राष्ट्रपतिको विज्ञप्तीबारे छलफल गर्न कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको भन्दै कांग्रेसले चर्को विरोध गरेको छ।

त्यही विषयमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको पौडेलले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार