लकडाउनको समय । विश्वका कयौँ स्थान एकान्तबास बसिरहेको अवस्था । नेपालको इलाम जिल्लाको पहाडी गाउँमा कोरोनासँग टाढा हुन चाहिरहेकी म एक नागरिक । अफिसको काम, हिँडडुल, साथीभाइसँग भेटघाट, साहित्यिक सामाजिक कामको सहभागितालाई थान्को लगाएर घरमा यो संक्रमणकालीन माहौलको सामना गरिरहेछु ।
निक्कै व्यस्त जिन्दगीलाई शारीरिक र मानसिक रूपमा केही राहत प्राप्त भएको छ । घर परिवारलाई समय दिन भ्याएकी छु । मस्तिष्कमा पीडा छ । तर पनि हिम्मत जारी छ । लेख्ने, पढ्ने र घरायसी कामकाजमा खट्ने नित्यकर्म चलिरहेको छ । कहिलेकाहीँ मान्छेलाई कोकोहोलोबाट टाढा रहनुपर्ने रहेछ । यो समयले जीवन जगत्प्रति ध्यान गर्ने मौका उपलब्ध गराएको छ ।
म लेखक, यस्तो परिस्थितिमा दुःख लाग्नु अस्वाभाविक होइन् । तर म यो आपत्को स्थितिलाई सिर्जनामा परिवर्तन गर्न चाहन्छु । घरी कविता लेख्छु । घरी किताब पढ्छु । घरि मैले नेपालीमा अनुवाद गर्दै गरेको अस्ट्रेलियाका अपाङ्गता भएका व्यक्ति निक भुजिसिकको जीवनी पढेर उत्प्रेरित हुन्छु । उनका हात खुट्टाहरू नभए पनि अदम्य आत्मविश्वासको कारण संसारलाई चकित तुल्याएका छन् । कहिले आफूले लेखेका पाण्डुलिपी पल्टाउँछु । आफ्नै कृतिको पनि सङ्ग्रह निकाल्ने तयारी गर्दैछु ।
कहिले गीत सङ्गीत सुनेर चिन्तालाई शान्त पार्ने प्रयास गर्छु । एकान्तमा बसेको बेला मान्छेले किताब नै बढी चाहँदो रहेछ । धन्न मैले किताबहरूको जोहो गरेछु । नत्रभने यो विषम समय कटाउन मुश्किल पर्ने थियो । सम्पूर्ण किताब विर्तामोडले मेरो घरमा लघु पुस्तकालय बनाउन सहयोग गर्यो । जसको निम्ति म एकदम आभारी छु । केही नयाँ किताबहरू लकडाउनको कारण घरसम्म आइपुग्न पाएनन् । प्रिय किताबहरू मेरो मानसिक विपद् व्यवस्थापनका निकट र आत्मीय साथी बनेका छन् ।
प्रकृतिसँग नजिक भएर भलाकुसारी गरिरहेछु । छिरलिएका गुराँस पत्रहरूसँग गुनगुनाउँदै भुइँ सेताम्मे पारेका चाँप कुसुमसँग मनले अन्तर्वार्ता गर्छ । गमलाका फूल स्याहार्न गोडमेल गर्न अनुकूलता मिलेको छ । मलाई पालुवा खुब मन पर्छ । भर्खर टुसाउँदै गरेका मकैका बोट र बिरुवा नियाल्छु । हरियालीको स्वागत गर्न तम्सिएका चियाका मुनासँग अन्ताक्षरी खेल्छु । अचेल मान्छेसँग कम र प्रकृतिसँग बढी हेलमेल बढेको छ । यो समयले प्रकृतिलाई प्रेम गरौँ भन्ने सन्देश दिएको छ ।
कोरोना भाइरसले कुन-कुन देशमा कति जनजीवन प्रभावित भए भन्ने सन्दर्भमा सञ्चारमाध्यममार्फत अपडेट भइरहन्छु । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी यस्तो संकटको घडीमा पनि सक्रियतापूर्वक खटेकोमा सलाम गर्न मन लाग्छ । कोरोनाको संक्रमणले मानिसहरू मरेको सुन्दा नमीठो लाग्छ । हामी पनि घरमै बसेर यो अभियानलाई साथ दिऔँ । कोरोना भाइरसको महामारीबाट नेपाललाई जोगाउने सरकारको कदमलाई सराहनीय बनाउन हाम्रो सहयोग अपरिहार्य छ ।
अझ अगाडि नै वैदेशिक उडान र भारतीय नाका बन्द गरिदिएको भए कोरोना संक्रमित व्यक्ति भित्रिन पाउने थिएनन् । हामीले यो कार्यलाई सरकारको जिम्मेवारी मात्र नसोची आफ्नो पनि उत्तरदायित्व सम्झिएर सहयोग गर्नु मानवीय धर्म हो । हामी एक आपसमा होसियार हुनु नै कोरोना रोकथामका लागि हतियार पाउनु सरह हो । राम्रो उपचार प्रविधि अपनाउनका लागि हामी सचेत नागरिकले सरकारलाई झक्झक्याइरहनु पर्छ ।
अहिलेको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा हुँदैनन् । कोही कता कोही कता । यस्तो बेला तनाव त हुन्छ नै । यो अप्ठयारो परिस्थितिसँग जुध्न हामीसँग धैर्यको आवश्यकता पर्दछ । त्यसैले सबै जनाले भिडभाडबाट टाढा रहेर कोरोनालाई नभेट्नका लागि प्रतिबद्धता जनाऔँ । यस्तो बेला भोजभतेर र अनावश्यक भीड बढाउने कुनै पनि कार्य नगरौँ । जो जो जहाँ छौँ सुरक्षित बस्ने प्रयास गरौँ । हामीले दुई-चार दिन कष्ट सहँदा महामारीको नियन्त्रण हुन्छ भने आफ्नो र अर्काको जीवनको सुरक्षा गरौँ । सहनशक्तिलाई बढाएर कोरोनाविरुद्धको युद्धमा लड्न तत्पर बनौँ । एकान्तबास नै यो महामारीलाई परास्त गर्ने अस्त्र हो ।