भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

  आवाज संवाददाता

काठमाडौं । महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ ।

नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न मंगलबार परराष्ट्रलाई पत्र पठाएको हो ।

पत्रमा दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाई समेत दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न भनिएको छ ।

दार्चुला–टिंकर सडकखण्डको उक्त बाटो खन्ने जिम्मा सरकारले नेपाली सेनालाई दिइसकेको छ । कल्जुको बाटो भत्किएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढ जिल्लाधिकारीलाई पठाएको पत्रको समेत जवाफ नआएको उल्लेख छ । यही जेठ २५ गते पिथौरागढ पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार–शान्तिवन क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा भारतीय पक्षले चट्टान फोर्न बम विस्फोट गराउँदा पहरो खसेर महाकालीवारि नेपालतर्फको १ सय ५० मिटर गोरेटो बाटो भत्किएको थियो ।

विस्फोटबाट महाकालीमा चट्टान खस्दा नदीको धार नेपालतर्फ सोझिएको छ । गृहले परराष्ट्रमा पठाएको पत्रमा भत्किएको नेपालतर्फको बाटो खुलाउन तथा नदीमा खसेको चट्टान भारतीयबाटै हटाउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै पत्रमा दार्चुलाको व्यास–१, छाङरुनजिकै नेपाल–भारत आउजाउ गर्ने सीतापुल ९काठेपुल० को संरक्षणमा भारतीयबाट भइरहेको व्यवधान हटाउनका लागि पहल गर्न भनेको छ ।

‘भारतको पिथौरागढ जिल्ला पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार र शान्तिवनको बीचमा सडक विस्तार गर्ने क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फको दार्चुला जिल्ला व्यास गाउँपालिका–२ कल्जुभीर भन्ने स्थानमा महाकाली नदी थुनिन गई छाङरु र टिंकर जाने गोरेटो बाटो करिब १ सय ५० मिटर पूर्ण रूपमा क्षति भई आवतजावत अवरुद्ध छ,’ पत्रमा भनिएको छ, ‘सोही गाउँपालिकाको वडा १ छाङरुस्थित सीतापुलसमेत जोखिममा परेकाले संरक्षण गर्ने सन्दर्भमा दार्चुलाबाट पिथौराढ जिल्लाधिकारीलाई पत्राचार भएकामा हालसम्म कुनै जवाफ प्राप्त भएको छैन ।’

गृहमन्त्री खगराज अधिकारीले मंगलबार सञ्चारकर्मीसँग भारतीयका कारण कल्जु क्षेत्रमा १ सय ५० मिटर बाटो भत्किएको र महाकालीको बाढीबाट करिब २ सय मिटर नेपाली भूभाग भारततर्फ पर्न गएको भन्दै जमिन फिर्ता र बाटो खुलाउन पहल भइरहेको बताएका थिए । ‘हाम्रो जमिन फिर्ता ल्याउनैपर्छ, यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने । गृहले परराष्ट्रमा पठाएको पत्रमा भने नेपाली भूभाग भारततर्फ परेको विषय उल्लेख छैन । कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार