कोरोना संक्रमण (कोभिड–१९)को नयाँ भेरियन्सबाट संक्रमित बन्ने र मृत्यु हुने दर उच्च छ । इलाममा पनि स्थिति योभन्दा फरक छैन । डेढ महिनामा छ सयभन्दा बढी संक्रमित बनिसकेका छन् भने झण्डै सयको हाराहारीमा मृत्यु भइसकेको छ ।
जिल्ला समन्वय समिति प्रमुख इलामका गणेश वरालले पनि कोरोना संक्रमण झेल्नु पर्यो । मधुमेह र उच्च रक्तचापको समस्या भएका बराल संक्रमित बनेको समयमा इलाममा कोरोना महामारी उच्च दरमा थियो । कोरोनाले तहल्का मच्चाएर सरोकारवाला निकाय समेत डराएको अवस्थामा पनि बरालले कोरोना पराजित गरिसकेका छन् ।
संक्रमणमुक्त भएपनि बराल होमआइसोलेसनमै बसिरहेका छन् । यसै सन्दर्भमा बरालसँग इलाम आवाजले गरेको कुराकानी अबको सन्दर्भमा ।
कोरोना संक्रमणले तपाईंलाई पनि अछुतो छाडेन, के कारणले कहाँ जाँदा कोरोना लाग्यो होला ?
म खासै बाहिर नहिँड्ने मान्छे । बैशाख २५ गते सिडियो कार्यालयमा मिटिङ थियो । त्यहाँबाट आएपछि सामान्य खोकी लाग्यो । खोकी लागेपछि सामान्य सतर्कता अपनाए । मिटिङमा जाने वित्तिकै त नलाग्नु पर्ने । तर, त्यसको दुई दिनअघि इलाम अस्पतालमा भ्याक्सिन (दोस्रो डोज) लगाउन गएको थिए । केही मान्छे त्यहाँ हुनुहुन्थ्यो , त्यहीबाट लाग्यो कि भन्ने आशंका छ । तर, ठ्याक्कै यही जाँदा लाग्यो भन्ने एकीन छैन ।
तपाईं आफै सुगर र प्रेसरको विरामी । त्यसमाथि कोरोना पनि थपिँदा त झन् आफूलाई कमजोर भएको महसुस भएन ?
अँ, म आफै विरामी थिए । कोरोनाबाट सजगता अपनाएरै मैले आफूलाई सचेत गराएको थिए । तर पनि काम परेपछि नहिँडी भएन । तर, कोरोनासँग डर चाहिँ लागेन । यस्तै हो परास्त गरिन्छ भन्ने लाग्यो । मनोवल उच्च राख्ने काम मात्र गरे ।
तपाईं यस्तो समयमा संक्रमित बन्नुभयो कि, जिल्लामा कोरोनाकै कारण युवाहरुको पनि मृत्यु भएको थियो । त्यसमा पनि आफू रोगी भएपछि त सोच्न गाह्रो भयो होला नि ?
हो, त्यति बेला जिल्लामा युवाहरुको मृत्युले समस्या उत्पन्न गराएको थियो । त्यसमा पनि स्वास्थ्य क्षेत्रले पनि संक्रमणको बारेमा खतरा भनिसकेको थियो । तर, मलाई कोरोनाको खासै डर लाग्दा लक्षण देखिएन । सामान्य निद्रा नलाग्ने, टाउको दुख्ने लक्षण मात्र थियो । खासै डराउनु पर्नेस्थिति थिएन ।
अनि, परिवारमा तपाईं मात्रै संक्रमित हुनुभयो कि अरु पनि ?
सुरुमा म र श्रीमती दुवैजनाले कोरोनाको शंका लागेपछि पीसीआर परीक्षण गरायौं । २५ गते परीक्षण गरायौ, रिर्पोट आउन ढिलो भयो । अनि दुवै जनाले २९ गते (बैशाख) एन्टिजेन परीक्षण गरायौ । एन्टिजेन गराउँदा श्रीमतीको नेगेटिभ आयो, मेरो पोजेटिभ आयो । तर, पीसीआरको रिर्पोट (बैशाख ३०) गते आउँदा चाहिँ दुवैको पोजिटिभ आयो । त्यसैले हामी दुवै जना संक्रमित हुन पुग्यौ ।
ए, एन्टिजेनमा नेगेटिभ आउँदा पनि पीसीआरमा पोजिटिभ आउँदो रहेछ है ?
त्यस्तै, भयो । मेरो त एन्टिजेन पनि पोजिटिभ नै आयो तर श्रीमतीको पोजिटिभ आयो । त्यसैले खासै भरपर्दो नहुदो रहेछ भन्ने लाग्यो । पछि पनि स्वास्थ्यमा समस्या देखिएपछि मैले एन्टिजेन परीक्षण गराए । मेरो पनि नेगेटिभ आएको थियो तर झापामा( बी एण्ड सी)मा गर्दा चाहिँ पीसीआर पुन ः पोजिटिभ नै आयो । यो सुन्दा चाहिँ अचम्म लाग्यो ।
स्वास्थ्य अवस्था जटिल बनेर अस्पताल पनि भर्ना हुनुपर्यो ?
कोरोनाको त खासै समस्या होइन । जितिन्छ भन्ने लागेको थियो । तर, सुगरको समस्या देखियो । मुख्य कुरा चाहिँ कोरोनामा पनि मेरो अक्सिजन लेभल घटेन । अनि मलाई कोरोना जित्न सहन भयो । तर, सुगरका कारण शरीरमा सोडियम लेभन घटेछ । त्यसले चाहिँ च्याप्छ कि भन्ने लागेर अस्पताल भर्ना भएको हो । तर, विस्तारै त्यो पनि सुधार भयो ।
तपाईंको अनुभवमा कोरोना जित्न के गर्नुपर्ने रहेछ ?
कोरोना जित्न पहिलो कुरा त उच्च मनोबल चाहिन्छ । मनोबल गिराइयो भने समस्या हुन सक्छ ।अनि झोलिलो र रसिलो खानेकुरा सेवन गर्नुपर्यो । अनि संक्रमणको उतराद्र्धमा चाहिँ तागत बढाउन खसी वा खुकुराको झोल(मांस भएमा) बनाएर खाँदा साह्रै सहज हुन्छ । प्रशस्त पानी खानु पर्यो । चेवनप्रास लगायतका खानेकुरा पनि सेवन गर्नुपर्छ । तातोपानीको बाफ लिनु उचित हुन्छ ।
अहिले तपाईंले कोरोना पराजित गरेको कति समय भयो ?
यस्तो भयो, पहिलो दुईचोटी चेकअप गराउँदा रिर्पोट पोजिटिभ आयो । संक्रमण भएको १६ पछि चाहिँ चेकअप गराउने सोचमा थिए । अस्पतालले नै पर्दैन भन्यो । मलाई पनि आफू संक्रमणमुक्त भएको फिल हुन थाल्यो भने अस्पताले पनि अरुलाई सर्दैन सचेत भएर बस्दा हुन्छ भनेपछि परीक्षण गराइन ।
अन्त्यमा, के भन्न चाहनु हुन्छ ?
संक्रमित सबैलाई स्वास्थ्यलाभको कामना गर्छु । धेरै कुरा त आइनै सक्यो । कोरोनामुक्त हुन उच्च मनोबल चाहिन्छ । हल्ला र अफबाहका पछि लाग्यो भने जे पनि हुन सक्छ । सचेत भएर नियमित रुपमा चिकित्सकको सल्लाहमा बसेमा कोरोना जित्न गाह्रो पनि छैन ।