काेराेनाकाे कहरका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै बन्द चिया उद्योग सञ्चालनमा


इलाम । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दी सँगै बन्द भएका इलामका चिया उद्योगहरु सोमबारबाट सञ्चालनमा आएका छन् ।

सूर्योदय टी एशोसिएसनले आफूसँग आवद्ध उद्योगहरु सञ्चालनमा आएको जनाएको छ । सबै तिर चिया नपलाएका कारण केही उद्योग सञ्चालनमा आउन बाँकी छ ।

‘चियामा बाँझी समय शुरु भएकाले पनि प्राय: उद्योगहरु बन्द थिए, बन्दाबन्दी पनि त्यही समयमा भयो, अब पत्ती पलाउन थालेको छ ।’ एशोसिएसनका सचिव गोपाल कट्टेलले भने ‘तातो स्थान तिर पत्ती पलायो त्यताका उद्योग सञ्चालनमा आए, अलि चिसो हुने स्थान तिर त पत्ती पलाउन अझै १५ दिन लाग्छ ।’

सञ्चालनमा आएका उद्योगहरुलाई सूर्योदय नगरपालिकाले तयार गरेको २१ बुंदे आचार संहिता तयार गरेको छ । हरेक श्रमिकले तीन मिटरको दुरी अर्थात चियाका चार बुट्टाको फरकमा रहेर पत्ती टिप्नु पर्ने, चिया संकलन केन्द्र, चिया टिप्ने स्थान, उद्योगलगायतका स्थानमा सरोकारवाला आफैंले साबुन पानी, सेनिटाइजरलगायत सररफाईको व्यवस्था गर्ने, अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सम्बन्धित वडामा श्रमिकको विवरण बुझाउनु पर्ने, किसानले दिउसो २ बजे सम्म चिया संकलन केन्द्रमा पठाइसक्नु पर्ने र संकलन केन्द्र्बाट बेलुका पाँच बजे सम्ममा उद्योगमा पुर्याई सक्नुपर्ने लगायतका बुँदा रहेका छन् ।

यस्तै चिया श्रमिकलाई सवारी साधनमा ओसारपसार नगर्ने, कोरोना संक्रमणको कारण चिया क्षेत्रमा संलग्न श्रमिकलाई अस्पताल भर्ना गर्नुपरे नगरपालिकाले सहजीकरण गर्ने लगायतका बुँदा आचार संहितामा उल्लेख छ ।

यता अहिले उद्योगहरुले तयार गरेको पहिलो सिजनको दुई लाख किलो चिया निकासी गर्नै बाँकी रहेको जनाएका छन् । भारत निकासी हुने करिब चार करोड रुपियाँको चिया गोदममै छ , यो चिया निकासी गर्दा पनि उताका व्यापारीले हामीलाई रकम पठाउन करिब एक महिना ढिलो हुने हुँदा किसानको समेत रकम भुक्तानी गर्न ढिलाइ हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार