नेपालकाे वैदेशिक व्यापार : ३२.१९ प्रतिशतले बढ्यो निर्यात

  आवाज संवाददाता

चालू आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।

    भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो दश महिना (साउदेखि वैशाखसम्म)काे वैदेशिक व्यापारकाे तथ्यांकअनुसार यस अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब छ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो । सरकारले गत आव २०६६/६७ मा एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालू आवको दश महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।

    यसैगरी दश महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा दश खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ ।

    विभागको तथ्यांकअनुसार दश महिनामा ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार बढेकाे छ । गत वर्षको सोही अवधिमा नेपालले नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार