कोभिडका संक्रमितको सहारा बन्दै इलामे युवाद्वय सुमन र निर्देश

फोटो : कोरोना संक्रमित विरामीलाई इलाम अस्पताल ल्याउँदै ।

इलाम । कोभिडका विरामी घर पुर्याउन सोमबार धुसेनी पुगेका इलामका युवा सुमन श्रेष्ठले भने ‘यो असाध्यै अप्ठ्यारो परिस्थिति रहेछ, कोभिड संक्रमित भनेपछि कोही छेउ पर्नै नमान्ने ।’ संक्रमितहरुलाई अस्पताल ल्याउन र घर पुर्याउन १५ दिन यता एक जना चालक सहित आफैं खटिइरहेका श्रेष्ठले भने ‘आज चाँहि विरामीलाई घर पुर्याउन धुसेनी आइपुगेका छौं । दैनिक विरामीलाई उपचार गर्न जान सहयोग गरिरहेका छौं ।’

१५ दिनको अवधिमा उनीहरुले ६७ जना संक्रमितलाई अस्पताल लग्ने र घर पुर्याइदिने काम गरिसकेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उपचार गर्न जानै समस्या भएका नामसालिङका एक विरामीलाई पनि श्रेष्ठ आफैं पुगेर इलाम अस्पताल ल्याइदिए । विरामीका एक सहयोगीले भने ‘अचेल कोरोना भनेपछि जो कोहीले गाडी दिनै मान्दैनन् । अलिअलि रुघामर्की लाग्यो र झाडा पखाला चल्यो भने कोरोना हो भनेर संका गर्ने नराम्रो प्रवृत्तिको विकास भएको छ ।’

श्रेष्ठ र राईले विरामीको सेवा गर्न एक महिनाको लागि ६० हजार रुपैयाँमा गाडी भाडामा लिएका हुन् । चालकलाई मासिक दश हजार रुपैयाँ तलब र तेल खर्च गर्दा करिब डेढ लाख रुपियाँ खर्च हुने अनुमान रहेको श्रेष्ठले बताए ।

बिहीबार पनि इलाम नगरपालिकाका एकै परिवारका नौं जना संक्रमितलाई त्यही गाडीले अस्पताल पुर्यायो । संक्रमणको जोखिम बढिरहेका बेला संक्रमितलाई यसरी सहयोग गर्ने इलाम नगरपालिका– ७ का समाज सेवी सुमन श्रेष्ठ र निर्देश राई यतिबेला सबैका सहारा भएका छन् । श्रेष्ठ समाज सेवी युवा हुन भने राई पनि निर्माण व्यवसायी तथा समाज सेवीनै हुन् ।

कोरोना संक्रमितको अवस्था उपचारकै अभावमा नाजुक बन्ने भएपछि यी दुई युवाले गत जेठ ११ गते देखि जिल्ला भरिका संक्रमितलाई निःशुल्क रुपमा अस्पताल लान एउटा बुलेरो जीपको व्यवस्था मिलाएका थिए । तर, त्यस अगाडिनै विरामी बोक्नु पर्ने अवस्था आएपछि जेठ ९ गतेदेखि संक्रमितलाई अस्पताल ल्याउन थालिएको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ र राईले विरामीको सेवा गर्न एक महिनाको लागि ६० हजार रुपैयाँमा गाडी भाडामा लिएका हुन् । चालकलाई मासिक दश हजार रुपैयाँ तलब र तेल खर्च गर्दा करिब डेढ लाख रुपियाँ खर्च हुने अनुमान रहेको श्रेष्ठले बताए ।

यी युवाले विरामीलाई अस्पताल ल्याउने मात्र होइन घर पनि पु¥याइ दिने गरेकाले धेरैलाई राहत मिलेको नेपाल पत्रकार महासंघ इलामका पूर्व सभापति धिरेन चेम्जोङले बताउँछन् । ‘आफ्नै खर्चमा यी युवाले देखाएको उद्धारताले कोरोना संक्रमितलाई मात्र होइन अरुलाई पनि उत्साह थपेको छ ।’ चेम्जोङ भन्छन् ‘संक्रमितलाई माया गर्नुपर्छ, उत्साह दिनुपर्छ, घृणा होइन, यी युवाको कामले अरुलाई पनि समाज सेवामा प्रेरित गरेको छ ।’

यता इलामकै अर्का समाजसेवी निर्माण व्यवसायी डम्बर खड्का पनि कोरोना संक्रमितहरुको सेवामा लागेका छ् । खड्काले गाडी नपाएर उपचार गर्न समस्यामा परेका विरामीलाई सवारी साधन उपलब्ध गराउन देखि मास्क वितरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार