को–को बन्दै छन् मन्त्री ? पूर्वमाओवादीबाट नयाँ अनुहारको हुँदै छ ‘इन्ट्री’

  आवाज संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २१ गते जनता समाजवादी पार्टी ९जसपा०लाई समावेश गरेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरे । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सामेल भयो । नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बने ।

एमालेबाट चार मन्त्रीहरू पूर्ववत् रहे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ दोहोरिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका १३ मन्त्रीहरु क्याबिनेबाट बहिर्गमित हुनेमा परे ।

त्यस्तै, मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भए, रघुवीर महासेठ उपप्रधानामन्त्री तथा परराष्ट्र र शेरबहादुर तामाङले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए । हाल मन्त्रिमण्डलमा नेकपा ९एमाले०को तर्फबाट ६ मन्त्री छन् ।

ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि गरी सात मन्त्रालय आफैँसँग राखेका छन् ।

नयाँ अनुहारले प्रवेश पाउँदै

पुनर्गठित मन्त्रिपरिषद्मा पूर्वमाओवादीतर्फका नेताहरु समावेश छैनन् । रिक्त मन्त्रालय पूर्ति गर्दा नेकपा विवादमा आफूलाई साथ दिएका र पार्टी खारेज हुँदा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुलाई पनि समेट्ने ओलीको तयारी छ ।

तर, यसअघिकै पूर्वमाओवादी अनुहार मन्त्रिपरिषद्मा दोहोरिने सम्भावना कम छ । केही नयाँ अनुहारले प्रवेश पाउने स्रोतले जानकारी दियो । सर्वोच्च अदालतले पद खारेज गर्नुअघिको मन्त्रिपरिषद्मा नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु शाह, मणि थापा र दावा लामा तामाङ गरी सातजना मन्त्री थिए ।

“पूर्वमाओवादीबाट यसअघि मन्त्री बनेका सबै दोहोरिने सम्भावना कम छ । उहाँहरुबाट केही मन्त्री बन्ने र केही नयाँ अनुहारले पनि प्रवेश पाउने सम्भावना छ,” स्रोतले भन्यो ।

उनीहरुको तफर्बाट मन्त्री बन्ने केही नेताहरुको नाम टुंगो लागिसकेको छ । स्रोतका अनुसार राष्ट्रियसभामा पराजित भएका चन्द्रबहादुर खड्काको नाम पनि मन्त्री बन्ने ‘लिस्ट’मा परेको छ । उनी एमाले प्रवेश गर्दा राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो । लुम्बिनी प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा उनी पराजित भएका थिए ।

त्यस्तै, ज्वाला शाह पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । उनी बारा ३ ९क०बाट निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रबाट जितेकी उनी फागुन २३ पछि एमालेमै रहँदा पद रिक्त हुन पुगेको थियो ।

खनाल–नेपाल समूहको पर्खाइ

एमालेको विवाद मिलाउनका लागि एमाले अध्यक्ष ओली र वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुबीच संवाद भइरहेको छ । हिजो मात्रै पनि दोस्रो तहका नेताहरुले करिब चार घण्टा लामो छलफल गरेका थिए ।

विवाद मिलेमा खनाल–नेपाल समूहलाई पनि सरकारमा सामेल गराउने तयारी छ । खनाल–नेपाल समूहका नेताहरुलाई मन्त्री बनाउन मन्त्रिपरिषद् विस्तारमा पर्खिएको स्रोतको भनाइ छ ।

तर, पार्टी एकताका लागि ओलीको ६ बुँदे प्रस्तावसहितको आह्वान खनाल–नेपाल समूहले अस्वीकार गरेको छ । उसले पनि ६ बुँदे प्रस्तावको जवाफ ६ बुँदामा नै फर्काएको छ । यी गतिविधिले पार्टी एकता सम्भव नभएको नेताहरु बताउँछन् ।

मन्त्रिपरिषद् कहिले विस्तार गर्ने भन्ने टुंगो लागिसकेको छैन । आन्तरिक छलफलले भने तीव्रता पाएको छ । बाह्रखरीले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार