इलाम अस्पतालमा एचडियु सहित ४२ बेडको कोरोना अस्पताल सञ्चालनमा

  आवाज संवाददाता

इलाम।इलाम अस्पतालमा दुई वटा एचडियू/आइसीयु (आइडिफेन्सी युनिट/इन्टेन्सिभ केयर युनिट) को दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ ।

अस्पतालले आजदेखि एचडियु सञ्चालन गरेको हो । हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । एचडियु र आइसियूसहित ४२ बेडको कोरोना अस्पताल शुरु गरिएको पनि उनले बताए ।

एचडियु सञ्चालन र अन्य सेवाका लागि जनशक्ति अभाव रहेको छ । तत्कालका लागि माैजुदा जनशक्तिले सञ्चालन गर्दै गर्ने र थप जनशक्तिका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग अनुरोध गरिएको अस्तापलका व्यवस्थापक खतिवडाले जानकारी दिए । यसरीनै कोभिड अस्पताललाई आवश्यक पर्ने अक्सिजन लगायतका इक्यूपमेन्ट टेकुस्थित स्वास्थ्य सेवा विभागसँग माग गरिएको पनि उनले बताए ।

इलाममा पछिल्लो समय संक्रमणसँगै मृत्यूदर समेत बढ्दै गएपछि अस्पतालले कोरोना संक्रमितको उपचारका लागि थप व्यवस्थापन गरेको हो । इलाममा हालसम्म तीन सय ५१ जना संक्रमित भएका छन् भने १३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

अस्पतालले अक्सिजन सिलिण्डर (ठूलो) १०० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, प्यासेन्ट मोनिटर १० थान, पल्स अक्सिमिटर २० थान, एम्बु ब्याग (एडल्ट) १० थान, एन्टिजेन टेस्ट किट ५०० थान, भेन्टर मास्क १० थान, पीपीई सेट १००० थान र मास्क, पञ्जा, सेनिटाइजरको माग गरेको छ ।

यसैबीच, समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुबेदीको पहलमा करुणा फाउन्डेसन नेपालले इलाम अस्पताललाई पाँच सय थान एन्टिजेन किट उपलब्ध गराउने भएको छ । उक्त किट बुधबारसम्ममा इलाम पुग्ने जानकारी दिइएको छ ।

हेर्नुहाेस् पत्रहरु:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार