विवाहकाे भोज खाँदा बागलुङका ३५ जना कोरोना संक्रमित

  आवाज संवाददाता

बागलुङ । बागलुङ नगरपालिका–३ खोलाखेत टोलका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु दुई साताअघि विवाहको भोजमा सहभागी भएका थिए ।

भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराउँदा मंगलबार उनिहरुमा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

‘निषेधाज्ञाको समयमा पनि धुमधामले भोज लगाएका रहेछन्,’ उनले भने, ‘सदरमुकाम नजिकै भएकाले बजारवासीसमेत त्रसित छन् ।’ खोला खेतवासीले भने विवाहमा आफ्नै परिवार र टोलवासी मात्रै रहेको दाबी गरेका छन् । संक्रमण कसरी फैलियो भन्नेमा उनीहरू पनि अन्योलमा छन् ।

टोलभरि नै संक्रमण देखिएपछि प्रशासन र नगरपालिकाले उक्त क्षेत्रलाई सिल गर्ने तयारी गरेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् । ‘संक्रमितलाई बाहिर जान आउन नदिने, बरु अत्यावश्यक सेवा वडाले पठाउने गरी काम हुँदै छ,’ उनले भनिन्, ‘सिंगो बजारलाई जोखिम हुने गरी आउजाउ गर्न दिइने छैन ।’ उनका अनुसार संक्रमित सबैलाई होम आइसोलेसनमा राखिएको छ । जटिल समस्या भएमा तत्काल अस्पताल ल्याउने गरी व्यवस्थापन भएको बाँस्कोटाले बताइन ।

यसअघि गत जेठ पहिलो साता बागलुङकै बडिगाड गाउँपालिकामा विवाहको भोज खाँदा वडा नम्बर ४ मा एकै परिवारका ४ जनासहित ७ जनाको मृत्यु भएको थियो । बागलुङकै बलेवा क्षेत्रमा पनि विवाह, चौरासी पूजालगायत पर्व मनाउँदा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । बागलुङ–३ बाट वडा ८ मा जन्ती गएका गाडी प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

‘कोरोना संक्रमणको चेन ब्रेकका लागि पहल भइरहेको थियो, जानेबुझेकाले नै विवाह भोज गरिदिएपछि फेरि जोखिम भयो,’ स्वास्थ्य शाखा प्रमुख खनालले भने, ‘सबै जागरुक नभएसम्म संक्रमणबाट मुक्त हुन सकिँदैन ।’ कतिपय पालिकामा भने कडाइ गरेकै कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण मुक्तसमेत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार