इलाम।‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै थियो ।
शिक्षित भनिने नै विभेदमा लाग्थे भने नपढेका र कथित तल्लो जातका व्यक्ति सिकार बन्थे । एक दिनको कुरा हो, इलाम नगरपालिकाका दलित समुदायका राम दियालीसहित पाँच बालक सहपाठीसहित अध्ययनका लागि इलामको आदर्श माध्यमिक विद्यालय पुगे ।
सदरमुकामको एक मात्र विद्यालयमा पढ्न पाउने धोको पूरा गर्न विद्यालय प्रवेश गरेका विद्यार्थीले कक्षामा पस्न भने पाएनन् । आफ्ना सहपाठी कक्षामा पढिरहेका थिए तर ती बालकलाई न कक्षामा बोलाइयो, न पढाउनलाई कुनै शिक्षक उनको नजिक आए ।
कक्षाकोठामा प्रवेश नपाएकामा कौतुहलता जागिरहेको थियो तर कारण पत्ता लागेन । एक दिन होइन, दुई दिन होइन, हरेक दिन त्यो व्यवहार दोहोरिरह्यो । “हामीलाई बाहिर किन राखियो थाहा भएन । धेरैदिन बाहिर राखेपछि घर गएर भन्यौँ”, दियालीले संझे, “हिउँदको समयमा बाहिर बस्दाको पीडा कम भए पनि बर्खामा भने कष्टकर बन्दै गयो । खरले छाएको विद्यालय चुहिएर बाहिर बसेका विद्यार्थीलाई भिजाउन थाल्यो तर कक्षाकोठामा प्रवेश पाइएन ।”
परिवारलाई सुनाएपछि भने विद्यालय जानै बन्द भयो । विसं १९९५ मा इलाममै जन्मिएका दियालीको पारिवारिक आर्थिक स्थिति कमजोर थियो । पुख्र्यौली पेशाबाट आएको आनासुकीले परिवार पाल्न धौधौ हुन्थ्यो । परिवारमा विद्यालय शिक्षा अनिवार्य हो भन्ने छाप राम्रै परेको थियो । यसैको प्रभावले दियालीलाई विद्यालय पठाउने काम भयो । विद्यालयमा त्यो हदसम्मको हर्कत बेहोरे पनि दियालीलाई पढाउनका लागि अनेक विकल्प सोचियो । उनका बुबाले इलाम सदरमुकामकै एक घरमा पढ्ने वातावरण मिलाए । करिब छ महिना पढेपछि देशकै राजनीतिक व्यवस्था उल्टियो ।
दियालीको वाद्यवादनतर्फको यात्रा
बाल मनोविज्ञानले आफूमाथि भएको विभेद नबुझे पनि उमेर बढ्दै जाँदा बुझ्न सक्ने बनायो । यसकै असरले दियालीलाई जीवनमा केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । उतिबेला फाट्टफुट्ट मात्र सङ्गीतकार र गायक हुने भएकाले दियालीलाई त्यतै तानिन मन लाग्यो ।
एकदिनको कुरा हो, दियालीले कसैले बाँसुरी बजाइरहेको देखे । एउटा बाँसको ठुटोबाट सुमधुर धुन निस्किरहेको देखेपछि दियाली त्यतैतिर तानिए । नजिक पुगेर हेर्दा एउटा बाँसमा केही दुला पारिएको देखे । “बाँसबाट आएको आवाजले मलाई अचम्म लागिरहेको थियो । सामान्य चिज बाँसबाट पनि यस्तो आवाज आएको देख्दा जान्न मन लाग्यो”, दियालीले भने, “त्यही देखेर घर गएर बाँसुरी बनाउन थालेँ । बाँसुरी बन्यो तर बजेन । अघि सुमधुर बजेको बाँसुरी र अहिले बजाएको बाँसुरी तुलनै नगर्ने किसिमको भयो । मलाई हुनसम्म तनाव भयो ।”
अब दियालीलाई खपिसक्नु भएन । जसरी पनि बाँसुरी बजाउनु थियो तर कसरी बजाउने पत्तो थिएन । पहिले बाँसुरी बजेकै ठाउँमा दिनानुदिन धाउन थाले। ती व्यक्ति भेटिए पनि तर बाँसुरी बजाएको अवस्थामा भेटिएनन् । ती व्यक्ति थिए, तत्कालीन जिल्ला प्रशासन कार्यालयका बडाहाकिमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी ।
एक दिन नारायणस्थानबाट बजार जाने क्रममा दियालीसँग ती व्यक्तिको जम्काभेट भयो । दियालीसँग भेटमात्र भएन बोलचाल पनि भयो । यसै मेसोमा दियालीले बाँसुरी सिकाइ मागे । त्यस दिनको त्यो क्षणबाट दियाली बाँसुरी बजाउन थाले । जति बाँसुरी बज्दै गयो दियालीलाई बाँसुरीप्रतिको आशक्ति बढ्दै गयो । केही समयपछि दिदीभिनाजुसँग दियालीलाई भारतको दार्जिलिङ जाने अवसर मिल्यो ।
सङ्गीतको उर्वरभूमि दार्जिलिङमा केही समय बस्दैमा धेरै कुरा ख्याल हुँदै गयो । दियालीको लगाव देखेर चार आना भारुमा भिनाजुले बाँसुरी उपहार दिएर बिदा गरे । दियालीको मन बाँसुरीमा मात्र होइन, हारमोनियमतिर पनि तानिन थाल्यो । सदरमुकाममै बसेर हारमोनियम बजाउने श्यामकृष्ण श्रेष्ठकोे ज्ञान र सीपले दियालीलाई हारमोनियम बजाउन आतुर पारेको थियो । समयान्तरमा श्रेष्ठकै सङ्गतमा दियालीले हारमोनियम पनि धेरथोर सिके तर भइ दियो के भने बाँसुरी बजाउन भने छाड्नु पर्ने भयो ।
“बाँसुरी बजाउँदा दाँत झर्ने, छाती दुख्ने समस्या हुने भनेर मलाई एक जना विद्वानले भने । साह्रै डर लाग्यो । अनि बजाउनै छाडिदिएँ”, दियालीले भने, “बाँसुरी छाडेँ तर हारमोनियम बजाउन थालेँ । सिक्ने ठाउँ पनि गज्जबकै थियो । अहिलेको इलाम बजारको एक घरमा पुरानो किसिमको हारमोनियम थियो । त्यही बजाउथ्यौँ ।”
वाद्यवादनमा जित, गायकीमा हार
बाँसुरीबाट साङ्गीतिक खुड्किला उक्लिएका दियालीले अनेक वाद्यवादन समाउन पाए । उनी मिठासयुक्त धुन निकाल्न सक्ने भए तर गायकी भने सुध्रिएन ।
वाद्यवादकसँगै असल गायक बन्ने दियालीको धोको कहिल्यै पूरा भएन । “बाह्र पन्ध्र वर्षकै उमेरमा सिकेको भए हुने थियो । ठूलो उमेरमा सिक्दा गाउन सकिनँ । मैले एक किसिमले गायकीमा हारेँ”, उनले सुनाए । स्वर बनाउनका लागि दियालीले अनेक प्रयत्न गरे । गायक अमर गुरुङ, जितेन्द्र बर्देवालगायतलाई गुनासो पोखे स्वर बनाउने उपाय साेधे तर भएन । अहिले पनि दियाली प्रयत्नरत छन् तर संगीत जस्ताे सुमधुर स्वर निस्कन मानेकै छैन अझैं ।
वाद्यवादन क्षेत्रमा दियालीको नाम इलाममा अग्रपङ्क्तिमा आउँछ । उनकै कारण भाइ र छोरासमेत अहिले सङ्गीत क्षेत्रमा छन् । “बुबाकै कारणले अहिले सङ्गीतमा छु । बुबाको पूरा नभएको धोको पनि पूरा गर्ने योजनामा लागेको छु”, जेठा छोरा सुमनले भने, “म मात्र होइन भाइसहित हाम्रो परिवार पनि यसैमा छ । पहिले जस्तो असहज छैन । केही गर्न सकिन्छ कि ?”
इलाम प्रगतिशील साहित्य समाज काठमाडौँले २०६३ सालमा गरेको सम्मान चाहिँ उहाँको सबैभन्दा प्यारो छ । यो सम्मान दियालीका लागि सम्मान मात्र होइन, पारिश्रमिक समेत हो । उनको पहिलो पारिश्रमिक नै सम्मानबाट आएको एक हजार हो । उनी त्यसपछि भने अन्य संस्थाबाट पनि सम्मानित भए । उनी सनलाइट सङ्गीत विद्यालय तथा रेकर्डिङ स्टुडियो बिर्तामोड, फूलपाती कार्यक्रम आयोजक समिति बरबोटे, माउन्ट मेरिया वेन्ड देउरालीलगायतबाट समेत सम्मानित भइसकेका छन् ।
यस्तै २०५५ सालमा नारायण गोपाल स्मृति पुरस्कार, इलाम नगर अभिनन्दित भए । यसैबीचमा दियालीले ‘व्यथा र अनुभूतिहरू’ नामक पुस्तक निकालेका छन् । यस गीतिकविता सँगालोमा दियालीको भोगाइ र गीत छन् । यस्तै दियाली गत वर्ष इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानबाट समेत पुरस्कृत भएका छन् ।