भारत जान जबरजस्‍ती गरेपछि पश्‍चिम नवलपरासीमा गोली चल्दा एककाे मृत्यू

  आवाज संवाददाता

बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ ।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै मृत्यु भएको हो ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५ र ७ जनाको समूहमा जान आएका व्यक्तिहरूलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए ।

५० र ६० जनाको समूहमा आएका स्थानीयहरूले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए। नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरे पनि भीड अझ उग्र हुँदै गएपछि बाध्य भएर गोली चलाउनु परेको बताए ।

भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार