इलामको पत्रकारिताको प्रारम्भ हस्तलिखित पत्रिका २००९ सालबाट भएको देखिन्छ । जसरी नेपालको पत्रकारिताको विकास साहित्यिक पत्रकारिताबाट सुरु भएको थियो, त्यसरी नै इलामको पत्रकारिताको विकास पनि साहित्यिक पत्रकारिताबाट भएको देखिन्छ । इलाममा श्यामकृष्ण श्रेष्ठको सम्पादनमा २००७÷०८ सालमा घाँसी तथा आँशु नामक हस्तलिखित साहित्यिक पत्रिका निस्किएको देखिन्छ । इलाममा नेपाली साहित्यको उठान ज्ञान दिलदासको उदय लहरीको सवाई वि.सं. १९३४ बाट भएको देखिन्छ । उक्त पृष्ठभूमिबाट सुरु भएको इलामको साहित्य लेखन र साहित्यिक पत्रकारिताको इतिहास रहेको पाइन्छ भने समाचारमूलक पत्रिकाको प्रकाशन भने २०२१ सालमा आएर देवदास राइको सम्पादन तथा अञ्चल निर्देशन कार्यालयको प्रकाशनमा ‘मेची’ पाक्षिक को प्रकाशन भयो । त्यसरी नै ट्याब्लोइड साइजको समाचार प्रधान साप्ताहिक पत्रिका रामप्रसाद पोखरेलको सम्पादन÷प्रकाशनमा ‘मेची प्रवाह’ साप्ताहिक २०३९ सालमा प्रकाशन भयो । ‘मेची प्रवाह’ नै इलामको प्रथम समाचार प्रधान साप्ताहिक पत्रिका रहेको देखिन्छ । त्यसरी लेटर प्रेसबाट सुरु भएको इलामको पत्रकारिताको विकासमा यतिबेला आमूल परिवर्तन आएको छ । अफसेट प्रेसबाट छापिने साप्ताहिक, दैनिक, पाक्षिक, मासिक अखवार प्रकाशन भइरहेका छन् भने इलेक्ट्रोनिक मिडियाको पनि विकास भएको छ । विभिन्न एफ एम रेडियो स्थापना भई सञ्चालित छन् ।
छापा (Print Media)
इलाम विघठित मेची अञ्चलको शैक्षिक एवम् प्रशासनिक केन्द्र मात्र नभई साहित्य र सञ्चारको गतिशील विकासका दृष्टिले समेत केन्द्रको रूपमा स्थापित छ । मेची अञ्चलको तीनवटा पहाडी जिल्लाको पत्रारिताको विकासमा इलामको महत्वपूर्ण योगदान रहेको छ । श्यामकृष्ण श्रेष्ठद्वारा सम्पादित घाँसी, आँशु हस्तलिखित साहित्यिक पत्रिकाबाट पत्रकारिताको विकास सुरु भएको पाइन्छ । लेटर प्रेसबाट पुस्तक आकारमा छापिएको समाचार प्रधान पत्रिका भने देवदास राईको सम्पादनमा मेची पाक्षिक (२०२१) पहिलो बन्यो । मेचीपछि माधव भण्डारीको सम्पादनमा सौगात (२०२२) प्रकाशन भयो । यी दुवै पत्रिका क्रमशः अञ्चल निर्देशन कार्यालय र जिल्ला पञ्चायत इलामद्वारा प्रकाशित सरकारी पत्रिका रहेको देखिन्छ । यसै क्रममा २०२३ सालमा मेची अञ्चल कार्यालयले इलाममा मेची प्रिन्टिङ प्रेस स्थापना ग¥यो । यसलाइ नै इलामको पहिलो छापाखाना मानिन्छ ।
रामप्रसाद पोखरेलको सम्पादनमा २०३९ सालमा मेची प्रवाह साप्ताहिक प्रकाशन भयो । यो नै इलामको प्रथम समाचारमूलक साप्ताहिक अखवार हो । मेची प्रवाह साप्ताहिक २०४८ को अन्त्यसम्म छापिएको थियो । २०४८ पछि सम्पादक पोखरेल अस्वस्थ्य बन्दै गएपछि पत्रिका बन्द भयो । २०५५ सालमा पोखरेलको निधन भयो । अहिलेसम्म मेची प्रवाहको योगदान यस क्षेत्रका सञ्चारकर्मीले भूलेका छैनन् ।
अखवार प्रकाशनको क्रममा विष्णु निष्ठुरीको सम्पादनमा तरुण आवाज (२०४८), नरेन्द्रनाथ भट्टराइको सम्पादनमा इलाम सन्देश (२०४८), डम्बर पहाडीको सम्पादनमा प्रतिज्ञा (२०५०), बेनुपराज प्रसाइको सम्पादनमा आस्था (२०५०) प्रकाशन भएको थियो । यी पत्रिकाहरु समाचारप्रधान साप्ताहिक भए तापनि पार्टीको आस्थासँग नजिक रहेर समाचारलाई पार्टीगत विचारप्रधान बनाएको देखिन्छ । यस्तै सत्प्रयास विमल प्रधानको सम्पादनमा, समृद्धि मासिक उपेन्द्र कार्कीको सम्पादनमा, पूर्वेली टाइम्स दाताराम खनालको सम्पादनमा, विश्वबन्धु प्रसाइको सम्पादनमा इलाम पुकार साप्ताहिक (२०५४), देवी क्षेत्री दुलाल र निर्मल घिमिरेको सम्पादनमा चारखोल साप्ताहिक (२०५४), माधव घिमिरेको सम्पादनमा सुत्रधार श्री साप्ताहिक (२०५६), होम ढकालको सम्पादनमा इलाम साप्ताहिक (२०५७), हरिप्रसाद लुइटेलको सम्पादनमा पावनभूमि साप्ताहिक (२०५७) प्रकाशित छन् । चारखोल साप्ताहिक दर्ता हुनु पूर्व कोपिला साप्ताहिक चार अंकसम्म प्रकाशन भयो । नाम दोहोरिएको कारण कोपिलाको सट्टा चारखोल साप्ताहिक दर्ता भएको थियो । चारखोल साप्ताहिकले इलामको पत्रकारितामा व्यवसायिकताको अभ्यास प्रारम्भ गरेको थियो । यस्तै सुत्रधार श्री अघि सूत्रधार साप्ताहिक केही अङ्क छापियो । नाम दोहिएककै कारण सुत्रधारश्रीको नाममा दर्ता भएको थियो । सूत्रधारश्री साप्ताहिक तत्कालिन इलामको निर्भिक एवम् निश्पक्ष पत्रिकाको रूपमा स्थापित भयो । चारखोल साप्ताहिक तीन बर्षपछि बन्द भयो । स्वर्गीय आशिष राईले चारखोल साप्ताहिकबाटै पत्रकारिता प्रारम्भ गरेका थिए । उललेखित पत्रिकामध्ये अहिले सबै बन्द भएका छन् । पावनभूमि साप्ताहिक जिल्ला सदरमुकाम बाहिरबाट निस्किएको पहिलो पत्रिका हो भने प्रेस काउन्सिलको वर्गीकरणमा पर्ने पनि पहिलो अखवार हो ।
अखवार प्रकाशनको कालक्रममा उत्तम पौडेलको सम्पादनमा नयाँ मेची साप्ताहिक (२०६०), बालकुमार कटुवालको सम्पादनमा नवसुप्रभात साप्ताहिक (२०६०), विष्णुकुमार भट्टराईको सम्पादन तथा रोहित चन्द्र भट्टराइको प्रकाशनमा पूर्व मेची साप्ताहिक (२०६१), देवी क्षेत्री दुलालको सम्पादन तथा आँखा प्रकाशन समुहको प्रकाशनमा आँखा विकास पत्रिका त्रैमासिक (२०५९) प्रकाशन भएको देखिन्छ । आँखा त्रैमासिक एक बर्षसम्म छापिएपछि २०६० साल पुषदेखि साप्ताहिक प्रकाशन सुरु भयो । सुरुमा खोज तथा विकासप्रधान त्रैमासिक म्यागेजिन निकाल्ने उद्देश्य भएपनि पछि यसलाई साप्ताहिक पत्रिकामा रूपमान्तरण गरेको देखिन्छ । यस पत्रिकामा रोशन साँवा, सटेन्द्र जवेगु, प्रकाश अधिकारी, खिवराज दाहाल, राजु शिवा, केशव द्यौरालीको महत्वपूर्ण योगदान रहेको थियो ।
आँखा २०५९ देखि २०६५ सम्म निरन्तर छापियो । प्रतिगमन कालमा इलामको जनताको आवाज बोल्ने एकमात्र पत्रिका बनेको थियो । इलाम सदरमुकामबाट छापिने पत्रिकामध्ये प्रेस काउन्सिलको वर्गीकरणमा पर्ने प्रथम अखवार बन्यो । यस पत्रिकाको सञ्जाल जिल्लाको विभिन्न क्षेत्रमा पुग्यो । गाउँ व्यापी बन्यो । चारहजार दुईसय स्थायी ग्राहक बनिए । चारहजार पाँचसय प्रति नियमित छापिन्थ्यो । डेस्कमा दशजना सञ्चारकर्मी थिए । एकजना कार्यालय सहयोगी र बजार व्यवस्थापक एक जना रहेका थिए । यस कामका लागि गोविन्द मिश्र र गीता विश्वकर्माले विशेष योगदान पुर्याएका थिए । जिल्लाभित्र ८२ जना सम्वाददाता थिए भने जिल्ला बाहिर पनि सम्वाददाता रहेका थिए । आँखा साप्ताहिकको प्रकाशनले इलामको पत्रकारितामा ठूलो परिवर्तन ल्याउन सफल भएको देखिन्छ । व्यवसायिक, निश्पक्ष, निर्भिक एवम् उत्तरदायी पत्रकारिताको आधार निर्माण गरेको छ । पत्रकारिताको एउटा मानक स्कूलको रूपमा स्थापित बन्यो । यसको पाँचौं वार्षिकोत्सवको अवसरमा २२६ पृष्ठको अन्तर्वार्ता संगालो ‘स्वतन्त्र विचार’ विशेषाङ्क पुस्तक आकारमा प्रकाशन भएको छ । आँखा प्रकाशन समुहमा रहेका सबै अहिले इलामको पत्रकारितामा स्थापित छन् । अन्य समाज सेवा राजनीतिको क्षेत्रमा जिम्मेदार नेता भएका छन् । यो नै सबैभन्दा गौरवयोग्य सम्पत्ति हो आँखाको । २०६४ को अन्त्यसँगै विविध कारण आँखा साप्ताहिक बन्द भएको थियो । २०७० सालदेखि २०७५ सम्म आँखालाइ फेरि अनुसन्धानपरक द्धैमासिक को रुपमा प्रकाशन गरेर पुनः बन्द भएको देखिन्छ ।
नयाँ नयाँ पत्रिका छापिने क्रममा बुद्धि खनालको सम्पादनमा पूर्ण लोकतन्त्र साप्ताहिक (२०६२), विष्णुकुमार भट्टराइको सम्पादन तथा रोहितचन्द्र भट्टराईको प्रकाशनमा सन्दकपुर दैनिक (२०६५), षटेन्द्रकुमार जवेगुको सम्पादनमा इलाम आवाज साप्ताहिक (२०६५), रोशन साँवाको सम्पादनमा इलाम पोस्ट दैनिक (२०६७), प्रदिप घिमिरेको सम्पादनमा इलाम एक्सप्रेस दैनिक (२०६७), रणमाया फियाकको सम्पादनमा देउमाई साप्ताहिक (२०६६) वासुदेव र सुजन तिम्सिनाको सम्पादनमा स्थानीय सन्देश साप्ताहिक (२०७१) प्रकाशन भएका छन् । सन्दकपुर दैनिक इलामको पहिलो दैनिक पत्रिका हो । यसको प्रकाशनले इलामको पाठकलाई स्थानीय दैनिक पत्रिका पढ्ने बानी लगाएको देखिन्छ । सन्दकपुर पनि २०७५ सालदेखि बन्द भयो । इलाम पोस्ट, इलाम एक्सप्रेस र इलाम आवाज साप्ताहिक भने प्रकाशन भइरहेको देखिन्छ । इलाम आवाज साप्ताहिक सदरमुकामभन्दा बाहिरबाट प्रकाशन भई प्रेस काउन्सिलको वर्गीकरणमा पर्ने दोस्रो पत्रिका भएको देखिन्छ । रणमाया फियाक इलामको साप्ताहिक पत्रिकाको प्रथम महिला सम्पादक भएकी छन् । तर, देउमाई साप्ताहिक नियमित बन्न सकेन । यसै क्रममा २०७४ सालमा बेदकुमारी मुखियाको सम्पादनमा चियाबारी टाइम्स साप्ताहिक प्रकाशन भयो । यो पत्रिका पनि केही अङ्क छापिएर बन्द भयो ।
रेडियो (Electronic Media)
२०६० को दशकपछि आएर यस जिल्लामा इलेक्ट्रोनिक्स मिडियाको विकास प्रारम्भ भयो । सुरुमा धर्म गौताम र प्रभाकर प्रधानको सकृयतामा स्थानीय केवुल मार्फत साप्ताहिक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका थिए । इलेक्ट्रोनिक मिडियाको विकासक्रममा यो नै पहिलो प्रयास भएको देखिन्छ । उक्त कार्यक्रमले निरन्तरता पाउन सकेन । २०६१ सालमा माइपोखरी सञ्चार सहकारी संस्थाको सकृयतामा इलाम एफ.एम. (९३ मेगाहर्ज) सञ्चालन भयो । इलाम एफ. एम. पछि प्रदिप घिमिरे, सरस्वती कर्मचार्य, हिमाल कर्मचार्य र सोमनाथ सुसेली लगायतको पहलमा रेडीयो नेपाल वाणी एफ. एम. (९४.९ मेगाहर्ज) २०६३ सालमा स्थापना भयो । यसरी नै फिक्कलबाट गणेश रसिकको सकृयतामा २०६४ देखि रेडियो फिक्कल (९०.६) प्रसारण भइरहेको छ । पछिल्लो समयमा आएर माङ्सेबुङ एफ.एम. सञ्चालनमा आएको छ । स्थानीय यी रेडीयो स्टेशनबाट प्रसारित विभिन्न कार्यक्रमले यस क्षेत्रको जनतालाई सुसुचित गर्ने काममा एक हदसम्म सफलता पाएको देखिन्छ । कला, साहित्य, भाषा, धर्मका साथै मनोरञ्जनात्मक कार्यक्रम उत्पादन गरी प्रसारण गर्नाले जनतामा थप जागरण आएको देखिन्छ । लोकतन्त्र एवम् लोकतान्त्रिक पद्धति निर्माणका लागि पनि यी मिडिया मार्फत सक्दो प्रयास भएको देखिन्छ । यी रेडियो स्टेशनमा दर्जनौ सञ्चारकर्मी कृयाशलि छन् भने केही दर्जन स्थानीय युवा अर्धरोजगार भएका छन् । छिल्लो समयमा आएर केही अनलाइन मिडिया पनि विधिवत रुपमा दर्ता भएर सञ्चालनमा रहेका छन् । यसरी इलाम जिल्लामा इलेक्ट्रोनिक मिडियाको क्रमिक विकास भइरहेको पाइन्छ ।
इलाम जिल्लामा जन्मिएका सञ्चारकर्मीले नेपाल पत्रकार महासंघको संस्थागत विकासमा समेत महत्वपूर्ण भूमिका खेलेका छन् । विष्णु निष्ठुरी नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष भई जिम्मेदारी पुरा गरेका छन् । विमल वैद्य र धिरेन चेम्जोङ, षटेन्द्र जबेगूले पत्रकार महासंघको केन्द्रीय नेतृत्व सम्हालिसकेका छन् । यस्तै जिल्ला शाखा निर्माणको क्रममा धर्म गौतमको नेत्रित्वमा पाँचथर इलामको संयुक्त शाखा बनेको थियो । अहिलेसम्म नेपाल पत्रकार महासंघ जिल्लाको सभापति÷अध्यक्षमा क्रमशः धर्म गौतम, धिरेन चेम्जोङ, सोमनाथ सुसेली, षटेन्द्र जबेगु , उमेश गुरुङ, रोहित चन्द्र भट्टराइ र कोकिला ढकाल र विप्लभ भट्टराई निर्वाचित भई संस्थागत नेत्रित्व गरेका छन् । ढकाल नेपाल पत्रकार महासंघ शाखाको अध्यक्ष हुने नेपालकै पहिलो महिला पत्रकार हुन ।