इलाम देउमाईकी सेजलकाे बलात्कारपछि हत्या भएकाे आशंकामा एक युवा पक्राउ

  आवाज संवाददाता

इलाम । झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाँटीको भित्री भागमा चोट देखिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाँटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको घाँटी र चिउँडो मुनि चोटपटक देखिएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो । बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले दमक रातोपुल बस्ने २८ वर्षीय अरुण राईलाई पक्राउ गरेको छ । राईलाई अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

सेजलको रहस्यमय ढङ्गबाट हत्या भएको भन्दै असार १ गते उनका बुवाले किटानी जाहेरी दिएका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र किटानी जाहेरी आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा राईलाई मङ्गलबार पक्राउ गरेको थियो ।

देउमाई-४ इलाम निवासी १९ वर्षीया सेजल दमक ५ का चन्द्रबहादुर गुरुङको घरको दोस्रो तलामा डेरा गरि लाइफलाइन अस्पतालमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनलाई आफू बस्ने डेराको शौचालयमा जेठ २६ गते साँझ साडे ६ बजे बेहोश अवस्थामा अरुण र निजका साथीहरुले फेला पारी अस्पताल लगेकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार