बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेलवे सेवा सञ्चालन हुँदै

  आवाज संवाददाता

लण्डन । दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम प्रदर्शन गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि बेलायतमा रेल सेवा सन्चालन हुने भएको छ ।

बेलायतको प्याडिङटन रेलवे स्टेशनमा बुधबार बिहान (२३ जुन) हुने एक समारोहमा रेलवे सन्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गर्ने भएको हो ।

भिसी पुनका सुपुत्र अर्जुन तिलिजाले बुधबार बिहानको सो कार्यक्रमका लागि आफूहरुलाई निमन्त्रणा प्राप्त भएको बताए । भिसी पुनले भिक्टोरिया क्रस पाएको दिनको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा एक शहरलाई अर्को शहरसित जोड्ने रेलवे सेवाको नाम पुनको नाममा गर्न लागिएको हो ।

सो समारोह पुनले भिसी पाएको ७५ वर्ष पुगेको अवसरमा पोहोर साल नै गर्ने योजना बनाइएको भए पनि कोरोना महामारीका कारण एक वर्ष स्थगन गरिएको जानकारी पनि तिलिजाले दिए ।

सो नामकरण समारोहमा ख्यातिप्राप्त अभिनेत्री जोअना लम्ले साथै भिसी पुनका परिवारका सदस्यहरुको उपस्थितिमा हुने बताइएको छ ।

भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक दिइएको हो ।

गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।

ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले भनेका छन्, ”भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।”

गोरखा वेलफेयर ट्रष्टका आडम बेन्थामले भने, ” गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए ।” तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । ”हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो”, उनले भने ।

गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भनिन्, ‘म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित लडे, उनीहरुसितको भेट कहिल्यै बिर्सदिनँ । हाम्रो स्वतन्त्रताको रक्षाका लागि नियमित ड्यूटीभन्दा माथि उठेर लड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।’ नागरिक खबरले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार