कोरोना भाइरस र चार बर्षे स्नातक

  प्रभा भारद्वाज

 कोरोना भाइरसका कारण अहिले विश्व आतंकित बनेको छ । कोरोनाकै कारण मृत्यु हुने मानिसको संख्या बढिरहेको छ । कोरोनाका कारण हाम्रो देशले पनि अकल्पनीय हानी वेहोरिरहेको छ ।
दैनिक रुपमा संक्रमित हुनेको संख्या र मृत्यु दर बढ्दो छ । कोरोना न्यूनीकरण र निराकरणका लागि सरकारले निषेधाज्ञा र बन्दाबन्दी गरेको छ । तर, संक्रमण हुने दर उच्च छ । संक्रमण र मृत्यु मात्र होइन अप्रत्यक्ष रुपमा कोरोनाले धेरैतिर प्रभाव पारेको छ । यति बेला हामीलाई महामारी विर्सिएर पुरानै लयमा फर्किन मन छ । तर, कोरोनाका कारण घरभित्रै खुम्चिएर बस्नु पर्ने बाध्यता छ भने स्वास्थ्य सतर्कता अपनाएर हिड्नु पर्ने बाध्यता छ ।
गएको बर्षदेखि नै कोरोनाले हामीलाई नराम्रो प्रभावित बनायो । सरकारले महामारी सर्न नदिन तीन महिना बन्दाबन्दी गर्यो । बन्दाबन्दीका कारण देशका आर्थिक, सामाजिक क्षेत्रमा घातक असर पर्यो । यस्तै, मध्ये कारोनाका कारण प्रभावित बनेको क्षेत्र हो, शैक्षिक क्षेत्र ।
पहिलो लहरमा मात्र होइन अहिले पनि कोरोना देशको शैक्षिक क्षेत्र थाङथिलो बनेको छ । कोरोनाको नयाँ लहरले शैक्षिक संस्थाहरु बन्द छन् भने विद्यार्थी विद्यालय जान सकेका छैनन् । विद्यालय शिक्षण पद्धतिमा अध्ययन हुन नसकेपछि कतिपयले शैक्षिक संस्थाले यसको विकल्प खोजेका छन् ।  प्रविधिको प्रयोगमार्फत पढाइ सुचालु भएपनि प्रभावकारी बन्न सकेको छैन । वैकल्पिक विधिबाट पढाइ भएपनि परीक्षा गराउन असहज बनेको छ । यसै कारण हाम्रा विद्यालय र विश्वविद्यालयका परीक्षा अहिले अन्यौलमा छन् । कोरोनाले नराम्ररी प्रभाव पारेको विश्वविद्यालयस्तरकै एउटा तह हो, स्नातक तह ।
विगतमा स्नातक तहको अध्ययन दुई बर्षमा सकिन्थ्यो । पछि बढाएर तीन बर्ष बनाइयो । तर, अन्तर्राष्ट्रिय मापदण्डको भन्दै अहिले चार बर्ष बनाइएको छ । यो अवधि विद्यार्थीका लागि लामो अवधि हो । १४ बर्षमा एसएसलसी (अहिले एसइई) पार गरेको विद्यार्थीले निरन्तर कक्षा उर्तीण गर्दै जाँदा २१ बर्षमा स्नातक र २४ बर्षमा स्नातकोत्तर उर्तीण गर्ने लक्ष्य राख्छ ।एउटा विद्यार्थी आफ्नो यही उमेरलाई आधार बनाएर भविष्यको योजना बनाइरहेको हुन्छ । तर, कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीले स्नातक तह पार लामो समय लागेको छ ।
कसैको पाँच बर्ष त कसैको छ बर्ष लागिरहेको छ । पछिल्लो समय २०७६ सालमा प्रथम बर्षमा भर्ना भएका विद्यार्थीको त तीन बर्ष सम्म एउटै कक्षामा पढ्नु परिरहेको छ । कोरोनाका कारण नियमित रुपमा परीक्षा हुन नसक्दा तीन बर्षसम्म एउटै कक्षामा पढ्नु परेको हो । २०७६ सालको परीक्षा फाराम खुल्न नपाउँदै २०७७ सालको भर्ना फाराम खुलिसकेको छ ।यो शिक्षा क्षेत्र ठूलो समस्या हो । कोरोनाका कारण हामीले परीक्षाका वैकल्पिक विधि अपनाउन नसक्दा देखिएको समस्या हो यो । अझै पनि उनीहरुले कतिपय स्नातक पढ्नु पर्ने हो अन्यौल छ ।
यसका साथै स्नातक दोस्रो बर्षका कतिपय संकायको परीक्षा हुँदाहुँदै बीचमै रोकिएको छ । महामारीले पढाइमा परेको असरका कारण धेरै विद्यार्थीलाई पढाइ प्रति नै वितृष्णा पलाएको छ । कतिपयले विद्यालयको पढाइ (कक्षा १२) सकेर नै पढाइको विकल्प सोच्न थालेका छन् । यति मात्र होइन अहिले त विद्यार्थीलाई पढाइप्रति हिनता बोध हुन थालेको छ । उनीहरुले पढाइलाई अघि नबढाएको हुने रहेछ भन्ने सोच्न थालेका छन् ।
यति मात्र होइन, स्नातकोत्तर गर्ने धोको राखेका कतिपयलाई त सोही लक्ष्यमै नपुगिने हो कि भन्ने लाग्न थालेको छ । यही समस्याका कारण कतिपय त महामारी पश्चात् विदेशिने सुरमा रहेका छन् । अनलाइन पद्धति पनि प्रभावकारी हुन नसक्दा झनै शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको छ । विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि खासै प्रभावकारी हुन सकेको छैन । विद्यार्थीले प्रयोग नगरेपनि कोर्ष सकिने गरेको छ । फेरि, इन्टरनेटको पहुँचमा नभएका विद्यार्थी पनि पढाइबाट वञ्चित हुनु परेको छ । तर, इन्टरनेटमा दक्षता नभएकालाई भने दक्ष बनाउन सहयोग हुने देखिन्छ ।
कोरोनाका कारण शैक्षिक संस्था समस्यामा परेपछि स्नातक तहका विद्यार्थीलाई सोचमग्न बनाएको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । त्यसैपनि अहिलेको शिक्षा पद्धतिबाट रोजगारीको सुनिश्चित हुन गाह्रो छ । अहिलेको महामारीमा ज्ञानभन्दा ज्यान ठूलो हो भनेर अध्ययनलाई अघि बढाउन सकिएको छैन । तर, सम्बन्धित पक्षले यसबारे विकल्प खोज्न आवश्यक छ । कोरोना भाइरस लामो समय रहेमा पनि हाम्रो शैक्षिक अवस्था झनै धरायासी हुन्छ । विद्यार्थीको भविष्यमाथि थप अन्यौल हुन नदिई विद्यार्थी वर्गको भविष्य सुनिश्चित हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार