काेराेनाकाे असर: गाउँको तरकारी बिकेन, किसानलाई समस्यामा

फोटो: इलामको सूर्योदय नगरपालिका– १२ स्थित यो वर्ष आठघरेमा उत्पादन भएको तरकारी ।

इलाम।यतिबेला इलामका गाउँ–गाउँमा हरियो तरकारी उत्पादन हुने मुख्य सिजन शुरु भएको छ । गोलभेडा, काँक्रा, इस्कुस, अकबरे, इस्कुसको टुप्पा, बीइं, मूलालगायतका तरकारीको बजार पठाउने समयमा बजारनै बन्द भएपछि किसान भने समस्यामा पर्न थालेका छन् ।

जिल्लाका रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाइ नगरपालिका तरकारी उत्पादनको मुख्य क्षेत्र हो । ‘यो वर्ष आठ रोपनीमा काँक्रा खेती गरेको थिएं, एक सातमा बाह् सय वटा जति काँक्रा टिप्ने बेला हुन्छ, बजार छैन कहाँ लानु’ सूर्योदय नगरपालिका– १२ का किसान पंकज ढकालले भने ‘गतवर्ष एक सय रुपियाँ प्रतिगोटाका दरले बिक्री गरेको काँक्रा यो वर्ष २०ब रुपियाँमा पनि बिक्न नसक्ने अवस्था भयो ।’ ढकालले अढाइ रोपनी जमिनमा गोलभेडा, चार रोपनीमा अकबरे खोर्सानी लगाएका छन् । गोलभेडा र काँक्रामै बढी नोक्सान हुन थालेको ढकालको भनाइ छ । एक लाख रुपियाँ भन्दा बढी खर्च गरेर लगाएको तरकारीमा यो वर्ष लगानीनै नउठ्ने अवस्था हुन थालेपछि समस्या भएको उनले बताए ।

सूर्योदयकै मित्र राईले पनि पाँच रोपनी जमिनमा गोलभेडा लगाएका छन् । टिप्ने सिजन शुरु भएको गोलभेडा घरमा छरछिमेकी बाहेक अन्यतिर पठाउनै नसकिएको राई बताउँछन् । ‘गतवर्ष यो सिजनमा ७० रुपियाँ प्रतिकिलोका दरले बिक्री गरेको गोलभेडा यो वर्ष २० रुपियाँ प्रतिकिलो बिक्री त्यो पनि फाटफुटमात्र हुँदैछ ।’ राईले भने ‘बजार बन्द हुँदा र सहज ढुवानी गर्न नपाउँदा प्रत्यक्ष असर हामी जस्ता साना किसानलाई परेको छ ।’

गतवर्ष १६ रुपियाँ बराबरको अकबरे बिक्री गरेका सूर्योदय–१२ का अर्का किसान मदन राईको पनि अहिले तयार भएको अकबरे बिक्री गर्ने विकल्प केही छैन । ‘टनेलमा गतवर्षनै रोपेको अकबरे अहिले टिप्ने बेला भएको छ । तर बजार कहाँ पठाउनु र ?’ राईले भने ‘गतवर्ष भने एक हजार रुपियाँ प्रतिकिलो सम्म बिक्री भएको अकबरे यो वर्ष प्रीतकिलो चार सय रुपियाँ छ, त्यो पनि आधा–एक किलो घरबाट खानका लागिमात्र बिक्री हुँदैछ ।’

यी किसानको जस्तै जिल्लाका अन्य क्षेत्रमा किसानको पनि समस्या उही छ । झापाको विर्तामोड, चारआली, काँकडभिट्टा, दमक, विराटनगर हुँदै काठमाडौं सम्म जाने र भारतको सिलिगुडी सम्म जाने इलामको तरकारी किसानको बारीमै कुहिने अवस्थामा छ ।

यता उत्पादित तरकारी ढुवानीलाई जिल्ला प्रशासन कार्यालयले पनि नरोकेको भएपनि बजार बन्द हुँदा बिक्रीमा समस्या रहेको कृषि ज्ञानकेन्द्र इलामले जनाएको छ । केन्द्रबाट पनि नयाँ संरक्षित संरचना कार्यक्रम अन्तर्गत जिल्लामा करिब छ सयवटा टनेल बनाइएको छ । एक करोड ७० लाख रुपियाँको लगायतमा किसानलाई ५० प्रतिशत अनुदानमा बनाइएको टनेलमा पनि बेमौसमी तरकारी खेती भइरहेको छ । तर बजार बन्दकै कारण किसानलाई समस्या पर्न थालेको ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले बताए । ‘किसानको तरकारी कुहिने अवस्था आएपछि निकासीका लागि माथिल्लो निकाय हुँदै मन्त्रालय सम्म समन्वय गरिरहेका छौं, माथिबाट केही आएको छैन ।’ खड्काले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार