परिचय

  टिका न्यौपाने

“फेरि कहाँ डुलेर आइस्?” मैले झर्किदेै सोधेँ । “मलाई नै नसोधी तँ सुटुक्क डुलेर आउने‘‘‘‘?”
“मलाई डुल्न नदिइ तँलाइ सुखै छैन ।” उसले भन्यो । “आखिर तँलाई बाँच्न सिकाउने म नै हो क्यारे ।”
गिज्याइएको पारामा दिइएको यो जवाफ मैले सहनै सकिन र भने “तँलाईबनाएको मैले हो । तर‘ तर तँ मलाई नै तेरो अधिनमा पार्न खोज्छस्?”
“मैले तँलाइ आफ्नो अधिनमा पारेको होइन । तँ आफैँ मेरो अधिनमा परको होस् । म स्वतन्त्र छु तर तँ मेरो कठपुतली होस् । सधैँ मेरो पछिपछि लाग्ने । मैले जे भन्ंयो त्यहि गर्ने ।” उसका यिनै बलिया तर्कहरुले मलाइ अझै बाझ्न उत्साहित गरिरह्यो ।
म थर्किएँ “ई हेर् मेरा हात खुट्टा । मेरो शरीरका अंङ्ग प्रत्यंग । जसको स्वरूप संसारले देखेको छ । दुनियाँ मलाई हेर्छ अनि तारिफ गर्छ । बुझिस् ? म भित्र बल शक्ति अनि ताकत छ ।दुनियाँलाई पछार्न सक्ने ताकत ।”
म अलिक बढिनै घमण्डी भएको शायद बुझेछ क्यारे । जवाफ दियो “मान्छु तँ सँग स्वरुप छ , जे गर्न सक्छस् होला । तर तेरो गति सीमित छ मेरो असीमित । तँ पाइला चाल्दै जमिनमा हिँड्छस् । म वायुयानझैँ हावामा वेग मार्छु । म जहाँ पनि पुग्छु र छिट्टै फर्किन्छु ।”
उसको र मेरो घम्साघम्सी चलिरहेको थियो, ऊ फेरि गायब भयो । उसको यो वेगलाई रोक्न सक्ने ताकत म सँग एक रति पनि थिएन ।

     एकपल्ट उसले मलाई भनेको थियो, “तैले मलाई डुल्न नदिएर हुन्न । मैले मेरा लागि मात्र डुलेको हैन तेरा लागि पनि डुलेको हुँ । मेरो अनुभव र महशुसले तँ बाँचेको छस् । जुन कुरा तैँले थाहा पाएर पनि नपाएजस्तो गर्छस् । त्यसैले म छु र पो तँ छस् । तेरो अस्तित्व एक सजिव मूर्ति जस्तो छ जसको स्वरूप समयले फेर्दछ । तँलाई बाँकी अस्तित्व मैले दिएको छु, मैले नै सिकाएको छु ।
म सँग पनि अनेक प्रत्युत्तर हुन्थे, तर म हार्थे ।म कमजोर थिएँ, ऊ म भन्दा लाखौँ गुना बलवान । म दुनियाँ थर्काउन सक्थेँ तर ऊ कहिल्यै डगमगाएन । साँच्चिकै भत्रुपर्दा जित उसैको थियो ।

    अब त अति नै भइसकेको थियो । म सँग लुकामारी गरेर उसले जोरी नै खोजिरहेको जस्तो लाग्न थालेको थियो । म घोरिएर सोचमग्न भएँ । आखिर मैले नै चित्र नसकेर यस्तो खटपट बढेको हो कि !
ऊ फेरि आयो । यसपटक त धेरै ठाँउ डुलेर आएछ । “तँलाई यत्तिका ठाँउ डुलेर आउने अधिकार कसले दियो ?” म कड्किएँ ।
“अधिकार ?अधिकार त्यस्तालाई चाहिन्छ जसको भौतिक अस्तीत्व छ । म अभौतिक छु सुक्ष्म छु । त्यसैले यो अधिकार भत्रे शब्द मेरा लागि बनेको होइन । शायद तिमीहरुजस्ताका लागि बनाइएको होला । यो कुरा तँलाइ थाहा छैन किनकि तैँले आफैँलाइ अनि मलाइ चिनेकै छैनस् ।” उसले पनि कडा जवाफ दियो ।
उसको यो तर्क मैले बुझ्न सकिन । मेरो टाउको रिङ्गियो र सोधेँ “उसो भए तँ को होस् त?”
“पहिले आफैलाई चिन् ।” उसले सम्झायो । “किनकि तेरो सम्पूर्ण अस्तीत्व म सँग जोडिन्छ । तँ भित्रको परिचयमा मात्र मेरो परिचय तैँले बुझ्न सक्छस् ।”
मलाई लाग्यो कतै यसले मलाई भ्रमित त बनाइरहेको छैन ! जसरी भएपनि भ्रम निवारण गर्नु जरुरी थियो र सोधेँ, “उसो भए मेरो अनि तेरो परिचय दे ।” म गलिसकेको थिएँ ।
“तँ शरीर होस् । तर‘।।तर म तेरो मन हुँ ।” उसको यो उत्तरले म नाजवाफ भएँ ।
समाप्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार