मेराे इलाम अस्पताल किन आफैं विरामी भइरहन्छ ?

काेराेनाकाे दोस्रो लहर आएकाे छ । संक्रमण बढेसँगै संक्रमितकाे संख्‍या र मृत्यू हुनेकाे संख्या पनि धेरै छ, अघिल्लाे वर्षभन्दा । सामान्य उपचारकाे अभावमा मानिसकाे मृत्यू भएकाे समाचारले मन चसक्क हुन्छ । अस्पतालमा अक्सिजन नपाएर तड्पिएका  विरामी र उनीहरुकाे आफन्तकाे वेदनाले सबैकाे आँखा रसाउँछ । यस्ताे महामारीकाे बेला जिल्लाकाे एक मात्र र पूरानाे  अस्पताल आफैं विरामी छ । स्यहार चाकरनै नपुगे जस्ताे आफै विरामी छ अस्पताल ।

याे संकटकाे बेलामा इलाम अस्पतालनै इलामेहरुकाे आशाकाे केन्द्र हाे । कतिपय विरामीले उपचार गर्न झापा लैजादै गर्दा बाटाेमै ज्यान गुमाएका छन् । आर्थिक अवस्था कमजाेर भएकाहरुले झापासम्म पुगेर माेटाे रकम खर्चिएर उपचार गर्ने कल्पना पनि गर्न सक्दैनन् । यसैले इलाम अस्पतालले नै इलामेकाे प्राण बचाई दिओस् भन्ने म जस्तै सबैकाे चाहना हुनु अस्वभाविक हाेइन । इलाम अस्पताल आफै विरामी भएर उपचार गर्न सक्दैन रे ! भनेकाे सुन्दा मात्र उपचारका लागि अन्यत्र जान नसक्ने गरीब मनका नाैनारी गलेर आउँछ । प्रधानमन्त्रीदेखि सभामुखसम्म जन्माइसकेकाे मेराे इलामले किन इलाम अस्पताललाई भराेसायाेग्य बनाउन नसकेकाे हाेला मेराे कलिलाे मस्तिष्कमा दाेहाेरिएर प्रश्नहरु ठाेक्किरहन्छन् । अस्पतालकाे सुधारका लागि पटक्कै नलागेकै त हाेइन हाेला !  तर किन भराेसायाेग्य बन्न बनाउन नसकिएकाे हाेला ? कि हाम्रा नेताहरुले देश बनाउँदा बनाउँदै मतदाताकाे स्वास अड्याउने अस्पताल बनाउन नभ्याएका हुन् कि ?  के भएर मेराे अस्पताल तन्दरुस्त छैन ।

सिङ्गाे शरिर स्वस्थ हुनका लागि शरिरका सबै अंगहरु हुनु र स्वस्थ हुनु जरुरी छ । त्यसरीनै अरुलाई स्वस्थ बनाउने अस्पतालका सबै अवयवहरु दुरुस्त हुनु पर्दछ । तर मेराे इलाम अस्पतालमा जे जे हुनुपर्ने हाे, ति सबै चिज छैनन् । त्यसैले त अस्पताल आफैं विसन्चाे छ ।
इलामकै पूरानो अस्पताल १६ चिकित्सकको दरबन्दि रहे पनि स्थायी डाक्टर दुई जना मात्र छन् । ५९ स्वास्थ कर्मिको दरबन्दि रहेको अस्पतालमा २७  दरबन्दिमा मात्र पदपुर्ति भएका छन् । ति मध्ये २ मेडिकल अधिकृत ३ कन्सल्ट्यान्ट र ४ डेन्टल सर्जन अस्पतालमा कार्यरत रहेका छन् ।

जिल्ला अस्पताललाई २५ बाट ५० शय्यामा स्तर वृद्धि गरी भौतिक पूर्वाधार पुर्याइए पनि बिगत लामो समययता उपकरण र जनशक्तिको अभाव छ । महामारीको रूपमा कोरोना फैलिए पछि अस्पतालमा भेन्टिलेटर त जडान गरिएको छ तर जनशक्ति अभावका कारण यो पनि राम्ररी चल्न सकेको छैन । जनशक्तिकाे अभावमा अस्पतालले अपेक्षा गरिए अनुसार सेवा दिन नसक्दा अर्काे जिल्ला जान बाध्य हुनु परेकाे छ । पछिल्लाे समयमा स्थानीय र कर्मचारीले अस्पतालकाे सुधार गर्ने प्रयास गरिरहेकाे पनि बुझिन्छ । तर विशेषज्ञ डाक्टर इलाममा आउँदैनन् र आइहाले पनि अडिन सक्दैनन् । जिल्लामा बिरामीहरूको सङ्ख्या कम भएर पो हो कि ? अथवा नजिकको तीर्थ हेला भनेझै इलाम अस्पतालमा नगएर पाे हाे कि ? यहिबाट चुनाव जितेर सरकारको माथिल्लो निकायसम्म पुग्नुभएका नेताहरूकाे बेवास्ता बेवास्ताले पो हो कि ?  निजी अस्पतालहरु नभएकाले अतिरिक्त आम्दानी नहुँने भएर हाे या किन किन इलाम डाक्टरहरुकाे राेजाई बन्न सकेन ?  महामारीले सिर्जना गरेकाे याे बिजाेक अवस्थामा म जस्तै हजाराैं इलामेहरुकाे मनमा सायद यस्तै अनुत्तरित प्रश्न खेलिरहँदाे हाेला !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार