प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

  आवाज संवाददाता

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जसपाले तीन बुँदे ध्यानाकर्षण पत्र जारी गरेको हो।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वक्तव्य जारी गरेर नै प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गर्न माग गरेका हुन् । प्रधानमन्त्री पदको शपथग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्‍याउन अस्वीकार गरेका हुँदा जसपाले सार्वजनिकरूपमा नै ध्यानाकर्षण गराएको हो ।

‘२०७८ वैशाख ३१ गते प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्‍ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले मुलुकको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ,’ अध्यक्ष यादवको हस्ताक्षरमा जारी वक्तब्यमा उल्लेख छ ।

सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त नपनाएको भन्दै त्यसमा पनि आपत्ति ब्यक्त गरेका छन् । जसपाले राजदूत नियुक्तीको विषय पनि उल्लेख गरेका छन् । त्यस्ता नियुक्तिमा सरकारले संविधान र आफ्नै निर्देशिका समेत नपछ्याएको भन्दै आपत्ति जनाएका छन् ।

वर्तमान सरकारले सबै क्षेत्रमा मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको भन्दै त्यसमा गम्भीर हुन सबैलाई आग्रह समेत गरेका छन् ।

कोभिड संक्रमण बढि रहेको तर्फ पनि प्रधानमन्त्रीको ध्यान नपुगेको पनि उल्लेख छ । सरकारले स्वास्थ्य सामग्रीको आपतकालीन व्यवस्थान गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरेको छन्। अस्पतालमा बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधीको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको भन्दै त्यसमा ध्यान दिन सरकरालाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार