‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अन्तर्गत इलामका १० पालिकालाई स्वास्थ्य सामग्री

  आवाज संवाददाता

इलाम। ‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अभियान अन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिले आजबाट इलामका स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्न थालेको छ ।

समितिले आज (सोमबार) माङसेबुङ गाउँपालिकालाई एक लाख ४० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अभियानका अभियन्ता निरोज खड्कीका अनुसार  बेड, अक्सिमिटर, सेनिटाइजर, ग्लोब्स, फेस शील्ड, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोलाई हस्तान्तरण गरिएको हो ।

यसरीनै इलामका १० वटा स्थानीय तहलाई एक लाख ४० हजार बराबरको कारोना संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिने अभियन्ता खड्गीले बताए । मंगलबार फाकफोकथुम र माइजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरिने पनि उनले बताए ।

यसअघि इलाम अस्पताललाई छ लाख बराबरकाे सामग्री हस्तान्तरण गरिएकाे छ ।

कोभिड–१९ को दोस्रो लहरका कारण समस्यामा परेका इलामेहरुलाई देश तथा विदेशमा रहेका इलामे तथा इलामलाई माया गर्ने व्यक्ति र संस्थाहरुबाट प्राप्त सहयोगबाट सामग्री हस्तान्तरण गरिएको पनि खड्गीले  बताए ।

‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अभियान अन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिमा उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, निरोज खड्गी र रतन चौधरी सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार