इलाम । दोस्रो चरणको कोरोना संक्रमितको संख्या बढ्दै गएपछि इलामका गाउँ–गाउँमा कोरोना संक्रमण थाह पाउन एन्टिजिन र पिसिआर परिक्षण गर्न थालिएको छ । जिल्लाका सूर्योदय नगरपालिका, इलाम नगरपालिका,माई, देउमाई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका वडा–वडा सम्मनै परिक्षण गर्न थालिएको हो ।
‘संक्रमणका कारण नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । बन्दाबन्दीका कारण सर्वसाधारण बाहिर खासै निस्किएका छैनन्, तर संक्रमणको जोखिम रहेका स्थानहरुमा परिक्षणलाई बढाएका छौं ।’ सूर्योदय ननगरपालिका प्रमुख रणबहादुर राईले भने ‘पछिल्लो पटक यहाँबाट जिल्ला बाहिरिने ढुवानी सेवाका चालकहरु, चिया बगानका श्रमिक र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका श्रमिकको परिक्षण गरिरहेका छौं ।’ यसरी गरिएको परिक्षणमा अपेक्षाकृत नेगेटिभ नतिजा आएको राईको भनाइ छ । अन्तुमा १२ जना र हर्कटे केही व्यक्तिमा संक्रमितको संख्या रहेकाले ती स्थानहरुलाई भने शील गरिएको छ ।
यता इलाम नगरपालिकाले पनि एन्टिजिन र पिसिआर परिक्षणलाई तीब्रता दिएको छ । वडा–वडामा पुगेर परिक्षण थालिएको नगरपालिका स्थित स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो पटक माइजोगमाई, रोङ र माङ्सेबुङ गाउँपालिकामा पनि संक्रमितको संख्या बढी रहेको छ ।
बजार क्षेत्रमा संक्रमितको संख्या घट्दै गएपनि गाउँमा संक्रमित बढ्नुले सर्वसाधारणमा चिन्ता थपिएको छ । गाउँमा संक्रमितको संख्या कस्तो छ भनेर जान्न जिल्ला स्वास्थ्य कार्यालयले पनि पालिकाहरुलाई परिक्षणको दायरा बढाउन पत्राचार गरेको छ । कार्यालयमा आएको दशहजार थान एन्टिजिन किटलाई जिल्लाका सबै पालिकामा पठाउने काम भइरहेको कार्यालयले जनाएको छ ।
‘सबै पालिकालाई त्यहाँको जनसंख्याको दुई दशमलव पाँच प्रतिशतमा एन्टिजिन परिक्षण गर्न भनेका छांै ।’ कार्यालयका कोभिड फोकल पर्सन विमल बरालले भने ‘पाँच दिन भित्र परिक्षण गरिसक्नु भनिएको छ तर वर्षाका कारण अलि ढिलो हुन्छ होला, कम्तिमा एक सातामा सबै पालिकाको अवस्था थाह हुन्छ ।’ बजार क्षेत्रमा बन्दाबन्दी भएपछि गाउँ सँगको आउजाउ बढी भएका कारण गाउँमा संक्रमण बढेको पाइएको बराल बताए ।
स्वास्थ्य कार्यालयको पनि गाउँ–गाउँलाई कोरोना संक्रमण मुक्त बनाउने अभियान रहेको बरालले बताए । जिल्लामा हाल सम्म १०६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।