जर्मनीमाथि फ्रान्सको जित

  आवाज संवाददाता

एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।

खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको विश्वस्तरीय पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए । हमल्स युरोमा जर्मनीका लागि आत्मघाती गोल गर्ने पहिलो खेलाडी समेत बने ।

अर्कोतर्फ जर्मनीले २ मिनेट नबित्दै स्कोर बराबर गर्ने अवसर गुमायो । रोबिन गोसेन्सको क्रसमा थोमस मुलरको प्रहारले पोस्टको दिशा लिन सकेन । २७ औं मिनेटमा टोनी क्रुसको प्रहारले गोलरक्षक ह्युगो लोरिसलाई कुनै समस्या दिएन । ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्ने अवसर चुकाउँदा फ्रान्सको अग्रता कायम रहयो ।

५२ औं मिनेटमा फ्रान्सको अग्रता दोब्बर पार्ने अवसरमा पोस्ट बाधक बन्न पुग्यो । एमबाप्पेको चलाखीपूर्ण थ्रु पासलाई अघि बढाएका एड्रीएन राबीओटले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो । ५३ औं मिनेटमा जर्मनी खेल बराबर गर्न नजिक पुगेको थियो । गोसेन्सको क्रसमा सर्ज गनाब्रीको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

६६ औं मिनेटमा एमबाप्पेले पोग्बाको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेपनि असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोलले मान्यता पाएन । ७९ औं मिनेटमा एम्बापपे आक्रमणमा वन भर्सेस वनको स्थितिमा रहेपनि हमल्सले सानदार ट्याकल गर्दै अग्रता दोब्बर पार्न दिएनन् ।

८५ औं मिनेटमा किलीयन एम्बापपेको क्रसमा करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० ले गोललाई मान्यता दिएन । ८८ औं मिनेटमा लेरोए सानेको फ्रिकिक बाहिरिंदा जर्मनीले खेल बराबर गर्ने सुवर्ण अवसर गुमायो ।

यस जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको समान ३ अंक भएपनि गोलअन्तरमा पोर्चुगल अघि छ । अंकविहिन जर्मनी र हंगेरी क्रमशस् पुछारको दुई स्थानमा छन् ।

त्यसअघि खेलको अन्तिम समयमा लगातार तीन गोल गरेपछि पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गर्यो । ग्रुप अफ डेथ मानिएको समूह एफको पहिलो खेलमा पोर्चुगल ३-० ले विजयी भयो ।

खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्र भित्र बाट सहज अवसरलाई पोस्टभन्दा माथिबाट प्रहार गरेका थिए । त्यसअघि ३० औं मिनेटमा रोनाल्डोकै हेडरले पोस्टको दिशा लिन नसक्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो ।

पहिलो हाफमा निरन्तर आक्रमण बुनेपनि पोर्चुगलले गोल गर्न सकेको थिएन । दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो । ८० औं मिनेटमा जाबोलाक्स सोनले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले उक्त मुभलाई अफसाइड दिएपछि पोर्चुगल जोगिएको थियो ।

खेलको ८४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि राफा सिल्भाको क्रस डिफेन्डरलाई लाग्दै गुरेरोको स्थानसम्म आइपुगेको थियो ।

अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको अवसर पायो । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गराउँदै प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३-० को अग्रता दिलाए । राफा सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र संयमित रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै फिनिस गरेका थिए । युरोको ५ संस्करणमा खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले खेलको पहिलो हाफमा अवसर सदुपयोग नगरेपनि अन्त्यमा भने नतिजालाई न्याय दिए । हाम्राे खेलकुद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार