हामी सबैलाई थाहा नै छ नेपाललाई मात्र नभएर पूरै विश्वलाई नै कोरोना महामारीले निकै असर पु¥याएको छ । यस महामारीले सम्पूर्ण कार्यहरू सञ्चालन हुन दिएको छैन।जनजीवन कष्टकर हुन पुगेको छ । व्यापार÷व्यवसाय ठप्प छन् । यातायातका साधनहरू कम्ती मात्रामा मात्र चलेका छन् ।
सामाजिक दूरी कायम गरेर मात्र हिँडडुल सम्भव भएको छ । अतिआवश्यक काम बाहेक अन्य कामहरूमा मानिस बजार निस्केका छैनन । कर कार्यालयहरू केही समयको लागि मात्र खुल्ने गरेको छ । खाद्यान्नका पसलबाहेक अन्य पसालहरुलाई बन्द राख्ने निर्णय गरिएको छ ।
महामारीले कयौं मानिसको ज्यानसमेत लगिसकेकोले हामीलाई ढोका बन्द गरेर घरभित्रै बस्न बाध्य बनाएको छ । मानव जातिलाई ठूलो दशा संकट लागेको हामीले अनुभव गरिसकेका छौ । यो कुरालाई थप पुष्टि गर्न नेपालमा प्राकृतिक प्रकोप पनि आएको छ । यस्तो गाह्रो अवस्थामा कोरोना नै धेर भएको थियो त्यहीँमाथि प्राकृतिक प्रकोपले झनै समस्यालाई बढाएको छ ।
अब प्रसङ्ग जोडौं प्राकृतिक विपद्को । सर्वप्रथम त म सिन्धुपाल्चोकतर्फ जान चाएँ । मेरो विचारमा सिन्धुपाल्चोक नेपालकै अभागी जिल्ला बन्न पुगेको छ । कारण आजको अवस्था मात्र हैन । आजभन्दा केही वर्ष अगाडिदेखि नै विभिन्न समस्याको बज्रपात सिन्धुपाल्चोकले भोग्नु परेको छ ।
प्रकोपका अनेक रूपहरुले यस ठाउँलाई दिनदिनै रुवाउने गरेको छ । केही वर्षअघि मात्र आएको भूकम्पले समेत केन्द्रविन्दु बनाएर त्यहाँ निकै उपद्रो मच्चाएको थियो । जनधनको कति क्षति भयो भनेर हिसाब किताब छैन । प्राकृतिक रूपले पनि त्यो ठाउँ निकै कमजोर पो छ कि ? भन्ने प्रश्न अहिले मेरो मनमा उठेको छ । बर्षेनी बाढी र पहिरोको सिकारमा सिन्धुपाल्चोक किन पर्छ त ? यस्ता कारणहरूले गर्दा त्यो ठाउँ नेपालकै अभागी ठाउँ बन्न पुगेको छ ।
अहिलेको अवस्थालाई पनि बुझ्ने हो भने सिन्धुपाल्चोकले धेरै चोट सहेको हामीले देख्दै आएका छौँ । फेसबुक, टेलिभिजन, रेडियो र अन्य सञ्चारकामाध्यममा त्यहाँका मानिसको विचल्ली हामी देख्न सक्छौ ।
वर्षाको सुरुवात मात्र के हुँदै थियो सिन्धुपाल्चोकले धेरै क्षति बेहोरी सक्यो । यो ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निरन्तर रूपमा खटेर त्यहाँका बाढी तथा पहिरोका पीडितलाई उद्दार गरिरहेका छन् । सिंगो खोला नै उत्रिएर सो ठाउँलाई तहसनहस बनाएको हामीले देख्न सक्छौ ।
ठूलाठूला घर ,पशुपन्छीको गुँड, गोठ पहिरोले पुरेको वा खोलाको सोरेर लागेको देख्दा हामी सबैलाई चिन्तित बनाएको छ । स–साना असहाय र असक्षम बालबालिकालाई आँखै अघि बगाएर मृत्युको मुखमा हालेको देख्दा कसको मन रोएको छैन होला र ?
वर्षा समयको सुरुआत भनेको हामीले अन्न फलाउने, जोडजाम गर्ने समय भएकाले एक वरदान हो तर यही समयमा अत्याधिक वर्षादको कारण बाढी र पहिरोको कारण सिन्धुपाल्चोक जस्ता अन्य विभिन्न ठाउँहरूमा अभिसाब बन्न गएको छ । पहिरोपीडितको जंगलमा बास भएको छ । पाउनु नपाउने कष्ट सहन बाध्य भएका छन् । धन सम्पती सकिएनी ज्यान बचाउन सफल हुन सो ठाउँका मानिसहरूलाई धौधौ परेको छ । यस्तो अवस्थाको सुरुवात सिन्धुपाल्चोकले देखाई सकेको छ ।
अब सम्पूर्ण भूभागहरूमा यस्तो खतराको संकेत भएको पाइन्छ । त्यसकारण लेक, पहाड होस् या तराई सबै ठाउँमा बसोबास गर्ने हामी सबैले सतर्कता अपनाउनु पर्छ । सरकारबाट सहयोग लिन सकेपनि केही समय लाग्ने भएकाले हामी आफै घर गाँउ, छरछिमेकी मिलेर आफ्नो ज्यान सुरक्षित राख्न अघि बढ्नु पर्छ । यस महामारीको बीचको प्राकृतिक प्रकोपलाई हामी उच्च मनोबलका साथ हातमा हात मिलाएर यसबाट बच्न सफल हौं ।