चुरेकाे विनाश हाेइन संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

  आवाज संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चुरे संरक्षणमा प्रदेश र केन्द्र सरकार स्पष्ट रहेको चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका छन् ।

ढुंगा गिटी निकासी गर्ने संघीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले यसको बचाउ गर्दै भने, ‘चुरे संरक्षणमा प्रदेश सरकारको स्पष्ट धारणा छ, चुरेलाई संरक्षण गर्नुपर्छ, विनाश गर्नु हुन्न ।’

ढुंगा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने उनको भनाई छ । ढुङ्गा गिटी निकासी गर्नु उपयुक्त भए पनि चुरे संरक्षणको विषयमा प्रदेश सरकार स्पष्ट रहेको उनले बताए । ‘हामीसँग धेरै प्राकृतिक स्रोतहरु छन् चुरेबाहेकका ठाउँमा, त्यहाँका सामग्री निकाल्न सकिन्छ,’ उनले भने, ‘हामीलाई चाहिएको भन्दा बढी सामग्री निकासी गर्न पनि सकिन्छ होला ।’

चुरेभन्दा बाहेकका खानीहरुलाई समृद्धिको यात्रामा जोड्नुपर्ने उनको भनाई छ । संरक्षणमा नाममा विरोधका लागि विरोध मात्रै भएको भन्दै उनले भने, ‘उदाहरणका लागि उदयपुर सिमेन्ट कारखाना अन्तर्गत एउटा चुनढुङ्गा खानी । त्यसको उपयोग अहिलेकै रफ्तारमा गर्दै जाने हो भने चार सय वर्षमा पनि सकिंदैन, हामीले चार सय वर्ष कुर्ने कि अहिले हाम्रो समृद्धिमा त्यसलाई जोड्ने ?,’

खानी उत्खनन् र निकासी गर्दा चुरे क्षेत्रको संरक्षणमा भने ध्यान दिनुपर्ने उनको तर्क छ । ‘अहिलेको मुख्य मुद्दा चुरे क्षेत्रको संरक्षणको कुरा हो । त्यसमा नेपाल सरकारले धारणा ल्याइसक्यो ।’ उनले भने, ‘चुरेको संरक्षण गर्नैपर्छ तर त्यसभन्दा बाहेक पनि त प्राकृतिक स्रोतको अथाह खानी छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार