दामका लागि खाडी, नामका लागि मिडिया

इलाम । कुरा २०६० सालको हो । जतिबेला माओबादी सशस्त्र द्वन्द्व जगमगाइरहेको थियो । मृत्यु, घाइते,पक्राउ अनि बेपत्ता जस्ता खबर मिडियाको मुख्य खुराक बन्थे । यी नै विषयले सबैको मन पोल्थ्यो । गाउँघरका हुनेखानेलाई चन्दा आतङ्कले बासीखान पाएनन् । सामान्य जीवनयापन गर्नेलाई पनि कहाँ सजिलो थियो र ?
कति बेला कहाँ भिडन्त हुन्छ भन्ने पिरलो परिरहन्थ्यो । विहान विद्यालय गएको बच्चो फर्किन्छ÷फर्किन्न टुङ्गो हुन्नथ्यो । यसको मुख्य मारमा युवा पङ्ति पर्थे । विहान÷वेलुका तालीम गराउने, ‘नयाँ देश बनाउन’ जाग्नु पर्छ भन्ने नाममा युवा पनि गिरफ्तारीमा पर्थे । राज्यपक्षबाट होस् वा तत्कालीन द्वन्द्वरत पक्ष दुवैले सुराकी भन्दै समाउथे ।
राज्य–माओबादी झमेलाले धेरैलाई देशमा बसिखान दिएन । यसको प्रत्यक्षमा मारमा पर्ने एक व्यक्ति हो, फाकफोकथुम गाउँपालिकाका युद्धबहादुर बोहोरा । गाउँको सानो विद्यालयमा पढाउने बोहोरालाई धेरै कुरा थाहा थिएन । वन्द÷हड्तालका नाममा विद्यालय खुलाभन्दा बन्द बढी हुन्थे । केही गर्ने गर्ने, पटकपटक झमेला आइपरेपछि बोहोराले के नै सोच्न सक्नु हुन्थ्यो र !
उहाँले माओबादी द्वन्द्वको सामना गर्दै भविष्य खोज्नु पर्ने थियो । बोहोरालाई देशमा बसेर केही गर्न सकिएला भन्ने लागेन । यी सबैको उत्तम उपाय वैदेशिक रोजगारी बन्ने बोहोरालाई लाग्न थाल्यो ।
गाउँमै सानोतिनो जागिर, परिवार, थोरै भएपनि जमिन छाडेर सात समुद्रपारी जान बोहोरालाई पनि मन थिएन ।तर, समयले यस्तै गरायो । यही प्रस्ताब बोहोराले परिवार कहाँ राखे । सजिलै ‘हुन्छ’भन्ने कुरा आएन । तर, ‘हुँदैन’भन्ने कसको आँट ।

   गाउँमा बसिखानेस्थिति नभएपनि गरिखान केही गर्नैपर्ने थियो । परिवारपछि छरछिमेक र नातागोतामा सरसल्लाह गरेसँगै बोहोरा दुवई उड्ने हुनुभयो आमाबुवा, जन्मभूमि सबै छाडेर कमाउन खाडी भासिनु पर्दा बोहोराको मन कम दुखेको थियो र ? तर के गर्ने अर्को विकल्प नभएपछि ? आफूसँग भएको र खोजखाज गरेको एकमुष्ठ ५० हजार रुपैयाँ रकम बुझाएर बोहोरा उनी पुगे ।

    वैदेशिक रोजगारीलाई ‘भाग्य’ सम्झँदै बोहोरा काममा खटिन थाले । तर,बोहोराको बाध्यतात्मक वैदेशिक रोजगारी नै आर्थिक छल्याङ मार्ने माध्यम बन्यो । बोहोराले पहिलो÷दोस्रो चरणमा गरि रु २० लाख लिएर स्वदेश फर्किए ।
पहिलो चरणमा चार बर्ष विदेश विताएका उनले छुट्टिमा घर फर्किएर विवाह गरे । विवाह पश्चात्पनि पुनः कमाउन विदेशिनु पर्ने भयो । एकातिर नवविवाहित पत्नी चटक्कै छाडेर विदेशिनु पर्दा फेरि मन रोयो । तर, पहिलेकै ठाउँमा जान पाउँदा समस्या हुँदैन भन्ने लाग्यो । दोस्रो पटक विदेशिएको चार बर्षमा भने ‘विदेश बसाइ पूर्णविराम हान्दै’ बोहोरा नेपाल फर्किए ।
यति बेला यहाँपनि स्थिति पहिले जस्तो थिएन । द्वन्द्वकाल थिएन भने अन्य विषय पनि सामान्य भएका थिए । अब बोहोरा नयाँ सोचका साथ अघि बढ्नुभयो । पहिलेको ठाउँ छाडेर इलाम–पाँचथरको सीमावर्ती क्षेत्र पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित घुर्पिसे पञ्चर्मीमा घर किने ।
घरसँगै रहेको एउटा कोठामा लत्ताकपडाको दोकान शुरु भयो । अब भने बोहोराका दिन फर्किए । यत्तिकैमा उनलाई समाजमा केही काम गर्नुपर्छ भन्ने भान पर्न थाल्यो । हुन त बोहोरा विदेशबाट फर्किर्दैमा यो सोच आएको हो । तर, व्यक्तिगत सुसेधन्दाले गर्दा लामो समय सोच यतातिर गएन ।
उनले विदेशमै सिकेको सीपलाई स्वदेशमा खन्याउने प्रयत्न गरे । बोहोरा, कुनै बेला दुवईमा सेफ्टी इञ्जिनियरिङको काम गर्थे । त्यसबेला सेफ्टी बुलेटिनको काम गर्नुपथ्र्यो । बुलेटिन मतलब पत्रपत्रिकाको काम । यसमा उनी मात्रै दख्खल राख्थे । बोहोराले एकातिर सीप प्रयोग हुने र अर्कातिर नाम पनि हुने बुझे । बोहोरा यतै लम्किए ।
अहिले बोहोरा इलामको अनलाइन मिडिया नयाँ बुलन्द अनलाइन र झापाको पूर्वाञ्चल दैनिकको इलाम–पाँचथर संवाददाता छन् । उनी मिडियामा प्राय ः आफूले भोगेका विषयलाई उठान गर्छन् । उनको प्रयत्न वैदेशिक रोजगारीका लागि युवा विदेशिनु हुँदैन भन्ने हो ।
इलाम नगरपालिकास्थित गोदकका विक्रम सुन्दासलाई पनि प्रवेशिक परीक्षा उत्र्तीण पश्चात् स्वदेश बस्न मन भएन । यसको मतलब, बोहोराको जस्तै सुन्दासको पनि पारिवारिक आर्थिकस्थित कमजोर बनेकाले कमाउने माध्यम सोच्ने बेला आयो । आफूसँगैका दौतरीपनि लगालग भिषा पक्रिएर विदेश पुग्न थालेपछि सुन्दासलाई पनि विदेश नै उत्तम विकल्प लाग्न थाल्यो । तर, उमेर कति पो पुगेको थियो र ! जम्मा १८ । सोचेर मात्र कहाँ भयो र !
पुग्ने आँट पनि चाहियो । जम्मा २० बर्ष नपुगेकालाई परिवारले विदेशिन सल्लाह दिने कुरा पनि भएन । समस्याका बीचबाट सुन्दासले आँटैले परिवारलाई प्रस्ताब गर्नुभयो । परिवारले उहाँको कुरा ठिक त भन्यो तर अन्य समस्या आइलागे । विदेश जानका लागि डेढ लाख रकम लाग्ने भयो, कहाँबाट निकाल्ने ।   घरका सरसामान बेचबाच पारेर र साथीभाइको सरसहयोगले रकम तय भयो । सुन्दास रोजगारीका लागि साउदीअरब जानु हुने भयो । साउदीअरबमा पनि सुन्दासले कम पापट झेल्नु प¥यो र ! शुरुमा काम थियो, लेभरको । सजिलो थियो र । तर, गर्दै जाँदा सहजपछि झन् सहज हुँदै गयो ।
तलब पनि कामसँगै बढ्दै गयो । पुगनपुग चार बर्ष बसेपछि सुन्दास नेपाल फर्किए । नेपाल फर्किएर पनि विवाह गरेपश्चत् पुन ः उनलाई विदेश जाने सोच पलायो । मन थिएन तर बाध्यताले गर्दा उत्तम बाटो सुन्दासका लागि विदेश नै तय भयो । फेरि चार बर्ष विदेश बसेपछि भने सुन्दासलाई नेपाल फर्किनु पर्छ भन्ने लाग्न लाग्यो ।
विदेशको गर्मी र कामले वाक्क भएपछि गाउँमै केही गर्न बिक्रम हवाइजहाज चढे । उनी स्वदेश फर्किना साथ कलेज भर्ना भए । व्यक्ति परिपक्व हुन अध्ययन आवश्यक छ भन्ने सोच पलाएपछि इलामकै इलाम माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भए । अहिले सुन्दासको पढाइ स्नातक पुगेको छ । विदेश बसेकोमा खासै असन्तुष्टि छैन ।
कमाएको केही रकमले जग्गा किनेको छ भने पहिले जस्तो खानलाउन अपूग छैन । आर्थिकस्थिति केहीमाथि उठेपछि समाजका लागि केही गर्नुपर्छ भन्ने लागेको छ । नाम कमाउनका लागि पनि सुन्दास अहिले मिडियाकर्मी बनेका छन् । इलाम सदरमुकामकै चियाबारी एफएममा सुन्दास कार्यरत छन् ।
दैनिक चारदेखि पाँच कार्यक्रम छन् । सुन्दासको नाम अहिले चर्चाको शिखरमा छ । रेडियो सुन्ने जो कोहीले सुन्दासको नाम सुनेकै हुन्छन् । मनोरञ्जनात्मक कार्यक्रममा बढी समेटिनाले पनि सुन्दास चर्चित छन् । बोहोरा र सुन्दास मात्र होइन, धेरैले वैदेशिक रोजगारबाट फर्किएर उद्यम पक्रिएका छन् । विदेशबाट कमाएको रकम लगानी गरेका छन् भने आफूपनि स्वभालम्बी बनेका छन् ।
विदेशिएर फर्किएकालाई स्वरोजगार बनाउने कार्यक्रम
पछिल्लो समय वैदेशिक रोजगारसम्बन्धी चेतना बढाउन सामाजिक संस्था लागि परेका छन् । विशेषतः रोजगारीमा जान नदिने नभए सुरक्षिततवरले रोजगारीमा जान अनुरोध गर्ने कार्यक्रम थालिएको हो । केही समयअघि मात्रै स्थानीय तहको समन्वयमा सुरक्षित आप्रवासन सम्बन्धी इलाम घोषणा पत्र–२०७८ बनेको छ ।
घोषणा पत्रको पहिलो बुँदामा सकेसम्म स्वदेशमै रोजगार बन्ने, यदि विदेश जाने भएमा पनि सुरक्षित तरिका अपनाउने बताइएको छ । यस्तै, दोस्रो बुँदामा जिल्ला प्रशासन कार्यालय इलामको हाता भित्र रहेको आप्रवासी स्रोत केन्द्रका सेवाहरू (सही सूचनामा पहुँच, न्यायमा पहुँच र निःशुल्क सीप तालीम )बाट सबै पालिकाका नागरिकहरुलाई लाभ पु¥याउन रोजगार संयोजकहरुको भूमिका विस्तार गर्ने । वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्न स्थानीय तहले बजेट र कार्यक्रम व्यवस्थापन गर्ने लगायतका बुँदाहरू छन् ।
परियोजनाका जिल्ला संयोजक इश्वरी तामाङका अनुसार सुरक्षित आप्रवासन आपतकालीन कोष निर्माण गर्ने, आप्रवासी कामदार तथा तिनका परिवारले भोग्ने समस्या र विदेशमा मृत्यु भएका मृतकको शव झिकाउन, क्षतिपूर्ति उपलब्ध गराउन, मृतकको सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउन र आप्रवासी स्रोत केन्द्रसँग समन्वय गर्न स्थानीय तहमा जिम्मेवार व्यक्ति तोक्ने उल्लेख छ । आप्रवासन क्षेत्रको सरोकारमा समन्वय, सहकार्य र व्यवस्थापन गर्नका लागि जिल्लाका सबै स्थानीय तहको प्रमुखरउप प्रमुख वा तोकिएको प्रतिनिधि सम्मिलित जिल्लास्तरीय आप्रवासन व्यवस्थापन समितिको निर्माण गर्ने उल्लेख गरिएको छ ।
यस्तै, जिल्लास्थित मानवअधिकार मञ्च नेपालले वैदेशिक रोजगारपछि उद्यमशीलताका कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएकालाई पहिलो चरणमा उद्यमशीलता र दोस्रो चरणमा सीपविकास तालीम चलाइँदै छ । जिल्लाका दुई स्थानीय तहमा सञ्चालित तालीममा सन् २०१९ मा २ सय ४१ उद्यमशीलता विकास तालिम र यिनैमध्ये ६९ ले सीप विकास तालीम लिएका थिए ।
सन् २०१९ देखि मानवअधिकार मञ्च नेपाल इलामले जिल्लको दुई पालिकामा सुरक्षित आप्रवासन, स्वउद्यमशीलताका लागि युवा सशक्तीकरण समूहमार्फत ‘सामाजिक रूपान्तरणका लागि युवा कार्यक्रम सञ्चालन गरेको थियो ।
माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रमको निर्धारित अवधि पूरा भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी साबित भएको छ । कार्यक्रमअन्तर्गत सन् २०१९ मा २ सय ४१ उद्यमशीलता विकास तालिम लिएका थिए ।
‘सामाजिक रुपान्तरणका लागि युवा’अन्तर्गत सीप विकास तालीम लिएका सबैले व्यवसाय गरिहेको कार्यक्रमका संयोजक सन्तोष मगरले बताए । ‘पहिलो वर्ष तालीम गराएका सबैलाई व्यवसाय शुरु गर्नका लागि हामीले १० हजार रुपैयाँका दरले सहयोग गरेका छौं, त्यहीअनुसार पालिकाहरूले समेत उनीहरूलाई व्यवसाय शुरु गर्न बीउ पुँजी प्रदान गरेका छन्,’ कार्यक्रम संयोजक मगरले भने, ‘उद्यमशीलता विकास तालीमपछि पनि धेरैले स्वरोजगार हुने काम शुरु गरेका छन् ।’
परियोजनाका लागि १ करोड ८७ लाख ६६ हजार १ सय ६२ रुपैयाँ खर्च गरिएको छ । रोङ र माई नगरपालिकामा सम्पन्न भएको कार्यक्रम माईजोगमाई गाउँपालिका र चुलाचुली गाउँपालिकामा कार्यान्वयन गरिने मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार