सत्तामा टिक्न ‘संविधान संशोधन कार्यदल’ : ओलीलाई निरन्तरता दिन जसपा तयार

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष केपी ओलीकै निरन्तरताका लागि तयार भएको छ । प्रदेशको सीमांकनसहित संशोधन गर्ने सुझाव दिनेगरी संविधान संशोधनका लागि कार्यदल बनाउने र नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पछि ठाकुर पक्ष केपी ओलीको निरन्तरताका लागि सहमत भएको हो ।

आफ्नै पार्टीका झलनाथ खनाल र माधव नेपालपक्ष पार्टी लाइनविरुद्ध राष्ट्रियसभा चुनावमा उभएपछि झस्किएका प्रानमन्त्री ओलीले झलनाथ माधव पक्षका सांसदको समेत टाउको गनेर बहुमत देखाउने र त्यसपछिको परिस्थितिमा प्रधानमन्त्रीको विकल्प खोज्ने बाटो बन्द गर्ने रणनीतिमा लागेको जसपाका एक नेताले बताए ।

“मधेसका सबै माग र मुद्दा संबोधनका लागि प्रधानमन्त्री ओली तयार भएकाले जसपाले अब ओलीकै निरन्तरताका लागि सहयोग गर्छ,” जसपाका ती नेताले भने, “अब अरु दलले पनि या त केपी ओलीको सरकार मान्नुपर्ने हुन्छ अथवा उनकै नेतृत्वमा चुनावमा जानुपर्ने हुन्छ।” ती नेताले बिहीबार राति अबेर राष्ट्रपति निवासमा संविधान संशोधन कार्यदल पनि बनिसकेको खुलाशा गरे । तर, कसको नेतृत्व भन्ने विषय भने सार्वजनिक नगर्ने सझदारी भएको उनले बताए ।

“मधेसका विषयमा हामीले राजनीतिक महत्वका लागि उठाएका मुद्दासमेत संबोधन हुने भएपछि जसपाले किन केपी ओलीको विकल्प खोज्ने,” ठाकुर निकट ती नेताले भने, “हाम्रा माग र मुद्दामा ओली यति धेरै सकारात्मक रुपमा अघि बढिसक्नुभयो कि त्यति काम हाम्रै पार्टीको नेतृत्वमा सरकार बन्यो भने पनि गर्न सहज छैन ।” उनले त्यही कारण ओलीलाई निरन्तरता दिएर अघि बढ्न जसपा सहमत भएको बताए ।

जसपा नेता तथा सांसद प्रमोद यादव भने केही समझदारी भए पनि ती समझदारी समय आएपछि सार्वजनिक हुने बताउँछन् । “हिजो केही राजनीतिक डेभलपमेन्ट भएका छन्जु, न आजै सबै सार्वजनिक हुँदैनन्,” साहले भने, “समय आएपछि ती समझदारी सार्वजनिक हुँदै जान्छन् । यति भन्न सक्छु समझदारी मधेसको हितमा छ ।” उनले ती समझदारीका आधारमा केपी ओलीकै निरन्तरता सम्भव हुनसक्ने बताए । बाह्रखरीले सामाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार