कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी

फाइल फाेटाे: मेची अञ्चल आयुर्वेद औषधालयले वितरण गरेको औषधी कोरोना संक्रमितको घरमा पुगेर विरतरण गर्दै इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठ र स्वास्थ्यकर्मीहरु ।

 इलाम । कोरोना संक्रमितको संख्या बढेसँगै इलाममा संक्रमितहरुलाई चाँडो निको बनाउन आयुर्वेदिक उपचारलाई तीब्रता दिइएको छ । मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न जडीबुटी मिस्त्रित औषधीलाई संक्रमित समक्ष पुर्याउन थालेको हो ।

गत वैशाख २७ बाट औषधालयले अभियाननै चलाएर सकेसम्म संक्रमितको घर–घर औषधी पुर्याइरहेको छ । औषधालयले गूर्जोचुर्ण, जेष्ठीमधु चूर्ण, त्रिकटु चूर्ण र अश्वगन्धालगायतका औषधीहरु संक्रमितलाई निःशुल्क उपलब्ध गराइरहेको छ । औषधी सँगै संक्रमितलाई स्वासप्रस्वासमा सहज गराउन विभिन्न योग विधि समेत सिकाइरहेको औषधालयका सुचना अधिकारी तीर्थ आचार्यले बताए ।

यो आर्युवेदिक औषधी सेवन गरेपछि शारीरिक रुपमा केही सहज भएको महशुस भएको इलाम नगरपालिका– ५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले बताए । अघिल्लो चरणको कोरोनाबाट संक्रमित भएका श्रेष्ठले यो पटक आफूले पनि यो औषधी सेवन गरेको र इलाम नगरपालिकाका संक्रमितलाई पनि औषधी वितरण गरिएको बताए । इलाम नगरपालिकाका प्रवक्ता समेत रहनु भएका श्रेष्ठले मात्रा मिलाएर सेवन गर्दा संक्रमितहरु निको हुन सजिलो भएको जानकारी दिए । ‘यो औषधीको माग धेरै छ, आयुर्वेदिक औषधी रुघा, खोकी, घाँटी दुख्ने, ज्वरो आउनेमा त्यसैपनि प्रयोग गरिन्छ ।’ श्रेष्ठले भने ‘यो औषधीले मानिसको रोग सँग लड्ने प्रतिरोधी क्षमताको विकास गराउन सहयोग गर्दो रहेछ ।’ इलाम नगरपालिका – ५ कै अर्का संक्रमित तारा आचार्यले पनि आयुर्वेदिक औषधी सेवन गर्दा आफूलाई कोरोना सँग लड्न धेरै सहज भएको बताए ।

यता जिल्लाका दुईसय बढी संक्रमित व्यक्तिहरुलाई औषधी वितरण गरिसकेको औषधालयले यो अभियानलाई निरन्तरता दिइरहेको बताइएको छ । ‘यी आयुर्वेदिक औषधीहरु कोरोनाकै प्रमाणित औषधी होइनन् तर यी औषधीहरु इम्युनिटी पावर बढाउने औषधीका रुपमा विभिन्न अध्ययनमा देखिएको छ ।’ औषधालयका सुचना अधिकारी आचार्यले भने ‘त्रिकटु चूर्ण छाती, फोक्सो र एलर्जीका लागि राम्रो औषधी हो, यसले निमोनियाँ हुन दिंदैन । निमोनियाँ हुन नदिंदा विरामीलाई निको पार्न सजिलो हुन्छ ।’

रोङ गाउँपालिकाका १३ जना संक्रमित विरामीबाट शुरु गरिएको यो औषधीको विरामीहरुबाटै सकारात्मक कुरा आएको आचार्यको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको करिब सात लाख रुपियाँ र औषधालयले खरिद गरेको एक लाख गरि करिब आठलाख रुपियाँको औषधी विरामीलाई वितरण गरिरहेको जनाइएको छ ।

‘यो कार्यक्रम संघीय, प्रदेश सरकार, विभाग कसैको निर्देशनको होइन, तर संक्रमितलाई के गर्न सकिन्छ भन्नेमा औषधालय आफैंले थालेको कार्यक्रम हो,’ आचार्य भन्छन् ‘प्रदेशमा पनि हामीले रिर्पोटिङ गरिरहेका छौं, बिरामीबाट सकारात्मक कुरा आएर औषधीको माग धेरै भएपनि आगामी दिनमा भने बजेट पुनः व्यवस्था गर्नुपर्ने अवस्था आउने सम्भावना छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार