‘फलानोलाई त कोरोना लागेछ’ पहिलो पात्र भन्छ ।
‘हो र ? मलाई शंका त लागिरहेको थियो । पक्कै पनि कोरोना लागेकै हुनुपर्छ ।’ दोस्रो पात्र ठोकुवा गर्छ ।
‘हो हो, म ग्यारेन्टी गर्छु । कोरोना लागेकै हो ।’ पहिलो पात्र उत्तेजित हुँदै भन्छन् ।
यी पात्रहरु गाउँ चाहर्दैै घर–घर पुग्छन्, भान्सा–भान्सा पुग्छन् । जो भेट्छन् उसैसँग कानेखुसी गर्छन्, ‘फलानोलाई कोरोना लागेको छ ।’
आफ्नै लयमा सुस्ताईरहेको गाउँमा अचानक सन्त्रास फैलन्छ । यो नियोजित हल्ला भस्मेको डढेलो झै सर्वत्र फैलन्छ ।
कोही भन्छन्, ‘फलानो त हिजो मसँग भेट भएको थियो । आज रातभर मेरो जिउ दुख्यो, पेट बाउडियो, खोकी लाग्यो ।’
पहिलो पात्र हौसिदै भन्छन्, ‘लु फलानोले तिमीलाई पनि कोरोना सारेछ । अब बर्बाद भयो ।’
कोही सत्ते–सराप गर्छन्, ‘कस्तो असती रहेछ, हिजो मेरै घरको आँगनबाट हिँड्दै थियो । मलाई पनि कोरोना सारे जस्तो छ ।’
दोसो पात्र उक्साउँदै थप्छन्, ‘कोरोना सार्न पनि सक्छ है । यो त हावाबाट पनि फैलन्छ नि ।’
बिहे–भोज, पानी पँधेरो, रक्सी भट्टी सबैतिर यही विषयमा चर्चा हुन्छ, ‘फलानोलाई कोरोना लाग्यो ।’
कागले कान लग्यो …
नेपालीमा समाजमा प्रचलित उखान छ, कागले कान लग्यो भने कागको पछाडि दौडने । ठीक यस्तै हालत छ गाउँ–समाजमा । केही धूर्तहरु समाजमा अनावश्यक हल्ला फैलाउँछन् । गाउँलेहरु हल्लाको पछाडि दौडन्छन् ।
सत्य के हो ? के आफुले सुनेको कुरा यर्थाथ हो ? कुन नियतले यि मान्छेहरु यस्ता हल्ला फैलाउदैछन् ? गाउँलेहरुसँग बुझ्ने धैर्यता छैन । गाउँलेहरु ति धूर्तहरुकै कुरामा पत्यार गर्छन् र मनभरी डर–त्रास बोकेर अनिदो रात कटाउँछन् ।
कोरोना भर्सेस सुलसुले
समाजलाई कोरोनाले सताइरहेको छ । तर, कोरोनाभन्दा डरलाग्दो छ, समाजमा सुलसुलेहरु । यिनीहरु अर्काको चियोचर्चा गर्छन् । कसले के भन्दैछ, कसले के गर्दैछ ? ढोका छेवैमा पुगेर कान थाप्छन् । अनि अन्धधुन्द गाउँभर अनावश्यक हल्ला फैलाउँदै हिँड्छन् ।
सुलसुलेहरु किन यस्तो हल्ला फैलाउन रुचाउँछन् ?
मनोविज्ञहरुले यसलाई एक किसिमको मानसिक समस्या भनेका छन् । यो मेन्टल डिसअर्डर हो । उनीहरुले आफ्नो मनभित्र एक किसिमको ईष्र्या र कुण्ठा दबाएका हुन्छन् । अरुको उन्नतीले, अरुको खुसीले, अरुको उत्साहले उनीहरुलाई भित्र–भित्रै पिरोलेको हुन्छ । अतः भित्र–भित्रै भत्भताईरहेको मनलाई शान्त पार्न सुलसुलेहरु अरुलाई होच्याउँछन्, अरुको खिल्ली उडाउँछन् ।
अरुलाई गाली गरेर, दुःख दिएर आफ्नो मनलाई सान्तवाना दिन्छन् ।
वास्तवमा यो व्यक्ति होइन, प्रवृत्ति हो । यस्ता प्रवृत्तिलाई ‘मनो–विकार’ भनिन्छ । शरीरमा हुने दिसा, पिसाब, सिगान, पिप जस्तै यो मनभित्र जमेको विकार हो । टक्सिन हो ।
समाजलाई दुषित बनाउने डर
मान्छेमा कसरी आउँछ त यस्तो मनोविकार ? मनोविज्ञहरुका अनुसार यो उनीहरुमा वंशानुगत आउन सक्ने वा उसको परिवार, साथी सर्कल वा यस्तै विकार भएकाहरुको संगतबाट आउन सक्ने बताएका छन् ।
यसले समाजलाई हानी गर्छ ?
आवश्य । जब–जब यस्ता मनो–विकार भएका व्यक्तिहरु हावी हुँदै जान्छ, समाजमा कलह, आशंका, डर, विभेद, असुरक्षा, अत्माग्लानी बढ्दै जान्छ । समाज नकारत्मक बन्दै जान्छ । र, छिमेक, आफन्त, इष्टमित्रवीच फाटो आउँछ । समाज समाज जस्तै रहँदैन ।
यस्ता प्रवृत्ति भएका सुलसुलेहरु समाज निर्माणको काममा, समाज सुधारको काममा कहिल्यै अग्रसर हुँदैनन् । गाउँमा मलामी जानु परे, बिहे–कार्जेमा सहयोग गर्नुपरे, दुःख–बिराममा हेरचाह गर्नुपरे कोठाभित्र लुक्छन् । र, दुलोबाट चियाएर बस्छन् ।
गाउँमा बाटोघाटो बनाउनु परेमा, मन्दिर निर्माण गर्नु परेमा, स्वस्थ्य मनोरञ्जनको व्यवस्था गर्नुपरेमा यि सुलसुलेहरु गायब हुन्छन् । तर, सानो निहुँ पाएमा झ्याली पिट्दै हिँड्न उक्सिन्छन् ।
यस्ता प्रवृत्ति भएका व्यक्तिहरु आफैमा समाजको घाउ हो, जसले समाजलाई जहिले दुःख दिइरहन्छ । अरुलाई दुःख दिएर मस्त रमाउने यो प्रवृत्तिलाई कसरी न्युनिकरण गर्ने त ? समाजलाई कसरी सकारात्मक बनाउने ? समाजमा कसरी झगडा, आरोप–प्रत्यारोप, आतंकबाट बचाउने त ? यो अहिलेको जल्दोबल्दो प्रश्न हो ।
अहिले सबैतिर कोरोना आतंक छ । यो विश्वव्याधिसँग जुध्न चिकित्सा विज्ञान हर–तरहले कोसिस गरिरहेकै छ । यद्यपि कोरोनाको विशेषता के भने, यो लखेट्दै, खेद्दै, चिथोर्दै तपाईं–हामीकहाँ आइपुग्दैन । कोरोनाले त त्यसबेला मात्र सताउँछ, जब हामी लापरवाही गर्छौं । कोरोना भाइरसबाट बच्नका लागि सबैभन्दा पहिलो र सुरक्षित तरिका हो, भौतिक दूरी । त्यसपछि मास्क । अनि त्यसपछि शारीरिक सफाई ।
तर, गाउँघरका सुलसुलेहरुले भने जस्तोसुकै अवस्थमा पनि दुःख दिन सक्छ, सताउन सक्छ । यस्ताबाट बच्नका लागि यस्ता प्रवृत्ति भएका व्यत्तिहरु प्हिचान गर्ने । उनीहरुको कुरा कति सत्य हो परीक्षण गर्ने । अन्यथा, यस्ताहरु जति भुकेपनि पूर्णत बेवास्ता गर्ने ।