नयाँ मन्त्री पदमुक्त

  आवाज संवाददाता

केही समयअघि नियुक्त भएका २१ मन्त्रीकाे नियुक्ति कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश गरेकाे छ । वर्तमान सरकार काम चलाउ भएकाले कार्यान्वयन नगर्न  आदेश दिएकाे हाे ।    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २१ मन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रतिनिधिसभा विघटनलगत्तै माओवादी छाडेर एमाले भएका मन्त्रीहरुलाई शपथ गराएका थिए । उनीहरुलाई यसअघि पदमुक्त गरेको अदालतले जेठ १७ गते पुनः गरिएको मन्त्रिपरिषद विस्तार विरुद्ध अन्तरिम आदेश दिएको हो ।

    जसपासमेत सरकारमा सहभागि भएपछि ३ उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ १७ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले शपथ लिएका थिए ।

रिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर सो रिट दायर गरेका थिए । गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशबाट उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री जिम्मेवारीमुक्त भएका छन् । अब सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार