(पछिल्ला केही महिनाहरुदेखि यमलोकमा भीड बढेकाे छ । यो देखेर यमलोकका राजा यमराज, स्वर्ग तथा नर्क पठाउनका लागि सिफारिस गर्ने चित्रगुप्ता, यमदुतहरु सबै जना अचम्मित छन् । दिनका दिन यसरी भीड बढेपछि यमराजले चित्रगुप्तलाई आपतकालिन बैठक बोलाउनका लागि निर्देशन दिन्छन् । सोही निर्देशन अनुसार चित्रगुप्तले आपतकालिन बैठक बोलाउँछ्न् । बैठकमा सबैजना उपस्थित हुन्छन् ।)
यमराजः (चित्रगुप्त र यमदुतहरु तिर हेर्दे) विगत केही महिनाहरुदेखि हाम्रो यमलोक राज्यमा भीड बढिरहेको छ । यहाँ भिड बढ्नु भनेको पृथ्वीलोकमा अनिष्ट हुनु हो । चित्रगुप्त ! आखिर के भईरहेको छ पृथ्वीलोकतिर ?
चित्रगुप्तः (आफ्नो स्थानदेखि उठ्दै हात जोडेर बिन्ति बिसाउँदै) महाराज ! हाल पृथ्वीलोकमा कोरोना (कोभिड–१९) नामक एक भयानक सरुवा रोगले वितण्डा मच्चाईरहेको खबर प्राप्त भएको छ । यसको शुरुवात चिन भन्ने राज्यको वुहान भन्ने स्थानबाट भएतापनि अमेरिका, इटाली, ब्राजिल, रसिया, भारत लगायत अन्य विभिन्न शक्तिशाली राज्यहरुमा फैलिएर धेरै मानिसको ज्यान लिएको छ । तर पछिल्लो समयमा नेपाल भन्ने सानो राज्यमा भुसको आगो जसरी फैलिईरहेको र मृत्युदर पनि बढिरहेको खबर प्राप्त भएको छ महाराज (आफ्नो स्थानमा बस्छन्)
यमराजः (छक्क पर्दै) नेपाल भन्ने राज्यमा पनि भुसको आगो झैं सल्किएको ! प्राकृतिक सुन्दरताले भरिपुर्ण, जताततै नदीनाला, छहराहरु, ठूला–ठूला वनहरु अनि वनभरी जडिबुटीहरु, सेताम्मे हिमालहरु । यति सुन्दर राज्यमा कसरी फैलियो ? केही न केही गडबडी अवस्य छ । (चित्रगुप्ततिर हेर्दै) चित्रगुप्त ! म नेपाल राज्यको ठेली हेर्न चाहान्छु ।
(चित्रगुप्तले नेपाल राज्यको ठेली यमराजको अगाडी राखिदिन्छन् । यमराज ठेली हेरेर अझै छक्क पर्छन् ।)
यमराजः (चित्रगुप्ततिर नजर लगाउँदै) ठेली अंक ६०१ ?
चित्रगुप्तः (यमराजतिर झुक्दै) नेपाल सानो राज्य भएतापनि राज्य चलाउने चालकहरु चाहिँ ६०१ जना भएको हुनाले यो ठेलीको नाम नै ठेली अंक ६०१ राखिएको हो, महाराज !
यमराजः (थोरै–थोरै मुस्कुराउँदै ठेली खोल्छन् अनि हेर्न थाल्छन् र एकछिन हेरिसकेपछि) दैनिक २०० जनाभन्दा बढी वालक–युवा–वृद्ध सबैखाले मानिसहरु एउटै रोगका कारण मृत्यु । यमदुतहरु हो ! नेपाल राज्यमा गएर सत्य–तथ्य बुझी भोलिको हाम्रो यमलोक राज्य बैठकमा पेश गर्नु ।
(यति भनेर यमराज उठ्छन् र बैठकबाट निस्कन्छन् । सम्पुर्ण यमदुतहरु पनि एकैसाथ उठेर यमराजका अगाडी नमस्कार गरी झुक्छन् र त्यहाँबाट विदा हुन्छन् । चित्रगुप्त पनि ठेली अंक ६०१ लाई पहिलेकै स्थानमा राख्छन् र निस्कन्छन् ।)
(यमराजले भने अनुसार यमदुतहरु नेपाल राज्यको सबैतिर घुम्छन् । केन्द्रदेखि जिल्ला हुँदै स्थानीय गाउँसम्म, हिमाल–पहाड–तराई सबैतिर, घरैघरले भरीभराउ शहर, पातलो गाउँबस्ती सबैतिर घुमिसकेर जान्छन् यमलोकतिर । भोलीपल्ट पुनः यमलोक राज्यमा ठुलो बैठक शुरु हुन्छ ।)
चित्रगुप्तः (यमराजलाई ढोग गर्दै) हाम्रो यमलोक महाराज यमराजको जय होस् । हाम्रा यमदुतहरु नेपाल राज्य घुमेर आईसकेका छन् र आफुले देखेका कुराहरु पेश गर्नका लागि महाराज सँग अनुमती माग्दछु ।
(यमराजले हातको इशाराले अनुमती दिन्छन् ।)
यमदुत १ः (उठेर झुकेर हात जोड्दै) महाराज ! म नेपाल राज्यको ठेली अंक ६०१ भित्र छिरेको थिएँ । त्यहाँ त कुर्सीका लागि लडाईँ हुँदोरहेछ । हालको महामारीको बारेमा २÷४ जनाले कुरा निकालेपनि छलफल हुनै नपाउने रहेछ । सत्ता र कुर्सीको शक्ति प्रदर्शन हुँदोरहेछ । सत्य निष्ठावान् साथै कोरोनालाई कसरी नियन्त्रण तथा कम गर्न सकिन्छ भनेर छलफल चलाउन खोज्नेलाई कमै मात्र महत्व दिएको बुझियो । त्यसैकारण सो स्थानबाट मैले अलि बढी नै नामावली संकलन गरेको छु । (हात जोड्दै बस्छन् ।)
यमदुत २ः (हात जोड्दै उठ्छन्) महाराज ! म नेपाल राज्यको बजार क्षेत्रभित्र छिरेको थिएँ । लकडाउन भनिएता पनि सो को पालना नगरेको देखियो । नाक आफ्नो इज्जत हो भन्दै मुख मात्र छोप्नेगरी माक्स लगाएको, सामाजिक दुरी कायम राखेर अति आवस्यक खाद्य सामाग्रीहरु, सागसब्जी खरिद गर्नका लागि खोलिएको बजारमा मानिसहरुको ठेलमठेल, आफुलाई निडर र पहुँचवाला ठान्दै नखोल्नु भनिएका पसलहरु पनि संचालन गर्ने गरेको । त्यसकारण सो स्थानहरुबाट पनि मैले केही नामावली संकलन गरेको छु । (हात जोड्दै बस्छन्)
यमदुत ३ः (नमस्कार गर्दै) महाराज ! म स्वास्थ्य क्षेत्रभित्र छिरेको थिएँ । सरकारी अस्पताल र नीजि अस्पताल भनि स्पष्ट भिन्नता पाईयो । सरकारी अस्पतालमा बिरामीको खचाखच, सुविधाहरुको अभाव, अक्सिजनको हाहाकार तर केही नीजि अस्पताल भने यस्तो महामारीमा पनि पैसा बिना प्रवेश निषेध भनी रमिता हेरिरहेको र पैसावाला बिरामीको पर्खाइमा । अनेक प्रलोभनमा परी नक्कली पिसिआर रिपोर्ट बनाएको । सरकारी अस्पतालमा दरबन्दी रहेको कतिपय चिकित्सकहरु धेरै कमाई गर्ने हेतु नीजि अस्पतालमा समेत कार्यरत रहेको । गाउँ–गाउँमा क्वारेन्टाईन स्थलको अभाव, यदी क्वारेन्टाईन स्थल भएतापनि स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु तथा औषधीको अभाव । त्यसैकारण स्वास्थ्य जस्तो महत्वपुर्ण र आवस्यक क्षेत्रमा लोभलालचमा पर्ने प्रकारका केही नामावलीहरु संकलन गरेको छु । (बस्छन्)
यमदुत ४ः (उठेर हात जोड्दै) महाराज ! मैले नेपाल राज्यको सबै क्षेत्रमा भ्रमण गर्ने मौका पाएँ । छिमेकी देशसँग खुल्ला सिमाना भएको कारण लकडाउनको समयमा पनि जबरजस्ती अथवा झाडी–जंगल हुँदै नेपाल राज्यतिर प्रवेश गर्नेहरुको लर्को, अति आवस्यक कार्यका लागि उपलब्ध गराईने यातायात पास भन्दापनि सामान्य कार्यलाई पनि अति आवस्यक कार्य भन्दै पहुँचवालाले यातायात पास बनाएर दुरुपयोग गरेको । सत्ता, कुर्सी तथा शक्ति देखाउनका लागि व्यस्त रहेका अधिकांस नेताहरु आफ्नो जिल्लाको बारेमा अनविज्ञ । राहतका लागि प्राप्त स्वास्थ्य सामाग्रीहरुको मनोमानीरुपले वितरण । यसरी गलत कार्य गर्नेहरुबाट पनि मैले केही नामहरु संकलन गरेको छु । (बस्छन्)
यमदुत ५ः (उठेर नमस्कार गर्दै) महाराज ! मैले पनि सबै क्षेत्रहरु घुम्ने अवसर पाएँ । सबैभन्दा पहिले त यस्तो महामारीको बेला पनि आफ्नो ज्यान अनि आफ्नो परिवार भन्दापनि आफ्नो राज्य, जनताहरुको जिवन नै महत्वपुर्ण हो भनी अहोरात्र खटिईरहनु हुने चिकित्सकहरु, नर्सहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सही र सत्य खबर सम्प्रेषण गर्नुहुने पत्रकारहरु, मानव बचाउ अभियानमा आवद्ध सम्पुर्ण महानुभावहरुमा हार्दिक नमन गर्दछु । माक्स नहुनेहरुलाई माक्स लगाईदिएको देखियो, सेनिटाईजर वा साबुन पानीको प्रयोग सिकाएको देखियो, सकरात्मक सोच अनि आँट हिम्मत गर्दै स्वस्थ रहनका लागि ज्ञानका कुराहरु सुझाएको देखियो । (बस्छन्)
यमराजः (सबैतिर हेर्दै) यति छोटो समयमा तिमीहरुले नेपाल राज्यको भ्रमण गरी सही सत्य जानकारी पेश गरेकोमा हार्दिक धन्यवाद । हाम्रो यमलोकको चलन संस्कारलाई मध्यनजर गर्दै यति ठुलो महामारीमा पनि आफ्नो राज्यलाई धोका दिने धोकेबाजहरु तथा लकडाउनको नियम उलङ्घन गर्नेहरुको नाम संकलन गरी भोलीदेखि नै यमलोकको यात्रा गराईयोस् । पुनः यस्ता धोकेबाजहरुले गर्दा निर्दोष वालवालिकाहरु, युवाहरु तथा वृद्धहरुले अकालमै आफ्नो जिवन समापन गर्न नपरोस् ।
साथमा राज्य र जनताहरुको जिवन सुरक्षा दिने महान् व्यक्तिहरुलाई पुनः नमन । (हात जोड्दै बैठकबाट हिड्छन्)
(यमराज हिडेपछि सबैजना यमदुतहरु निस्कन्छन् र साथमा चित्रगुप्त पनि निस्कन्छन् ।)
(काल्पनिक कथा तथा घटनाक्रमहरु मिश्रित एकाङ्की नाटक हो । राजनीतिक, धार्मिक, सामाजिकरुपमा नलिइकन यसलाई एक सचेतनामूलक मनोरञ्जनका रुपमा लिईदिनुहुन अनुरोध गर्दछु ।)
– लेखक ज्ञानेन्द्र रसाइली इलामकाे एक मात्र नाट्यमञ्च चेतना नाट्य समूहका संस्थापक अध्यक्ष हुन्