इटाली युरो कपको अन्तिम १६ मा

  आवाज संवाददाता

एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३-० को जित दर्ता गरेको हो ।

खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । लोकाटेली आफैंले मिडफिल्डबाट लामो पास निकाल्दै सासुओलोबाट सँगै खेल्दै आएका बेरार्डीलाई बायाँ विंगमा कुदाएका थिए । बेरार्डीले विंगमा मुभ सिर्जना गर्दा मिडफिल्डबाट लगातार कुद्दै पेनाल्टी क्षेत्रभित्र पुगेका लोकाटेलीले सहजै गोल गरेका थिए ।

त्यसअघि इटालीले कप्तान जिओर्जियो किएलिनीको गोलमा अग्रता लिएको सोच्दै खुसियाली मनाएपनि भीएआरले गोललाई मान्यता दिएको थिएन । लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएपनि उक्त बल नियन्त्रण गर्नेक्रममा उनको हातको सहारा लिएको रिप्लेमा प्रष्ट देखिएको थियो ।

दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले कुनै प्रतिक्रिया नै दिन सकेनन् । लोकाटेलीले आफ्नो व्यावसायिक करिअरमा एकै खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो ।

६४ औं मिनेटमा गोलरक्षक जियानलुइजी डोनारुम्माले स्टिभन जुबरको प्रहारलाई विफल पार्दै इटालीको अग्रता कम हुन दिएनन् । लगत्तै अर्कोतर्फ काउन्टर अट्याकमा बेरार्डीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

७५ औं मिनेटमा चिरो इम्मोबिलेले फेडेरिको किएजाको पासलाई नियन्त्रणमा लिँदै अफसाइड ट्रयाप बिट गरेपनि उनको प्रहारले पोस्टको दिशा लिएन । उनले त्यसको दुई मिनेटअघि पनि त्यस्तै अवसर खेर फालेका थिए । ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३(० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो ।

इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो । यस जितसँगै इटालीको अपराजित यात्रा पनि २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोल समेत खाएको छैन ।

यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ । वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । त्यस्तै स्विट्जरल्यान्डले अंकविहिन रहेको टर्कीसँग खेल्नेछ ।

त्यसअघि समूह ए कै खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो । खेलको सुरुवाती हाफमा दुई अवसर गुमाएपछि राम्सीले ४२ औं मिनेटमा गोल गरेका थिए । उनले ग्यारेथ बेलको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै फिनिस गरेका थिए । त्यसअघि उनले २४ औं मिनेटमा बेलकै पासमा गरेको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पनि पोस्टको दिशा लिन सकेको थिएन ।

दोस्रो हाफमा टर्कीले दुई परिवर्तन गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । दुई मिनेट नबित्दै चेंगिज उन्दरको प्रहार थोरैले बाहिरियो । ५० औं मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाएपछि टर्की खेल बराबर गर्नबाट बन्चित भएको थियो ।

६० औं मिनेटमा वेल्सले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । जेकी चेलीकले पेनाल्टी क्षेत्रभित्र बेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर बेलको प्रहार पोस्टभन्दा निकै माथि गएपछि स्कोर १-० नै कायम रहयो ।

टर्कीले त्यसपछि लगातार आक्रमण गरेपनि गोलरक्षक वार्डले लगातार बचाउ गर्दै टर्कीलाई खेलमा फर्कन दिएनन् । इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे । उनले बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाड भएको अवस्थामा गोल गरेका थिए ।

यस जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ । यस समूहमा इटालीको ३ र स्विट्जरल्यान्डको १ अंक छ । यी दुई टोली केहीबेरमा नै खेल्नेछन् ।

त्यसअघि रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्ने क्रममा फिनल्यान्डमाथि १–० को झिनो जित निकालेको थियो । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । च्याम्पियनसिपमा पहिलो हार बेहारेको फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलको चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रसमा पोहानपालोले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्नुअघि उनी अफसाइड देखिए ।

१०औं मिनेटमा घरेलु टोली रसियाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । डलेर कुजाएभले ओभरल्यापमा जाँदै एलेक्सी मिरानचुकलाई दिएको पासमा उनले अनमार्क रहेका ओजडाइभ पास दिदा उनको प्रहार पोस्टबाट आकासिएको थियो । १४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा पोहानपालोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई इगर डिभिभले स्लाइडिङ ट्याकल गर्दै बललाई क्लियर गर्दै रसियाको खतरा टारे । ३१औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा गोलोभिनकै लो क्रस पासलाई भ्यालेस्लाभ काराभाइव पुग्नुअघि नै जेरी युरोनले क्लियर गरिदिदा रसियाले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इटालियन क्लब एटलान्टाका एलेक्सी मिरानचुकले गोल गर्दै रसियालाई १–० को अग्रता दिलाए । कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् । उनले २०१९ नोभेम्बरपछि रसियाका लागि पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफको सुरुमै फिनल्यान्ड बराबरीबाट चुक्यो । रोविन लोडको पासमा टिमु पुकीले गरेको प्रहारलाई डिभिवले ट्याकल गर्दै बचाए । ५४औं मिनेटमा टिमु पुकीको प्रहारलाई गोलरक्षक साफोनोभले सहजै बचाए । ६६औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९औं मिनेटमा पुकीले अर्को अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

७२औं मिनेटमा अर्टिम ज्युवाको प्रहारलाई गोलरक्षक ह्रादेच्कीले सुन्दर बचाउ गर्दा रसिया अग्रता दोब्बर पार्नबाट बन्चित भयो । इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जिय बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् । हाम्राे खेलकुद डटकमबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार