खसी–बाख्रा बिक्री नहुँदा समस्या

 फोटो : इलाम नगरपालिका महभीरस्थित किसान कुमार बस्नेतले आफूले पालेका बाख्रा स्याहार गर्दै ।

इलाम । कारोना संक्रमणका कारण लामो समयदेखि बन्दाबन्दी हुँदा पशुपालक किसान बढी समस्यामा परेका छन् । गतवर्ष देखिनै कोभिडका कारण घर फर्किएका युवाहरुले घरमै बसेर व्यवसायिक रुपमै बाख्रा पालन थालेका थिए । यो वर्ष पनि पुनः बन्दाबन्दी गर्नुपर्दा हुर्किएका खसीबाख्रा बिक्री हुन सकिरहेका छैनन् ।

बन्दाबन्दीका कारण बजार नखुल्दा र निकासी गर्न नपाउँदा समस्या भएको किसान बताउँछन् । स्थानीय पालिकाहरुले पनि गतवर्षदेखि बाख्रा पालनका लागि किसान केन्द्रित कार्यक्रम सञ्चालन गरेका थिए । तर, पालिकाकै सहयोगमा उन्नतजातका बाख्रा खरिद गरि थालिएको व्यवसाय पनि थलिन थालेको इलाम नगरपालिकाका किसान कुमार बस्नेतले बताउनु भयो ।

‘बजार बन्द छ, घरमै आएर पनि कसैले किन्दैन, मासुनै पनि बिक्री गर्ने ठाउँ छैन । दैनिक जसो खसीको मासु खाएर पनि साध्य नहुने ।’ बस्नेतले भन्नुभयो ‘गतवर्षदेखि बाख्रालाई अलि बढी ध्यान दिइयो, तर घाटा हुने स्थिति छ ।’ बस्नेतले १३ वटा बाख्रा पाल्नु भएको छ ।
सूर्योदय नगरपालिका– ५ स्थित समालबुङका कृष्ण आचार्यले पनि गतवर्षदेखि व्यवसायिक ढंगले बाख्रा पाल्दै हुनुहुन्छ । आफ्ना खोरमा रहेका २५ वटा खशीलाई घाँस खोले गर्दै आचार्यको पनि दिन बित्ने गर्छ । तर, आम्दानी भने शुन्य जस्तै छ । ‘दुई–तीन वर्ष अघि राम्रो दाममा खशी बिकेका थिए, त्यही कारण पनि व्यवसायिक ढंगले पाल्नु पर्छ भन्ने सिकाइ भयो र व्यवसायकै रुप दिइयो,’ आचार्य भन्नुहुन्छ ‘गतवर्ष र यो वर्षको बन्दाबन्दीले बाख्रा नबिकेरै समस्या भयो ।’

यता इलाम सोयाङका किसान पनि बाख्रा बिक्री नहुँदा उस्तै समस्यामा छन् । ‘गएको वर्ष बन्दाबन्दीले घरै बस्नुपर्ने भएपछि २२ हजार रुपियाँमा एक जोर पाठा ल्याएका थियौं, अहिले ती पाठा ठूला भएर ब्याए, अब बेचौं भन्दा छ वटा पनि २२ हजार रुपियाँमा बिक्री नहुने अवस्था छ ।’ सोयाङकी सीता सुवेदीले भन्नुभयो ‘पाल्दा पनि घाटा बेच्दा पनि घाटा अब के गर्ने ।’

यी किसानलाई मात्र होइन जिल्लाका अन्य किसानको पनि समस्या उस्तै छ । ‘पोहोर केटाकेटी घरफर्किएपछि उनीहरुलाई भुल्याउन पनि बाख्रा पालियो, अहिले तिनै बाख्रा धेरै भए, कहाँ लगेर बिक्री गर्ने ।’ इलाम नगरपालिका– ८ का सन्तलाल तामाङ भन्नुहुन्छ । ‘गतवर्ष खशीको मासु प्रतिकिलो साढे आठ सय रुपियाँ थियो, अहिले पनि मूल्य त उही हो तर कस्ले किनेर खाने? होटल पनि बन्द छन् ।’

यता प्रदेश १ लाई विस्तारै मासुमा आत्म निर्भर गराएर निकासीको योजनामा रहेको प्रदेश १ का भूमि व्यवस्था तथा कृषि मन्त्री रामबहादुर राना बताउनु हुन्छ । ‘अहिलेको अवस्थामा आम्दानी नहुँदा किसानलाई समस्या परेको स्वभाविक हो, तर स्थिति सामान्य हुँदै जान्छ, खशीबाख्रा निकासीको लागि प्रदेश सरकारले त्यसको व्यवस्थापनमा लाग्ने नीति लिएको छ ।’ मन्त्री रानाले भन्नुभयो ‘दूध, चिया र मासुमा प्रदेश १ लाई आत्मनिर्भर गराउने प्रदेश सरकारको लक्ष्य छ ।’ बन्दाबन्दी सहज भएलगतै निकासी वस्तुहरुको विषयमा प्रदेश सरकार केन्द्रित हुने मन्त्री रानाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार