प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमाथि आज सुनुवाई

काठमाडौं। सर्वोच्च अदालतमा आज प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि सुनुवाई हुने भएको छ ।

प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा सुनुवाइ हुन लागेको हो ।

सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयन रोक्नुपर्ने माग गरिएको छ ।

संसद विघटनविरुद्ध अन्तरिम आदेश जारी नभएमा सरकारले शनिबार अध्यादेशमार्फत नै बजेट ल्याउनेछ ।

बजेट घोषणा हुने दुई दिनअघि मात्रै सर्वोच्चमा सुनुवाइ हुन लागेकाले पनि अन्तरिम आदेश आउने या नआउने विषयलाई निकै महत्त्वका साथ हेरिएको छ ।

संवैधानिक इजलासमा जाने ११ वटा रिटको भने शुक्रबारदेखि सुनुवाइ हुनेछ । ३० वटा रिटमध्ये २६ वटा प्रतिनिधि सभा विघटनको विपक्षमा अर्थात प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ ।

चार वटा भने प्रधानमन्त्रीको कदम ठीक भएको र चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।

कांग्रेस माओवादी लगायतका विपक्षी दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेर पनि रिट दर्ता गराएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

पुस ५ गते पनि प्रतिनिधि सभा विघटन भएको थियो तर सर्वोच्च अदालतले राष्ट्रपतिको घोषणा उल्ट्याएर प्रतिनिधि सभा ब्युँताइदिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार