एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
खेलको ११ औं मिनेटमा जोन स्टोन्सको हेडरमा क्रसबार बाधक बन्दा इंग्ल्यान्डले अग्रता लिन सकेन । मेसन माउन्टको कर्नरमा ६ यार्ड बक्स भित्रबाट फ्री हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो । लगत्तै माउन्टको प्रहारले गोलको दिशा लिन सकेन ।
३० औं मिनेटमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । स्कट ओ’डनलले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारलाई पिकफर्डले दायाँतर्फ डाइभ दिँदै बचाएका थिए । त्यसै रिबाउन्डमा चे एडम्सले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन् ।
खेलको ६२ औं मिनेटमा इंग्ल्यान्डका डिफेन्डर रीस जेम्सले गोललाइनबाट बल क्लियर गर्दै खेल गोलरहित नै कायम राखे । पेनाल्टी क्षेत्र भित्रबाट लिन्डन डाइक्सको हाफ भलीलाई गोलरक्षक पिकफर्डले विफल पारेपनि गोल हुन लागेको रिबाउन्डलाई जेम्सले हेडर क्लियर गर्दै जोगाएका थिए ।
यस बराबरीसँगै चेक रिपब्लिक नै समूहको शीर्ष स्थानमा कायम रहयो । चेक र इंग्ल्यान्डको समान ४-४ अंक छ भने क्रोएसिया र स्कटल्यान्ड १-१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।
त्यसअघि समूह डी कै खेलमा क्रोएसिया र चेक रिपब्लिकले पनि बराबरी खेलेका थिए । ग्लास्गोस्थित हाम्पडेन पार्कमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।
१८ औं मिनेटमा प्याट्रिक सिकले सहज अवसरको सदुपयोग गर्न नसक्दा चेकले अग्रता लिनबाट चुक्यो । भ्लादिमिर सौफालको लो क्रसमा ६ यार्ड बक्सभित्रबाट सिकले ६ यार्ड बक्स भित्रबाट बायाँ खुट्टाले गरेको प्रहार फितलो हुँदा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै बचाए । त्यसअघि चौथो मिनेटमा टोमस सुचेकको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।
२३ औं मिनेटमा छोटो कर्नरपछि कप्तान लुका मोड्रीचले दिएको पासमा इभान पेरिसिचको प्रहार सिधै गोलरक्षक टोमस भाच्लिकको हातमा पुगेको थियो । ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । सिकले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै प्रतियोगितामा व्यक्तिगत तेस्रो गोल गरेका थिए ।
लगत्तै अर्को तर्फ क्रोएसियाका आन्टे रेबिचल खेल बराबर गर्ने सुवर्ण अवसर खेर फाले । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिरबाट गएको थियो । अन्तिम मिनेटमा आन्द्रे क्रामारीचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा नपुग्दा चेकले पहिलो हाफमा १-० को अग्रता बनायो ।
दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट फार पोस्टतर्फ गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । छोटो फ्रिकिकमा छरितो मुभ बनाएको क्रोएसियाका लागि क्रामारीचको पासमा पेरिसिचले गोल गरेका थिए ।
६१ औं मिनेटमा सिकको हेडर पोस्टभन्दा माथिबाट गएको थियो । ७२ औं मिनेटमा वैकल्पिक खलाडी निकोला भ्लासिचले भार्दिओलको क्रसलाई ऊस्त्को दिशा दिन नसक्दा क्रोएसियाले अवसर सदुपयोग गर्न सकेन । त्यसको केहीबेरमा नै एडम ह्लोजेकको प्रहार क्रसबार भन्दा थोरै माथिबाट जाँदा चेकले अग्रता लिन सकेन ।
८८ औं मिनेटमा ब्रुनो पेत्कोभिचले क्रोएसियालाई अग्रता दिलाउन सकेनन् । पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको प्रहार चेकका डिफेन्डर टोमस कालासले छेक्दै कर्नर बनाएका थिए ।
त्यसअघि स्वीडेनले पहिलो जित दर्ता गर्ने क्रममा स्लोभाकियालाई पराजित गरेको थियो । स्लोभाकियामाथि १–० को झिनो जित निकाल्दै स्वीडेन समूह इ को शीर्षस्थानमा पुगेको हो ।
सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा इमिल फोर्सबर्गले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । रबिन क्वेसनलाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षक मार्टिन डुब्राभ्काले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
त्यसअघि खेलको तेस्रो मिनेटमा नै कप्तान मरेक हाम्सिकको कर्नरमा जुराज कुकाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा स्लोभाकिया अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा सेवास्टिन लार्सनको पासमा मिकाईल लस्टिगको प्रहार बाहिरिदा स्वीडेन अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा ओन्ड्रेज डुडाको पासमा मरेक हाम्सिकको २० यार्ड टाढाको प्रहार बाहिरियो ।
दोस्रो हाफको शुरुमै स्वीडेना एलेक्सान्डर इसाकले सुवर्ण अवसर पाएपनि उनले नभेट्दै मिलान स्क्रिनिएरले खतरा टारे । ५०औं मिनेटमा डुडाको प्रहारले पोस्टको गति लिन सकेन । ५८औं मिनेटमा जुराज कुकाको फ्रिकिकमा हाम्सिकले गरेको हेडरलाई पञ्च गर्दै बचाएपनि उनी अफसाइड ठहरिएका थिए ।
लगत्तै ५९औं मिनेटमा सेवास्टिन लार्सनको क्रसमा लुडविग अगस्टिन्सनको हेडरलाई गोलरक्षक मार्टिन डुभ्रावकाले डाइड दिदै एक हातले उत्कृष्ट पञ्च गर्दै खेललाई बराबरीमै राखे । ६०औं मिनेटमा लार्सनकै पासमा मार्कुस ड्यानिल्सनले अवसर पाएपनि सदुपयोग हुन सकेन । ६१औं मिनेटमा इमिल फोर्सवर्ग र इसाकको समन्वयमा बनेको मुभलाई स्क्रिनिएरले विफल पारे ।
६७औं मिनेटमा इसाकले अर्को अवसरलाई सदुपयोग गर्न नसक्दा स्वीडेनले अग्रता लिन सकेन । ७१औं मिनेटमा इसाकले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक मार्टिन डुभ्रावकाले सहजै नियन्त्रणमा लिए । ७७औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।
इसाकको फ्लिक पासमा रोविन क्वाइसनलाई पेनाल्टी बक्समा मार्टिन डुभ्रावकाले फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गरेका थिए। गोलरक्षक मार्टिन डुभ्रावकाले सही दिशामा डाइभ दिएपनि फोर्सवर्गले गोल गर्न सफल भए ।
समूह चरणमा स्वीडेनको यो पहिलो जित हो स्वीडेनले यसअघि स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । स्लोभाकियाको यो पहिलो हार हो । यसअघि स्लोभाकियाले पोल्यान्डलाई १–० ले स्तब्ध पारेको थियो ।
यो जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लँदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । एक खेल खेलेको स्पेन १ अंकसहित तेस्रो स्थानमा अंकविहीन पोल्यान्ड पुछारमा छ । शनिबार स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । हाम्राे खेलकुद डटकमबाट ।