काेराेना भाइरसकाे संक्रमणले सिकाएको व्यवसाय

  आवाज संवाददाता

फोटो: इलामको सूर्योदय नगरपालिका–५ समालबुङका किसान कृष्ण आचार्यले पालेको बाख्रा फाम । आचार्यले आफ्नो फाममा २५ वटा खशी पालेका छन् ।

इलाम। कोभिड–१९ शुरु भएपछि आर्थिक संटक झेल्न थालेका इलामका युवाहरु पछिल्लो समय आफैं व्यवसाय गरेर स्वरोजगार बन्न थालेका छन् । पैसा कमाउने र घरपरिवारको आर्थिक पाटो मजबुद बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा पुगेका युवाहरु कोभिड–१९ को महामारीले घर फर्किएर गाउँमै स्वरोजगारको उदारण बन्न थालेका छन् ।

इलामको रोङ गाउँपालिकाका राजकुमार राई अहिले कुखुरा पालनमा लागेका छन् । हरेक ४५ दिनमा खर्च कटाएर ३२ हजार रुपियाँ राईको आम्दानी हुन्छ । माइ नगरपालिका– १० की निसा लिम्बुले पनि तालिम लिएर सिलाई कटाइ व्यवसाय शुरु गरेकी हुन् । ‘रोजगारीका लागि धेरै दिदीबहिनी विदेश जान्छन्, म चाँहि विदेश नजान सल्लाह दिन्छु, थोरै लगानीमा हामीले घरमै बसेर पनि राम्रो आम्दानी गर्न सक्दा रहेछौं ।’ लिम्बुले भनिन् ‘कोभिड शुरु भएपछि मैले तालिम लिएर सिलाइ कटाइलाई व्यवसायकै रुपमा लिएर काम गरें । पैसा कमाउन कुनै समस्या छैन रहेछ । अब अरुलाई पनि तालिम दिनुपर्छ र रोजगारीको अवसर दिन सकिन्छ भन्ने ठाउँमा आइपुगेकी छु ।’

माइ नगरपालिका– १ का गोविन्द तामाङले पनि युवाहरुका माझ अर्को उदारण भएका छन् । वैदेशिक रोजगारीका लागि चारवर्ष दुवही र एक वर्ष इजरायल बसेका तामाङले विदेशको अनुभव र अवलोकनले घर फर्किएपछि रोजगारीको सृजना गरेको छ । तामाङले कुखुरा पालन व्यवसाय गरिरहेका छन् । माइ नगरपालिकाकै धनपति दुलाल, दिनेश निरौला, इन्द्र राउत, पदमबहादुर गुरुङले गाउँमै गरेको व्यवसाय हेर्न लायक छ । बाख्रा पालन, होलो ब्लक, च्याउ खेती, सुपारी खेतीका लागि बेर्ना उत्पादनआदि काममा यहाँका युवाले देखाएको जाँगरले जोकोहीलाई पनि काम गर्न प्रेरित गर्ने गरेको छ ।

यसरी युवाहरुलाई व्यवसायिक बनाउन सहयोग भने मानव अधिकार मञ्च इलामले गरिरहेको छ । ‘सामाजिक रुपान्तरणका लागि युवा, जीविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्व उद्यमशिलाता सम्बन्धी युवा सशक्तिकरण समुहहरुको क्षमता विकास र परिचालन माफर्पत मानव वेचविखन विरुद्ध अभियान’ परियोजना मार्फत मञ्चले जिल्लाका चारवटा पालिकाहरुका युवालाई उद्यमशिलता तालिम समेत सञ्चालन गरिरहेको छ । माइ नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र माइजोगमाई गाउँपालिकामा सञ्चालित परियोजना मार्फत युवाहरुलाई उद्यमशिलता तालिम दिने र व्यवसायिक बन्न चाहाने युवालाई आर्थिक सहयोग समेत गर्ने गरेको मञ्चले जनाएको छ । मञ्चले सन् २०१९, २०२० र २०२१ मा त्यहाँका ५४३ युवालाई उद्यमशिलता र व्यवसायको सीप सम्बन्धी तालिम प्रदान गरेको छ ।

माइ नगरपालिका– १ का गोविन्द तामाङले पनि युवाहरुका माझ अर्को उदारण भएका छन् । वैदेशिक रोजगारीका लागि चारवर्ष दुवही र एक वर्ष इजरायल बसेका तामाङले विदेशको अनुभव र अवलोकनले घर फर्किएपछि रोजगारीको सृजना गरेको छ । तामाङले कुखुरा पालन व्यवसाय गरिरहेका छन् ।

यो तालिम लिएपछि धेरै युवाहरु घरमै व्यवसाय गरेर स्वरोजगार बन्न थालेको मञ्चका अध्यक्ष मोहनसिंह थेबे बताउँछन् । ‘तीन वर्ष अघिको रोजगारीको अवस्था र अहिलेको अवस्था धेरै फरक भएको छ । अझ कोभिड शुरु भएपछि धेरै युवाहरुले व्यवसाय सम्बन्धी सीप सिक्ने र आफू व्यवसायिक बन्ने काम गरेको पाइयो ।’ थेवेले भने ‘कतिपयले त आफ्नो व्यवसायमा पाँच–सात जनालाई रोजगारी पनि दिएका छन् ।’

इलाम नगरपालिका वडा नं. ५ का चार जना युवाहरुकाे पशु तथा कृषि फार्ममा च्याउ खेती गर्दै युवाहरु ।

कोभिडलाई महामारीमात्र नभएर अवसरका रुपमा लिनुपर्ने ती व्यवसायिक युवा बताउँछन् । ‘कोभिडका कारण रोजगारीमा जाने ठाउँ नहुँदा त्यसको विकल्पमा आफैं व्यवसाय सञ्चालन गर्न थालियो, यो वेरोजगारका लागि मात्र होइन दुर्गम गाउँका लागि समेत विकासको अवसर हो ।’माइ नगरपालिका – १ का गोविन्द तामाङ भन्छन् ।

यता प्रदेश – १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामबहादुर रानाले पछिल्लो समय कृषि व्यवसायमा युवाहरुले देखाएको उत्साहका कारण अब प्रदेश – १ चिया, दुध पछि मासु र अण्डामा आत्म निर्भर बन्ने अवस्थामा पुगेको बताए । ‘अब हामीले बाख्राको बजार खोज्नुपर्ने अवस्था छ, यो प्रदेश – १ लागि उत्साहजनक काम हो ।’ मन्त्री रानाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार