एउटा सम्भावनाको अवसान

 

मस्त निद्रामै भएका बेला एकाबिहानै लोचन ज्वाइँले फोन गर्नुभो – ‘नवराज शंकर दाइ अब हामीमाझ रहनुभएन ।’

‘ओहो ! कहिले ? कसरी ?’ सायद अनि मेरा अरू शब्द रोकिए ।

‘करिब आधा घण्टा भयो होला,’ मलाई त्यो खबर सत्य भएको पुष्टि गर्ने थप प्रयास गर्नुभो उहाँले, ‘अरूलाई पनि खबर गर्दैछु । तपाइँलाई पनि भनें ।’

लोचन ज्वाइँ आफैं जिम्मेवार ठाउँ, जिम्मेवार पदमा रहनुभएको मान्छे । उहाँले भन्नुभएपछि कतैबाट थप पुष्टि गर्नुपर्ने जरुरी नै थिएन ।

तर, अहँ ! यो कसरी हुनसक्छ ? विश्वास लाग्दैलागेन, त्यति विश्वासिला ज्वाइँको कुरा पहिलोचोटी पत्याइनँ । तर, नपत्याउँ पनि कसरी ।

विराट मेडिकल कलेजमा नवराजको इन्टेन्सिभ केयर युनिट (आइसियु)मा उपचार भइरहेको थियो । उपचारमा सँगै रहेका अर्का मित्र ईश्वरी तामाङलाई फोन गरें ।

‘हो…दाइ… नवराज दाइले…..हामीलाई छाडेर…. जानुभयो,’ यति शब्द उच्चारण गर्न ईश्वरीले निकै समय लाए र बल गरेरै ‘हुँक्कहुँक्क’ रोके । मैले पनि थप सोध्ने शब्द थिएन ।

कुरा पुष्टि भयो । तर, अझै कताकता अस्पतालभित्र बेडमा नवराजलाई पक्कै केही भएको छैन । बा, डाक्टरले पो अर्कै मान्छे बितेको घटना बाहिर ल्याएर सुनाउँदा नवराज भनेर कुरुवालाई भनिदिए कि ! अलिकति मनगढन्ते आशा पलायो । तर, त्यसमै अडिन पनि सकिएन ।

अचेल जे नयाँ खबर पनि छिट्टै सामाजिक सञ्जालमा फैलिन्छ । मलाई फोनसमेत आइसक्दा यो खबर फेसबुकमा त छ्यापछ्याप्ती भइसक्यो होला ।

हतारहतार फेसबुक खोलें । माथिदेखि तलसम्म स्क्रोल गरें । अहँ, छैन । कसैले त्यस्तो कुनै खबर हालेन । र, त्यस्तो अकल्पनीय घटनाको संकेतसम्म गरेको कतै भेटिनँ ।

हैट, फेरि एकपटक मैले लोचन ज्वाइँ र ईश्वरी भाइलाई अविश्वास गर्नुपर्ने भयो । तर, कुनै न कुनै रूपमा मैले पनि साथीहरूमाझ यो अप्रिय खबर पु¥याउनु त पर्ने नै थियो ।

हिजोसम्म सँगै रहेको जल्दोबल्दो साथी बितेको खबर र श्रद्धाञ्जली सार्वजनिक रूपमा बोल्ने÷लेख्ने साहस भएन । उपाय खोजें । र, फेसबुक वालमा सांकेतिक रूपमा लेखे– ‘भर्खरै सुनेको खबर सत्य नहोस् भन्ने कामना छ ।’ अनि, पत्रकार साथीहरू भएको फेसबुक ग्रुपमा नवराजको तस्बिर राखेर लेखिदिएँ– ‘यो खबर बुझौं ।’ पत्रकार साथीहरूमात्रै आबद्ध रहेको फेसबुक म्यासेन्जरमा समेत नवराजको पुष्टि भइसकेको मृत्यु लेख्ने आँट आएन ।

केही मिनेटपछि फेसबुकमा साथीहरूका ‘सस्पेन्ड’ स्टाटस धमाधम आउन थाले । स्टाटसमा कमेन्ट पनि सस्पेन्ड नै आइदिए । अनुमान गर्न कठिन थिएन– उहाँहरूलाई पनि मलाईजस्तै विश्वास लागेको छैन, पत्यार लागेको छैन ।

व्यक्तिगत म्यासेन्जरमा सयौं साथीहरूले स्टाटसबारे स्पष्ट गर्न आग्रह गर्नुभो । कतिपयमा जवाफ लेख्न भ्याइयो, कतिमा भ्याइएन । सबै जिज्ञासामा जवाफ लेख्न चाहिँ भित्रदेखि कताकता मैले गलत त गरिरहेको छैन भन्ने शंका लागिरह्यो ।

अन्ततः खबर गलत थिएन । सामाजिक सञ्जालभर उनकै नाममा ‘हार्दिक श्रद्धाञ्जली’ आउनथाल्यो । एकैछिनमा माथिदेखि तलसम्म त्यही खबर नयाँ बन्यो ।

मित्र नवराजसँगका स्मृति अनगिन्ती छन् । सबै लेख्न अहिले सम्भव छैन । तैपनि, किरण भाइले नवराजसँगको सामीप्य कसरी स्मरण गर्नुहुन्छ ? भन्ने जिज्ञासा राखेपछि करिब २ दशकदेखि नवराजसँगका उठबसको याद हुर्हुर्ती फ्ल्यासब्याक भइरहेको छ ।

एसएलसीपछि २०५९ सालमा म महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भएर आउँदा विद्यार्थीमाझ परिचित थिए नवराज । अरू साथीसँगजस्तो उनको र मेरो औपचारिक (हात मिलाएरै) परिचय भयो वा भएन सम्झना छैन । तर, खिनौटो, ठूला आँखामा सेतो सानो क्लियर चस्मा, ब्रस कटिङ कपाल अघिल्तिर ठाडो पारेको, हल्का पहेंलो स्विटर र हातमा एउटा डायरी उनको पहिचान । क्याम्पसका औपचारिक सभा–समारोहमा मन्तव्य राखेपछि उनको स्पष्ट विचार र बोली सबैमाझ छर्लंग थियो । तीक्ष्ण बुद्धि, छिटो दिमाग चलाएर परिस्थिति आफ्नो बसमा लिनसक्ने क्षमता देखिन्थ्यो उनमा ।

म भर्खरै पत्रकारितामा छिरेर लेख्न रहर गर्दैगरेको ठिटो । जनआन्दोलन २०६२÷०६३ ले हामीलाई अझ नजिक बनायो । बिहानै प्रतिगमनको पुत्ला बनाउनेदेखि दिउँसो चोकबजारमा जलाउने, कहाँबाट कसरी नारा लगाउँदै चोकबजार परिक्रमा गर्ने भन्नेजस्ता तयारीमा साथीहरूमाझ सल्लाह हुन्थे । केही दिन त्यसरी चलेपछि आन्दोलनले मलाई विद्यार्थीका रूपमा भन्दा पत्रकारकै भूमिकामा बढी तानेछ । जनआन्दोलनका सुरुका दिन एउटै विन्दूबाट र केहीपछि एउटै मैदानमा दुईखाले भूमिकामा देखियौं नवराज र म ।

त्यतिबेला जनआन्दोलनले स्थापित गरेको एउटा चर्चित शब्द थियो ‘नयाँ नेपाल’ । लोकतन्त्र पुनर्वहालीपछि इलामका युवा विशाल भारद्वाज, म, देवराज भारद्वाज, बसन्त बस्नेत र किशोर रिजालले ‘नयाँ नेपाल निर्माणमा युवाको सहभागीता सुनिश्चितता’ भन्ने अभियान थाल्नेबारे छलफल गर्दा सुरुमै अभियानमा जोड्न आवश्यक सशक्त अभियन्ताको नामका रूपमा आएको थियो– नवराज शंकर । र, उनीसहित किशोर रिजाल, सुदीप श्रेष्ठ, माधव गुरुङ, कुमार पुलामी, लक्ष्मी श्रेष्ठ, देविका सुवेदी, नेत्र घतानीलगायत हामीले नेतृत्व तहमा युवाको अर्थपूर्ण सहभागिताका लागि जिल्लाभर अभियान चलाउँदा नवराजले सहयोगमात्र गरेनन्, अभियानको नेतृत्वसमेत गरेका थिए ।

२०६४ सालतिर इलाम एफएममा सहकार्य गर्दा नवराजसँगको सामीप्यता अझ बढ्यो । उमेश गुरुङ दाइ र मैले डेस्कमा समाचार सम्पादन गरेपछि वाचन गर्नेमध्येका एक थिए नवराज । तर, एफएममा मभन्दा पहिला नै काम सुरु गरेका । केही महिना मैले एफएममा समाचार संकलन र सम्पादन गरें, नवराजले वाचन गरे । पछि हामीले सँगै समाचार वाचन ग¥यौं । उनको वाचन स्पष्ट थियो । त्यतिबेला समाचारको स्रोतको माध्यमका रूपमा इन्टरनेट प्रयोग गरिएन । बिहानदेखि वाचन गर्ने समयसम्म हातले लेखेरै समाचार बुलेटिन बनाउँथ्यौं । थोरै समाचार फ्याक्समार्फत् आउँथे । तर, हतारमा हातले लेखिएका अक्षर नै नबुझिने समाचारमा समेत ‘सेन्स’ लगाएर सरर पढ्नसक्ने खुबी नवराजमा थियो ।

समाचारबाहेक उनी रेडियोमा खेलकुदसम्बन्धी कार्यक्रम चलाउँथे । र, बुलेटिनका लागि पनि खेलकुदका कतिपय समाचार नवराजले नै लेखिदिन्थे । उनका अक्षर निकै राम्रा । कतै केरमेट नभएका, हेरिरहँु लाग्ने । उनका अक्षर पढ्न हामीलाई समस्या थिएन । मलाई पनि धेरैले ‘तेरा अक्षर राम्रा छन्’ भनेर हौस्याएपछि अझ राम्रा पारेको थिएँ । तर, समाचार लेख्दा यति हतार हुन्थ्यो कि, स्कुल पढ्दाका ती अक्षर एफएममा काम गरेको ६÷७ महिनापछि कता बिलाए, आफैंलाई थाहा भएन । त्यसै त पत्रकार, पछि कम्प्युटर चलाउन थालेपछि त झन् अक्षरको के कुरा गर्नु ।

समाचार वाचनमा होस् वा खेलकुद कार्यक्रम सञ्चालन, नवराजको प्रशंसा गर्नेहरू गाउँदेखि सहरसम्म थिए । अहिले पनि छन् । केही समयपछि मैले रेडियो छाडें । अलि पछिसम्म नवराजले काम गरे । उनले जति समय रेडियोमा काम गरे, ‘नवराजभित्र पनि केही दम छ’ भन्ने छाप छाड्न सफल थिए ।

उनी राजनीतिमा सक्रिय, म चाहिँ पत्रकारितातिर । तर, धेरै अभियान र औपचारिक÷अनौपचारिक कार्यक्रममा हामी सँगै भयौं । प्रायः धेरै सार्वजनिक विषय हामीबीच सेयर भए । जिल्लाको राजनीतिक अवस्था, दलहरूको गतिविधि, पत्रकारिता, यसको चुनौती, अवसरबारे हामी दुईबीच व्यक्तिगत हिसाबका गफगाफ निकै भए । दलित समुदायको मुक्ति र मानवअधिकारको रक्षाका लागि सक्रिय नवराजसँग दर्जनौंपटक अभियन्ताका रूपमा सँगै भयौं हामी ।

सूचनाको हकसम्बन्धी कार्यक्रमको प्रशिक्षकसमेत भएकाले नवराज पत्रकारितासँग पनि निकट थिए । आफ्नो राजनीतिक दलको गतिविधि, कार्यक्रम र योजनाको प्रचारप्रसार गर्दा उनले दिएको सूचनामा ‘५ डब्ल्यु, १ एच’ खोजिरहनुपर्ने झन्झट हामीलाई थिएन । कतिपय विषयमा समाचार नै लेखेर पत्रकार मिडियालाई इमेल गरिदिन्थे । अध्ययनशील र बाहिरी विषयमा समेत जानकारी राख्ने भएकाले उनी आफै पनि सूचनाको स्रोत थिए ।

२०७४ सालको प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारलाई जिताउन उनले पार्टीको तर्फबाट निकै गहन तरिकाले प्राविधिक तयारी गरेका थिए । र, त्यही चुनावको मतगणनाका बेला नवराजले दलको तर्फबाट सहभागी भएर जसरी स्पष्ट रूपमा पत्रकारलाई सूचना उपलब्ध गराएका थिए, त्यति स्पष्ट सूचना अरूबाट आएन । आएपनि निकै समय कुरेपछि मात्रै । र, पछि हाम्रो पत्रकारवृत्तमा चर्चासमेत भयो– नवराजले मतगणनाको बेला पनि आफ्नो क्षमता र कौसल प्रदर्शन गरिछाडे ।

नवराजसँगका सयौं उठबस र स्मरण छन् । सबै लेखेर साध्य छैन । पछिल्लो पटक इलाम नगरपालिका–३ को पाटेनागी पर्यटकीयस्थल जाने टोलीमा सँगै भयौं । त्यसबेला उनले नगरपालिकाको विकासका केही अवधारणासमेत सुनाए । र, उनको निचोड थियो–पर्यटन र कृषिमा इलाम जिल्लाको भविष्य छ, त्यसमै केन्द्रित हुनुपर्छ ।

गत वैशाख २२ गते नवराजलाई कोभिड–१९ पोजिटिभ भएको खबर पाएपछि सम्पर्क गरें । लक्षण अलि–अलि देखिएको तर खासै समस्या नभएको सुनाए । चिकित्सकले मिडिया÷सामाजिक सञ्जालमार्फत् दिइरहेका सुझाव र पोजिटिभ भएपछि सेवन गर्न सिफारिस गरेका केही औषधिको नाम मोबाइलमा सेभ थियो । उनलाई पठाइदिएँ र भनें– यी औषधि कस्ता हन्, डाक्टरसँग सल्लाह लिनुहोला है ।

समस्या बढेर उपचारका लागि विराटनगर गएदेखि नवराजसँग सम्पर्क भएन । उपचारमा सँगै रहेका भाइ ईश्वरीसँग सम्पर्क भइरहेको थियो । र, हिजो (शनिबार अपराह्न) पनि ईश्वरीसँग कुरा हुँदा नवराजको स्वास्थ्यमा केही सुधार भएको खबर पाएको थिएँ । तर, बिहानको अकल्पनीय खबरले मर्माहत बनायो ।

राजनीतिक व्यक्ति भएकाले र देखेको कुरा कसैको मुख नताकी स्पष्ट राखिदिने स्वभावले नवराजप्रति शतप्रतिशतको धारणा सकारात्मक रहन असम्भव हुनु पनि अस्वभाविक चाहिँ होइन । तर, नवराज जे थिए– इलामे विद्यार्थीको ढुकढुकी थिए, इलामे युवाको रोलमोडल थिए र इलामकै अत्यन्त सम्भावना बोकेको उज्वल नक्षत्र ।

– अलविदा नवराज ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार