट समायोजन गर्दै जाँदा मिल्दै गयो । यो काम सुजन एक्लैले मात्र गरेनन् । अरूलाई पनि म्युजिक भरेर देखाउन थाले । सबैले हुन्छ भनेपछि मात्र सुजनले काम अघि बढाए । हाटबजारमा भेट हुने दुई बालकको प्रेमिल एवं निश्छल लुकिछिपीसँगै कथाको उठान गरिएको छ । तीनपातेका दुई बाल पात्रको कथा चाहि अलि अगाडिको समयको प्रतित हुन्छ, जतिबेला इन्टरनेटको मादकताले छोएको थिएन । हाटबजारमा उनीहरुले विद्यालयको पोशाक लगाएका छन्, गोठ एवं हलोलाई खेलौना बनाएका छन्, बाँसको खबटाको पंख बनाएर उडाएका छन् ।
यस किसिमको बालापनमा रमाएर हुर्किएकाहरु भिडियोले नोस्टाल्जिक बनाउँछ । भिडियोमा मिलन खत्री, अनु काफ्ले, सम्रान्त थापा, नयान नेपाल, आयुष्मा काफ्ले, हर्क साउद, मुना धिताल, कविता थापा, विष्णु कार्की र सुजन खत्रीले अभिनय गरेका छन् । नेपाली संस्कृति झल्किने गीत गाउन पाएकोमा आफू खुसी रहेको गायिका विद्या तिवारीको भनाइ छ ।
यसअघि पनि निर्देशक चौहानले आफ्ना म्युजिक भिडियोमा ति सुक्ष्म तर घतलाग्दा कुराहरुलाई प्राथमिकतासाथ समेट्दै आएका छन्, जो एउटा पुस्ताको अभिन्न जीवन–भोगाईसँग मेल खान्छ । यसअघि उनले ‘के माया लाग्छ’, ‘लुकिछिपी’, ‘बटौली’ जस्ता म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।