बन्दाबन्दीमा पर्यटकीयस्थलहरुको काम गरिँदै

 पर्यटकहरुका लागि आकर्षणको मुख्य केन्द्र बनिरहेको इलामको कन्याम र अन्तुमा अहिले पर्यटकीय पूर्वाधारका थप काम गर्न थालिएको छ । बन्दाबन्दीकै बेला पर्यटक आवागमन बन्द भएकाले यही समयमा बाँकी रहेका पूर्वाधार र सौन्दर्यीकरणका काम भइरहेको छ ।
वर्षैभर पर्यटकको खचाखच हुने अन्तु अहिले सुनसान भएपनि अन्तु डाँडा सम्म पुग्ने बाटोमा सोलिङ गर्ने काम हुँदैछ । कोरोना संक्रमणले अन्तुका होमस्टे र होटल भने पूर्ण रुपमा बन्दनै छन् । ‘अस्ति त संक्रमण बढेकाले नगरपालिकाले शील गरेको थियो, अहिले शील खोलिएको छ, तर आवागमन बन्द छ ।’ अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले भने, ‘अन्तु डाँडामा जाने भ्युटावर सम्मको बाटोमा भने सोलिङको काम हुँदैछ ।’

   अघिल्लो वर्ष नेपाल सरकारले देशका विकास गर्नुपर्ने सय गन्तव्र्य सूचीमा राखेको कन्याम–फिक्कल–अन्तु सर्किट अन्तर्गत पनि कन्याम र अन्तुमा पर्यटकीय पूर्वाधार विकासका काम भइरहेका हुन् । गतवर्ष करिब २ करोड रुपियाँमा अन्तुमा भ्युटावर, पटाङ्गीनीको काम भएको थियो । यो वर्ष पनि अन्तुमा करिब डेढ करोड रुपियाँ खर्चेर सौन्दर्यीकरको काम भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ ।

     यता पर्यटकीय स्थल कन्याममा मेची राजमार्गको चौडा फराकिलो पारेपछि अहिले सौन्दर्यीकरणको काम भइरहेको छ । सडकमा ट्राफिक संकेत, रंग रोगनले कन्याम यतिबेला निकै सुन्दर भएको छ । हर्कटे बजार देखि फिक्कल सम्मको राजमार्ग चौडा बढाउने र सौन्र्दयीकरणका लागि करिब दश करोड रुपियाँको काम भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ ।

    ‘कन्याम पर्यटकहरुको आकर्षणको मुख्य केन्द्र भएकाले यसलाई थप व्यवस्थित गर्न नगरपालिकाले विभिन्न काम र योजनाहरु अघि सारेको छ ।’ सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई भने, ‘अब विभिन्न प्रजातिका बोट विरुवा र विषेश गरि विभिन्न रङका गुराँसका विरुवा राजमार्गको आसपासमा लगाउन विरुवा तयारी गरिरहेका छौं ।’ तेह्थुमबाट ३६ प्रजातिका गुराँसका विरुवा ल्याएर कन्याममा वृक्षा रोपण गर्ने लक्ष्य रहेको राई बताए । अहिले पशुपतिनगरमा वौद्ध पार्क, करफोकमा पर्यटकीय पार्क निर्माणका कामहरु समेत भइरहेको जनाइएको छ ।
पर्यटक भित्र्याउन पर्यटकीय गन्तव्र्यको पहिचान र पूर्वाधार निर्माणका लागि जुटेको इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्ने उद्देश्यले ‘बन्जीजम्प’ निर्माणको योजना रहेको छ । डोलिडारले निर्माण गरिरहेको यो योजनाको अहिले दुवैतर्फ पिल्लरको काम गरिरहेको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईंले बताए । बन्जीजम्पका लागि करिब ३७० मिटर लम्बाइको पुल निर्माण हुनेछ ।
इलाम नगरपालिकाले अरनिको सांस्कृतिक संग्रहालय, पाटेनागी पर्यटकीय क्षेत्रमा पनि विभिन्न काम गरिरहेको इन्जिनियर गुरागाईंले बताए । पाटेनागीमा भने जैविक विविधता संरक्षण, रेडपाण्डा संरक्षण, पदमार्ग निर्माणका काम हुने गुरागाईंले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार