काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यलाई प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ ।
प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार बिहान विज्ञप्ति जारी गरेर अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको बताएका छन् । उनले नेपाली कांग्रेसले संसदमा संसदीय मर्यादाको पालना अनिवार्य गर्न बैद्यलाई सचेत गराएको छ ।
हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको कांग्रेसले प्रष्ट पारेको छ ।