आज म गणना र गुणगान गर्न नसकिने वस्तुको गणना गर्दैछु । त्यो हो, आमा । मेरो लेखनको शीर्षक भने एकदमै माया ,स्नेह र करुणाकी स्रोत ‘आमा’ शब्दले सजाएको छु । थाहा छ,आमाको जति वर्ण गरेपनि कम नै हुन्छ ।
आध्यत्मिक संसारलाई सम्झने हो भने आमाको पाप (भारा) कहिलै काट्न सकिन्न । एउटा बच्चा जन्माउन र हुर्काउन कति सकस पर्छ होला । हामीले कल्पना पनि गर्न सक्दैनौ । तर आज म अलिक फरक तरिकाले आफ्नो विचार राख्न प्रयास गर्दै छु ।
सर्वप्रथम त ‘आमा’ शब्द नै अपरम्पार छ । आमा विना हाम्रो कल्पना नै व्यर्थ छ । यसको मतलब हामीलाई जन्म दिएर यस संसारमा पाइला टेकाउने नै हाम्री आमा हुन् । आज म मेरी आमालाई युग शब्दसँग जोड्न चाहे । हो यो प्रसङ्ग अलिक फरक छ तर यस लेखनको अन्त्यसम्म पुग्दा आमा र युगको सम्बन्ध प्रष्ट हुनेछ । मानव जातिको आगमनसँगै विभिन्न युगहरुको स्थापना भयो सोही अनुसार अन्त्य पनि । ढुङ्गेयुग देखि यता जुनसुकै युग किन नहोस् तर सबैमा आमाको भूमिका प्रगाढ छ ।
मानव जातिको विकास लगत्तै युगको अन्त्य र सुरुवात भएको हो । यसै क्रममा आजको दिनसम्म हामी आई पुगेका पनि छौ । मानिसले गरेको विकासलाई हेरेर युग बदलिने गर्दछ । फेरि अहिले प्रविधिको अत्यन्तै विशाल परिवर्तनले युग फेरिने आशंका मैले गरेको छु र यसै युगको अन्त्यमा म मेरी आमालाई देख्द छु । यहाँ तपाईं आश्चर्य वा हैरान न हुनुहोस् किनभने हाम्री आमा यसै युगको अन्त्यमा बसेकी छिन् ।
मेरो कुराको अर्थ ? एक पल्ट सोच्नुहोस् किनकि तपाईं हाम्री आमालाई हामी सबै मिलेर युगको अन्त्यमा खोज्नु छ । यदि हामीले आमालाई यहाँ भेटेनौ भने हाम्री आमा हराउनेछन् । मैले मेरी आमालाई यहाँ किन खोज्दै छु भने मेरी आमाको पहिचान यो युगले गर्दछ । जस्तै ःबिहान सवेरै उठ्छिन्,सबैलाई चियानास्ता गरेर हातमा हँसिया र नाम्लो बोकेर घाँस दाउरा गर्न जान्छन् । मेरी आमाको शरीरमा राम्रो कपडा छैन। छ त केवल मेरा बाले दिएको रातो सिन्दुर र पोते । मेरी आमाले आकर्षक नङ्पालिस लगाएकी छैनन्,उनले हातमा विदेशी आइफोन वा ट्याब्लेट बोकेकी छैनन् । किनकी उनलाई मोबाइल फोन चलाउन आउँदैन र कुनै फुर्सद पनि छैन ।
हो,अब तपाईं सम्झुहोस् ,प्रविधिको विकासले आगामी दिनमा नयाँ आमाहरूको जन्म गरिसकेको नी नाई ? कठै,मेरी आमाले उच्च शिक्षा हासिल गर्न सकेकी छैनन् ।तर उसमा अथाह ज्ञान छ । बाहिरी संसारमा बुझेकी छैन । उनलाई सधैं चुलाचम्कामा व्यस्त राखिएको छ । ठूलाठूला महलहरुमा सपिङ गर्न लागिएको छैन । केवल,अङ्ग्रेजी बोल्न सिकाएको छैन,विचरा मेरी आमालाई धेरै मानिसको भीडमा मजाले बोल्न समेत आउँदैन ।
मेरी आमा ती अन्तिम देवी हुन् जसलाई फेसबुक, टुइटर र अन्य विभिन्न सामाजिक सञ्जालले छोएको छैन । मेरी आमालाई सानो नोकिया किप्याड फोन चलाउन समेत गाह्रो पर्दछ।उनलाई त्यही नोकिया मोवाइल संसार लाग्छ ।
मेरी आमा ती अन्तिम देवी हुन् जसले आफूले नजानेपनि दिनरात जलेर हामीलाई प्रेरणा दिएकी छिन् । मलाई गर्व लाग्छ, मैले मेरी आमालाई साम्झिँन्दा म त्यो अन्तिम सन्तान हुँ जसले यी सिधा,सोझा र पवित्र आमाबाट जन्म लिएको छु ।
अन्त्यमा, एक निराशाको कुरा के छ भने हामी धेरै जान्ने भएकाले आफ्नो आमालाई लुकाउन थालेका छौं । हाम्री आमाको लगाइखुवाई सिष्ट नभएको कारण आफ्नो साथीसँग वा अन्य व्यक्तिसँग टाढा लग्ने गर्दछौं । किनकि हामी त पढेको छौ नी त ! शिक्षित छौ नि त !,हाम्लाई बढो लाज लाग्छ,आफ्नी आमा अरु सामु देखाउन । कठै हाम्रो दुर्दशा ! मेरी ती सोझी आमा नि लुकेर बस्छिन् ता कि छोराछोरी को इज्जत रहोस् भनेर ।
मलाई त धिक्कार लाग्छ ती छोराहरूमा जसले आफ्नी आमालाई त्यो दृष्टिकोणले हेर्ने गर्छन् । माफ पाउँ तर सत्य यही नै हो । यो युगको अन्त्यसँगै मेरी आमा अलप हुने छिन् र एक हातमा मोवाइल बोकेर कार्य गर्ने आमाको सुरुवात पाउने छु । कृपया समय थोरै छ मेरी आमालाई धेरै माया र सम्मान दिनुहोस् र हामी जस्ता सन्तान पाएकोमा गर्व लागोस् ।भविष्यका,ती आमाहरुलाई सम्मान साथ सुस्वागतम् छ । धन्यवाद !