नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध खेलमा जोर्डनविरुद्ध खेलबाट परिवर्तन गर्ने पक्का छ । पछिल्लो खेलमा घाइते हुँदै मैदान छाडेका डिफेन्डर विकास खवास आज खेल्ने सम्भावना न्यून छ । त्यस्तै कमजोर प्रदर्शन गरेका फरवार्ड अभिषेक रिजालले पनि सुरुवात गर्ने सम्भावना देखिदैन । प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केहि युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् ।
कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ प्रशिक्षक अलमुताइरीले खेलको अघिल्लो दिन भने ।
गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सुरुवात गर्ने पक्का नै छ । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता दिने देखिन्छ । अघिल्लो खेलमा सुमन अर्याल मिडफिल्डमा खेलेका थिए । विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्ने देखिन्छ । अघिल्लो खेलमा दीनेशले सुरुवात गरेपनि प्रशिक्षक अलमुताइरीले अन्त्यतिर उनको स्थानमा सुनिल बललाई खेलाएका थिए ।
मिडफिल्डमा केहि परिवर्तन हुने सम्भावना छ । पुजन उपरकोटी रक्षात्मक मिडफिल्डमा खेल्दा उनलाई सन्तोष तामाङ र सुरज जिउ ठकुरीले साथ दिन सक्नेछन् । एरिक विष्ट र विशाल राई पछिल्ला खेलमा बेन्चबाट आएर प्रभाव जमाएका कारण सुरुवाती ११ मा पर्न प्रयासरत छन् ।
आक्रमणमा अन्जन विष्टको स्थान पक्का छ । उनलाई मनिष डाँगी र नवयुग श्रेष्ठले साथ दिन सक्छन् । पछिल्लो दुवै खेलमा बेन्चबाट अवसर पाएका मनिषले विपक्षीविरुद्ध प्रभाव जमाएका छन् र सुरुवाती रोजाइमा पर्न संघर्षरत छन् । सुनिल बल र अभिषेक रिजालले पछिल्लो खेलमा अपेक्षित प्रदर्शन नगर्दा दुवै बेन्चमा रहन सक्छन् । हाम्राे खेलकुद डटकमबाट ।