इलाम अस्पतालमा एचडियुबाट संक्रमितको सफल उपचार


इलाम । इलाम अस्पतालकै एचडियू (हाइ डेपेन्डेन्सी युनिट)बाट उपचार सफल भएको छ । अब इलाम अस्पतालमै उपचार सम्भव भएपछि जिल्लाबासीलाई राहत भएको छ । केही दिनअघि मात्रै कोरोना संक्रमितका लागि अस्पतालमा एचडियु सेवा सुरु गरिएको थियो । सेवा सुरु गरेसँगै इलामको फाकफोकथुम गाउँपालिका एक व्यक्तिलाई यो एचडियुमा राखेर उपचार गरियो । “पहिले त नर्मल बेडबाटै उपचार गरियो । तरपछि स्वास्थ्य अवस्था अलि जटिल भएपछि एचडियुमा राख्यौं ।” अस्पतालका चिकित्सक विश्रुत सापकोटाले भने ।

यस्तो थियो संक्रमितको स्थिति

सामान्य विरामी भएर जेठ १ गते फाकफोकथुम गाउँपालिकाका लक्ष्मण राई इलाम अस्पताल भर्ना भए । शुरुमा उनलाई रुघा, खोकी र ज्वरो लागेको थियो । राईको विराम अस्पतालमा झन् वढ्यो ।

चिकित्सकले उनको एक्स्रे गरे । एक्स्रेमा निमोनिया देखियो । पाँचौ दिनमा निमोनिया झनै बढ्यो । कोरोनाको शंका लागेर एन्टिजेन परीक्षण गरियो । रिर्पोट पोजेटिभ आयो । विरामीको स्थिति पनि झन् झन् साह्रो भयो । चिकित्सकले अस्पतालकै एचडियुबाट उपचार थाले ।
“सास फेर्न पनि समस्या थियो । बोल्न सक्ने कुरै भएन ।” लक्ष्मणका भतिजा आदित्यले भने,“म त आत्तिएको थिए । तर विस्तारै ठीक हुँदै गयो ।” अहिले लक्ष्मणको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ । कोरोनाको रिर्पोट आएको छैन तर डिस्चार्ज हुने तयारीमा छन् । “हामीले एचडियुमा राख्दा एन्टिभाइटिक प्रयोग गर्यौं ।” उपचारमा खटिएका चिकित्सक विश्रुत सापकोटा भन्छन्,“त्यही भएरपनि विराम नियन्त्रणमा आयो ।”

संक्रमित सुत्केरीको पनि एचडियुमा राखेर उपचार

अस्पतालमा कोरोना संक्रमित सुत्केरीको पनि एचडियुबाटै उपचार भइरहेको छ । प्रसूतिकै समयमा महिलामा कोरोना देखिएको थियो । नर्मल वार्डमा राखेर उपचार राख्दा बच्चामा कोरोना सर्ने सम्भावना रहेकाले एचडियुमा राखिएको हो ।

हिजो मात्रै अस्पतालमा ती महिलाले बच्चा जन्माएकी हुन् । अस्पतालमा स्रोतसाधन बढेसँगै सेवा विस्तार गरिएको हो । अस्पतालमा दुई शैय्याको एचडियु सेवा छ भने आठ शैय्याको नर्मल आइसोलेसन छ । नर्मल आइसोलेसनमा १४ संक्रमति उपचाररत छन् ।

जिल्लामै उपचार गर्न स्थानीयको सहयोग
अस्पताल प्रशासन र स्वास्थ्यकर्मीले इलाम अस्पतालको सेवालाई चुस्त राख्न प्रयास गरेसँगै कोरोना संक्रमितको उपचारका लागि सहयोग पनि जुट्न थालेको छ । आर्थिक सहयोगका साथै सामग्री समेत स्थानीय तथा जिल्ला र देश बाहिरबाट समेत उपलब्ध गराउन थालेपछि अस्पताल थप व्यवस्थित बन्दै छ ।

अस्पतालका लागि करुणा फाउन्डेसनले इलाम अस्पताललाई ५ सय किट एन्टिजेन र ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
स्थानीय तहहरूलाई पनि ५ सय किट एन्टिजिन प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

अस्पतालका अर्थ मन्त्रालयबाट अक्सिजन प्लान्ट जडान गर्न ७५ लाख रुपैयाँ छुट्टिएको छ । व्यक्तिगत सहयोगले समेत अस्पतालमा आउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार