ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार

  आवाज संवाददाता

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन्। यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन्। नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ।

सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो। संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ।

‘अहिले नै परिणाम हात परेको छैन। हामी अझै आशावादी छौं। कहिलेकाहीं सडकको डिलमा पुगेको गाडीलाई ब्याक गरेर बचाउन सक्ने अवस्था हुन्छ। अहिले हामी दुवै नेता ब्याक हुनसक्ने अवस्था केके छन्, त्यसबारेमा छलफल गरिरहेका छौं’, संवादमा सहभागी एक नेताले भने। उनका अनुसार जेठ ९ गते मिलिसकेको कुराकानी बिग्रेकाले यसपटक वार्तारत नेताहरूले केके विषयमा छलफल भएको छ भन्ने जानकारी आफ्नो समूहका शीर्ष नेतालाई पनि गराएका छैनन्। उनीहरूले ‘कुराकानी हुँदैछ’ मात्रै भनिरहेका छन्।

‘यसबीचमा भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको तयारी रहेको स्रोतको दाबी छ। नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिएका थिए। ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालले भनेका थिए। नागरिक दैनिकले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार