रसियाको पहिलो जित

  आवाज संवाददाता

एजेन्सी । घरेलु टोली रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । बुधबार भएको पहिलो खेलमा रसियाले फिनल्यान्डमाथि १–० को झिनो जित निकालेको हो ।

रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । च्याम्पियनसिपमा पहिलो हार बेहारेको फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलको चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रसमा पोहानपालोले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्नुअघि उनी अफसाइड देखिए ।

१०औं मिनेटमा घरेलु टोली रसियाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । डलेर कुजाएभले ओभरल्यापमा जाँदै एलेक्सी मिरानचुकलाई दिएको पासमा उनले अनमार्क रहेका ओजडाइभ पास दिदा उनको प्रहार पोस्टबाट आकासिएको थियो । १४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा पोहानपालोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई इगर डिभिभले स्लाइडिङ ट्याकल गर्दै बललाई क्लियर गर्दै रसियाको खतरा टारे । ३१औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा गोलोभिनकै लो क्रस पासलाई भ्यालेस्लाभ काराभाइव पुग्नुअघि नै जेरी युरोनले क्लियर गरिदिदा रसियाले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इटालियन क्लब एटलान्टाका एलेक्सी मिरानचुकले गोल गर्दै रसियालाई १–० को अग्रता दिलाए । कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् । उनले २०१९ नोभेम्बरपछि रसियाका लागि पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफको सुरुमै फिनल्यान्ड बराबरीबाट चुक्यो । रोविन लोडको पासमा टिमु पुकीले गरेको प्रहारलाई डिभिवले ट्याकल गर्दै बचाए । ५४औं मिनेटमा टिमु पुकीको प्रहारलाई गोलरक्षक साफोनोभले सहजै बचाए । ६६औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९औं मिनेटमा पुकीले अर्को अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

७२औं मिनेटमा अर्टिम ज्युवाको प्रहारलाई गोलरक्षक ह्रादेच्कीले सुन्दर बचाउ गर्दा रसिया अग्रता दोब्बर पार्नबाट बन्चित भयो । इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जिय बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् । हाम्राे खेलकुदबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार