शिव-पार्वती र सती सावित्रीको भेलेन्टाइन

  प्रा.डा. बद्रीविशाल पोखरेल

सन् तेस्रो शताब्दीका सैनिक सेवामा रहेका एक व्यक्तिको नाम पादरी सेन्ट भेलेन्टाइन हो । उनले तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिकहरुलाई प्रेमिकासित गरिने प्रेम र विवाहलाई कडा रुपमा गरिएको निषेधाज्ञालाई खुल्ला विरोध गरे । सम्राट्ले सैनिकहरुले पे्रम र विवाह गर्नु भनेको धर्म विरुद्ध हो भन्ने मान्यताका विरुद्ध भेलेन्टाएनले सार्वजनिक स्थानमा सेनाहरुको विवाह गराए ।

यही कारण इशाको २०७० फेब्रुवरी १४ का दिन भेलेन्टाइनलाई मृत्युदण्ड दिएको घटनासित भेलेन्टाइन र वा प्रेम दिवसका रुपमा नेपालमा पनि सुरु भएको देखिन्छ । तर, नेपालीहरुलाई नै संसारको सर्व प्राचीन पूर्वीय सभ्यता,धर्म र संस्कृतिमा निहित उदात्त तथा उन्नत चेतको सर्वप्रचीन प्रेम वा प्रणयलाई कत्ति पनि नबुझेको देखिन्छ र ती पश्चिमा संस्कृतिका पछि लहैलहैमा लागेर आफ्नो मौलिक पक्ष भुल्दै गएको विषयचाहिँ धेरै चिन्ताको विषय हो ।

वैदिक सनातन धर्म र संस्कृति तथा सभ्यतामा यो संसारले नै अनुकरण र अनुशरण गर्नु पर्ने प्रेमका अद्भूत पक्षहरु विद्यमान छन् । सर्वभूतेषु आत्मवत् अर्थात् सम्पूर्ण प्राणी जगत्लाई आफ्नू आत्मा सरह मान वा माया गर, उपनिषद्मा वनस्पतिमा पनि प्राणतत्व हुन्छ भनिएको छ, जसलाई विज्ञानले धेरै पछि प्रमाणित गर्‍यो । द्यौ शान्ति…आदि मन्त्रोच्चारण गरेर यो धर्ती,यो आकाश,जल,जमिन तथा समग्र पर्यावरण प्रतिको अद्भूत पे्रम पूर्वीय संस्कृति र सभ्यताका आधार ग्रन्थहरुमा सगर्व उल्लेख गरिएको छ ।

सती सावित्रीले आफ्ना मृत पतिलाई यमराजसित जुधेर र खोसेर ल्याएको प्रशंग रहेको छ । ५ हज्जार वर्ष पुरानो संस्कृति र सभ्यता संसारको सर्व प्राचीन सभ्यता हो । पश्चिमा सभ्यता, संस्कृति, धर्म र परम्पराको इतिहास २५ सय वर्षअघि भन्दा बढी जाँदैन ।

अनुसन्धानबाट यही पुष्टि भएको छ । संसारमा सबैभन्दा पुरानो धर्म, संस्कृति र समृद्ध परम्परा हुँदाहुँदै पनि हामी नै यसबाट राम्ररी परिचित छैनौं कि भनेजस्तो छ ।

हामी हाम्रै संस्कृति र सभ्यताका उदात्त पक्ष र प्रसंगहरुलाई समयमै चिरिहेका छैनौँ । यस समृद्ध संस्कृतिलाई धर्मका नाममा कि हामीले पूजा गर्न मात्र जान्यौँ कि लुकाएर राख्यौँ अनि अनेक खालका आडम्बरी प्रवृत्तिका कारण उपेक्षा जस्तै गरेर राख्यौँ ।

मातृ देवो भवः अर्थात् आमालाई देवता सरह मान वा सम्मान गर भनिएको छ । यो उदात्त चेतना संसारमा सबैभन्दा पहिलो पूर्वीय सभ्यतामा उल्लेख भएको हो ।

तर, अहिले पनि हामी पूर्वीय संस्कृतिभन्दा धेरै पछिको मदर्स डे भनेपछि हत्ते हालिरहेका छौँ । शिव र पार्वतीको विवाह वा प्रेमलाई संसारकै उदाहरणीय सर्व प्राचीन भनिन्छ, तर हामी पश्चिमा भेलेन्टाइनका पछि आँखा चिम्लेर लागिपरेका छौँ ।

संस्कृति कुनै पनि देशको महत्वपूर्ण मौलिक गुदीदार पक्ष हो, यही कुनै पनि देशको मूल परिचय हो । मानवका जन्मदेखिका सबै संस्कारहरु देश,जाति,भूगोल र विश्वासका आधारमा अनेक हुन्छन् । तिनमा रहेका सकारात्मक पक्षहरुको जगेर्ना गर्दै तिनलाई समयानुकूल परिष्कार र परिमार्जन गर्दै जानुपर्छ । तर, संस्कृतिका नाममा सबै र सधैँ पश्चिमा संस्कृतिको अन्धदास हुनुहुँदैन ।

विवाह नर–नारी वा युवा–युवतीबीचको प्रणय हो । यो मानव संस्कृतिको अत्यन्त महत्वपूर्ण र सामान्यतया अपरिहार्य पक्ष पनि हो । यसखालको प्रक्रिया समग्र जीव, जीवन तथा जगतको नैसर्गिक पक्ष हो ।

यसलाई मानव संस्कृतिभित्रको अत्यन्त महत्वपूर्ण संस्कार विधिअन्तर्गत राखिन्छ । आदिम अवस्थादेखि हालसम्मको यो मानव सभ्यतामा विवाहसम्बन्धी अनेक पद्दतिहरु स्थापित, परिमार्जित तथा पुनर्निर्मित तथा विकसित हुँदै गएको पाइन्छ ।

दास प्रथा, सामन्ती, पुँजिवादी र समाजवादी आदि हरेक चरणहरुमा विवाहसम्बन्धी मान्यताहरु अनेक देखिन्छन् । पूर्वीय वा वैदिक सनातन वा हिन्दू धर्म र संस्कृतिले पनि विवाह सम्बन्धमा आआफ्नै खालका आदर्शहरु स्थापित गरेको देखिन्छ ।

विगत कालमा जे जस्ता सामाजिक सांस्कृतिक अवस्था थिए, त्यहीअनुसार विवाहसम्बन्धी मान्यता स्थापित र विकसित बने । तिनलाई धारे हात लगाएर सराप्नु भन्दा त्यस कालखण्डको त्यो सामाजिक चेतनाअनुसार निर्मित संस्कार र संस्कृतिको समीक्षा गर्दै अबको दुनियाँमा यसमा के कस्ता सुधार र परिमार्जन गर्नुपर्छ भन्ने कुराचाहिँ सबैभन्दा अहं सवाल हो ।

हिन्दू संस्कार अनुसार गरिएका गरिएका विवाह परम्परामा पनि सकारात्मक पक्ष रहेको देखिन्छ । तिनलाई समग्र निषेध गर्ने अद्वन्द्ववादी तरिका किमार्थ अपनाउनु हुँदैन । निषेधको निषेधले पनि सकारात्मक पक्षको संरक्षण र सम्बर्धन गरेर समुन्नत अवस्थातिरको यात्रा सुरु गर्नुपर्छ भन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार