पाँचथरमा पानीमा डुबिरहेको शव फेला, विभिन्न ठाउँमा थप तीनकाे मृत्यू

  आवाज संवाददाता

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् ।

नेम्वाङ  बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भिरबाट लडेर २ जनाको मृत्यु

सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो ।

बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बि।क।को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बिकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

ताप्लेजुङमा बेलिब्रिज बनाउने क्रममा कामदारको मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा एक जना कामदारको मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार