मकैमा फौजी कीराको प्रकोप बढ्दै

इलाम । मकै बालीमा फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित भएका छन् । खरभर उम्रदै गरेको र धानचामर आउन थालेको मकैमा कीरा लागेपछि किसान चिन्तित भएका हुन् ।

अहिले इलाम नगरपालिका– ९ र वडा नम्बर १२ मा फौजीको प्रकोप बढी पाइएको कृषि ज्ञानकृन्द्र इलामले जनाएको छ । जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका,रोङ गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा फौजी कीराको प्रकोप बढेको छ । माई नगरपालिका र चुलाचुली गाउँपालिकामा लगाइएको मकैमा ३० प्रतिशत मकै फौजीले नोक्सान पु¥याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै रोङ, माइजोगमाई र देउमाइ नगरपालिकामा पनि लगाइएको मकैको २० प्रतिशत बालीमा फौजी लागेको जनाइएको छ । ‘पहिला पात कागज जस्तो सेतो बनाउने र विस्तारै गुभो तिर खान थाल्ने गर्छ ।’ कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रुजन खड्काले भने ‘एक–दुई बोटमै किरा देखिन थाल्दै नियन्त्रणको उपाया अपनाउनु पर्छ । नत्र नियन्त्रण गर्न निकै कठिनाइ छ ।’

यता फौजीको प्रकोप बढेपछि जिल्ला स्थित ज्ञान केन्द्रमा दिनहुँ किसानले फोन गरेर उपचारको उपाया खोज्ने गरेका छन् । ज्ञानकेन्द्रले पनि किसानहरुलाई जैविक तरिकाले कीरा मार्न सुझाएको छ । नीमको झोल प्रयोग गर्न, नेपियर घाँस रहेको स्थानमा मकै लगाउनु सबैभन्दा उत्तम रहेको खड्काले बताए । ‘मकैलगाउन अघि गहिरो गरि बारी खनजोत गर्दा त्यहाँ रहेका कीराका लार्भा नस्ट हुन सहयोग पुग्छ ।’ खड्काले भने ‘अहिले प्रकोप बढी सकेको छ, हामीले स्थानीय पालिका मार्फत किसानलाई कीरा नियन्त्रण गर्न औषधी पनि पठाइ सकेका छौं ।’ केन्द्रले राखेको आफ्नो आकस्मिक कोषबाट औषधी खरिद गरेर किसान सम्म पुग्ने गरि पठाएको खड्काले जानकारी दिए ।

अन्य स्थानहरुमा पनि दशदिन यता कीराको प्रकोप धेरै बढेको छ । ‘मकैको गुबोनै खाइसक्यो भने नियन्त्रण गर्न गाहे हुन्छ,’ उनले भने ‘खैरो रंङको पुतलीले कीरा सार्ने गरेको छ । त्यस्तो पुतली बसेपछि लार्भा छोड्छ, पछि त्यो कीराको रुपमा विकास भएको पाइन्छ ।’ फौजीले रातको समयमा मकै खाने भएकाले दिउसो चार बजेपछिमात्र औषधी छिट्नु उचित हुने खड्काको भनाइ छ । इलाममा ३१ हजार ३९६ हेक्टरमा मकै खेती हुने गरेको छ । गतवर्ष जिल्लामा ९१ हजार ४८ मेट्रिकटन कमै उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याकंमा उल्लेख छ । केन्द्रले गतवर्ष फौजी कीराबाट नोक्सान व्यहोरेका किसानलाई करिब २६ लाख रुपियाँ राहत वितरण गरेको थियो ।

हावाहुरीबाट एक करोड बढीको मकै क्षति

गत वैशाखमा आएको हावाहुरीबाट इलाममा एक करोड रुपियाँ बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रले संकलन गरेको तथ्याकं अनुसार जिल्लामा एक करोड ४३ लाख ५६ हजार ५४० रुपियाँ मुल्य बराबरको मकैमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

एक हजार २०८ घर परिवारले लगाएको मकैमा हावा हुरीले क्षति पु¥याएको र जिल्ला प्रशासनमा राहतका लागि सिफारिस गरिएको केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले बताए । ‘जिल्ला प्रशासनले प्रमाणित गरिसकेको छ, हामीले संघीय मन्त्रालय र प्रदेश मन्त्रालयमा पनि किसानलाई रातह प्रदान गर्न सिफारिस पठाएका छौं ।’ खड्काले भने ‘माथिबाट केही आएको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार