इलाम नगरपालिकाको नीति तथा कार्यक्रम: पुवाखोलामा वञ्जीजम्प, एक वडा १० कृषि स्नातक

  आवाज संवाददाता


इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार शुरु भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङले पेश गरेको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो ।
इलाम नगरपालिकाको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु समावेश गरिए पनि उल्लेख्य नयाँ कार्यक्रमहरु छैनन् । अधिकांश कार्यक्रमहरु विगतकै निरन्तरता दिइएको देखिन्छ ।

नगरको आर्थिक विकासका लागि कृषिलाई समृद्धिको प्रमुख आधार बनाउन नीति तथा कार्यक्रममा नगरमा ‘एक वडा १० कृषि स्नातक’ नारा कार्यक्रम अघि बढाइने उल्लेख छ । यसरी पूवाखोलामा बञ्जी जम्प निर्माण थालिने पनि उल्लेख छ । नगरका सुकुम्बासीहरुलाई जमिनको मालिक बनाउका लागि सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसरीनै कृषि क्याम्पस सञ्चालन गर्ने, एक वडा एक स्वास्थ्य संस्था निर्माण गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसरीनै करकाे दायरा फराकिलाे बनाइँदै लगिने पनि जनाइएकाे छ ।

आ.ब. २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम:

आर्थिक विकास

 इलाममा उत्पादन हुने कृषि उत्पादनको व्यवसायीकरण तर्फ उन्मुख गराउने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
 गाई पालनमा अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदैं पशुपालनका क्षेत्रमा थप कार्यक्रमल्याइनेछ ।
 माछापालनर मौरीपालनमा कृषकहरुलाई सहयोग गरिनेछ ।
 गरिवी निवारण तथा सामाजिक परिचालक कोषबाट सहकारी सस्थामार्फत कृषकहरुलाई ऋण सुविधा प्रवाह गरिनेछ ।
 कृषिलाई समृद्धिको प्रमुख आधार बनाउन ूएक वडा दस कृषि स्नातकू उत्पादन नारालाई अगाडि बढाइनेछ ।
 कृषि प्रबर्द्धनका लागिसहभागितामुलक फलफुलका विरुवा, कृषि मल, वीउविजन कृषि औजार तथा उपकरणअनुदानको साथै सिंचाई कुलोको व्यवस्था गरिनेछ ।
 नगरका मूख्य स्थानमा थोक तथा खुद्रा कृषि बजारको विस्तार तथा व्यवस्थापन गरिनेछ ।
 पर्यटन प्रबर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माणका योजना कार्यान्वयन गरि प्रबर्द्धन कार्य गरिने छ ।
 नगरमा पर्यटकीय स्थल तथा पार्कहरुको निर्माण तथा मर्मतसुधार गरिनेछ ।
 धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबर्द्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
 पर्यटन प्रबर्द्धनका लागि इलाम नगरपालिका वडा नं। ६ सेती देवी देखि देउमाइ नगरपालिका वडा नं। ५ मा पुवा खोलामा झोलुङ्गे पुल तथा बञ्जी जम्पको निर्माण कार्य प्रारम्भ गरिने छ ।
 इलाम नगरपालिकालाई शालिकको सहरको रुपमा चिनाउनका लागि विभिन्न स्थानहरुमा मूर्ती तथा शालिकको स्थापना गरिनेछ ।
 पाटेनागी पर्यटकीय क्षेत्रको विकासका लागि संस्थागत रुपमा कार्यक्रम ल्याइनेछ ।
 इलाम नगरपालिका वडा नं। ७ मा फनपार्क निर्माण कार्य सम्पन्न गरी सञ्चालन गरिनेछ ।
 जिल्लाका छिमेकी स्थानीय तहहरुसँग पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन तथा विकासको लागि सहकार्य गरिने छ ।
 लगानी प्रबर्द्धनका लागि लगानीकर्तालाई छुट लगायत लगानी प्रबर्द्धनका कार्यक्रमलाई अवलम्बन गरिनेछ ।
 उद्योग व्यवसाय सञ्चालनका लागि अल्पकालीन तथा मध्यकालीन तालिम दिने तथा पुँजी प्रवाह गरिनेछ ।
 पर्यटन विकासको लागि सार्वजनिक जमिन बहाल बिटौरीमा दिने नीति अवलम्बन गरिनेछ ।
 सहकारीहरुलाई कृयाशील तथा मजबुत बनाउने र सहकारी एकीकरण नीतिलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइनेछ
 भू-उपयोग नीतिलाई अवलम्बन गरिने छ, बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गरिनेछ ।
 सार्वजनिक बाँझो जमीनमा सामुहिक तथा व्यक्तिगत रुपमा खेती गर्न प्रोत्साहन गरिने छ।
 सार्वजनिकरसरकारी जमिनहरुको उचित संरक्षण र विकास गरिनेछ ।
 नगरपालिका भित्र रहेका जग्गाधनीहरुको जमिनको स्वामित्वमा वर्गीकरण गरिनेछ ।
 सुकुम्वासीहरुलाई जमिनको मालिक बनाउने कार्यका लागि आवश्यक सहयोग गरिनेछ ।
 भूउपयोग योजनाअनुसार खेती योग्य जमिनमा बस्ती विकासका कार्यलाई दुरुत्साहन गरिने छ ।
 इलाम नगरपालिकालाई जिल्ला कै व्यापारीक केन्द्रको रुपमा विकास गर्ने नीति अवलम्वन गरिनेछ ।
 बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन श्रोत साधनको व्यवस्था गरिनेछ ।
 सार्वजनिक नीजि साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
 इलाम नगरपालिका वडा नं। ९मा काले दमाई जनकदेव शाक्य साइन्स पार्कको निर्माण गरिने छ ।

सामाजिक विकास

 जनसंख्याको सन्तुलनलाई कायम गर्ने नीति अवलम्वन गरिनेछ ।
 बसाइसरी आउनेलाई प्रोत्साहन तथा बसाईसरी जानेलाई निरुत्साहन गर्ने गरी आवश्यक कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ ।
 स्थानीय भाषा तथा संस्कृति संरक्षणको नीति अवलम्वन गरिने छ ।
 भाषिक, संस्कृतिक क्षेत्र तथा सम्पदाको संरक्षण गर्न सम्बद्द संस्था मार्फत काम गरिनेछ ।
 १ वडा १ खेलकुद मैदानको निर्माण तथा सुधार कार्यलाई निरन्तरतादिइने छ ।
 जिल्लास्तरीय माइ भगवती रङ्गशाला निर्माण कार्यलाई निरन्तरता दिइनेछ भने अन्य खेलकुद पूर्वाधारका कार्यक्रम सञ्चालन गरिनेछ ।
 खेलकुद कार्यक्रम आयोजना तथा सहयोग गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
 युवा स्वरोजगार तथा सीप विकास कार्यक्रम सञ्चालन गरिनुका साथै युवा प्रतिभाहरुलाई प्रोहत्साहित गरिनेछ ।
 समाजमा रहेका कुरिती, कुसंस्कार तथा दुर्व्यसनका विरुद्धमा युवालाई नै परिचालन गरि न्यूनीकरण गर्ने कार्यक्रम ल्याइनेछ ।
 लक्षित वर्गको उत्थानका लागि क्षमता विकासका लागि सीप मुलक तथा आय मुलक कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिइनेछ ।
 महिलाको क्षमता विकासका लागि उपप्रमुख महिला सीप विकास कार्यक्रमलाई उल्लेख्य रुपमा बजेट बृद्दि गरि प्रभावकारी रुपमा सञ्चालन गरिने छ।
 शिक्षाको गुणस्तर अभिबृद्धिको लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
 परिवर्तित नयाँ पाठ्यक्रम अनुसार शिक्षण प्रणाली व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
 स्थानीय पाठ्यक्रमबमोजिम पठनपाठन कार्य प्रारम्भ गरिनेछ।
 हाल फैलिएको महामारीबाट उत्पन्न भएको असरबाट शैक्षिक शत्रमा असर नपर्ने गरि शैक्षिक गतिविधि अघि बढाइने छ ।
 १ वडा १ स्वास्थ्य संस्थाको नीति कार्यान्वयन गरी स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिनेछ ।
 स्वास्थ्य क्षेत्रको क्षमता बृद्धिका कार्यक्रम ल्याइनेछ ।
 स्वयमसेवीकाको प्रोत्साहनका कार्यक्रम ल्याइने छ।
 सुत्केरी सुविधा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
 स्वास्थ्य केन्द्रहरुमा पर्याप्त औषधि तथा उपकरणको व्यवस्थापन गरिनेछ ।
 इलाम जिल्ला अस्पतालको क्षमता विकासका लागि सहयोग साथै डायलोसिस सेवा सञ्चालन गरिनेछ ।
 इलाम सामुदायिक आँखा अस्पताल भवनको निर्माण सम्पन्न गरी सेवा सञ्चालन गरिनेछ ।
 इलाम सामुदायिक कृषि क्याम्पसको स्थापना तथा सञ्चालन गरिनेछ ।
 वडामा रहेका जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित गरिनेछ ।
 अपाङ्ग,अनाथ तथा बृद्धाबृद्धलाई संरक्षण तथा सहयोग गर्ने नीति ल्याइनेछ ।
 जेष्ठ दलित विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
 कडारोगीलाई सहयोगको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
 सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गरिने छ ।
 बालबालिकाको लागि विविध कार्यक्रम सञ्चालन गरिनेछ ।
 साना तथा घरेलु उद्योगहरुलाई नियमन तथा प्रोत्साहनको नीति अवलम्वन गरिनेछ ।
 हाल फैलिएको कोभिड १९ को महामारीको समयमा बस्तु तथा सेवाको आपूर्ती व्यवस्थामा सहजता ल्याइने छ ।
 महामारीको रुपमा फैलिएको कोभिड(१९ नियन्त्रणका लागि सूचना सम्प्रेसण गरी सचेत गर्ने परिक्षणको दायरा बढाउने उपचार गर्ने कार्यक्रम ल्याईनेछ ।
 महामारीसँग जुध्न आवश्यक ‌औषाधि, उपकरण, जनशक्तिको व्यवस्थापन गरिने छ ।
 धार्मिक मठमन्दिर निर्माण सहयोग अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
 नगरपालिकाबाट गठित ८ वटा समितिलाई अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

पूर्वाधार विकास

 नगरका निर्माणाधिन सडकहरुको पूर्णताका लागि पहल गरिने छ भने सडकहरुको निर्माण तथा स्तरोन्नतीका लागि संघ तथा प्रदेश सरकारसँग पहल गरिने छ ।
 सडक निर्माणमा लागत सहभागिताको नीतिलाई प्राथमिकतामा राखिने छ ।
 वडा प्रशासकीय भवन, विद्यालय भवन तथा स्वास्थ्य भवनहरु निर्माण गरिने छ ।
 इलाम नगरपालिका वडा नं ९ मा रहेको नयाँ बसपार्क सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
 इलाम नगरपालिका वडा नं ७ मा रहेको बसपार्कमा निर्माण हुने मुख्यमन्त्री बहुतले पार्किङ्गको निर्माण समयमै सम्पन्न गर्न सहयोगगरिनेछ ।
 एक घर एक धाराको सिद्धान्त अनुरुप इलाम नगर क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गरिने छ ।
 साविक इलाम नगरपालिकाको खानेपानी आयोजनालाई पूर्णता गरि सञ्चालनको व्यवस्था गरिने छ भने नगरका अन्य वडामा समेत खानेपानीका योजना सञ्चालन गरिने छ ।
 सिंचाई कुलोको संख्या बृद्धि गर्दै सिंचाईका योजनाहरु सञ्चालन गर्न साझेदारीको कार्यक्रम सञ्चालन गरिनेछ ।
 नगरमा रहेका पुराना सिंचाई तथा कुलोहरुको मर्मत गरिनेछ ।
 व्यवस्थित सहरीकरण र बसोबासको नीतिलाई अगाडि बढाइनेछ ।
 उपनगरहरुको अवधारणा अनुसार बसोबासलाई व्यवस्थित गर्ने नीति लिइनेछ ।
 राष्ट्रिय भवन संहिता र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम घर निर्माण प्रक्रिया लागू गराइनेछ ।
 नक्सापास बिना निर्माण गरिएका निजी तथा सार्वजनिक भवन तथा सरचनाहरु लाई २०७८ कात्तिक मसान्तभित्र नक्सा पास गर्न म्याद दिइनेछ र सो म्यादभित्र नक्सापास गरेमा जरिवाना नलिइने नीति कार्यान्वयन गरिने छ ।
 निर्माण सम्पन्न भइ सकेका सरकारी भवनहरुलाई २०७८ कार्तिक मसान्तसम्म शुल्क मिनाहा गरी नक्सापास गरिने र मशिर देखि सरकारी भवनहरुलाई पनि कानुनबमोजिम शुल्क तथा जरीवाना लिएर मात्र नक्सापास गरिनेछ ।
 नक्सापास प्रक्रिया नगरी जबरजस्ती घर निर्माण गर्ने व्यक्ति संघ संस्थालाई सबै प्रकारको सेवा सुविधा रोक्का गरी कानुन बमोजिम कारवाही गर्ने नीति लिइनेछ ।

वन वातावरण तथा विपद् व्यवस्थापन र फोहरमैला व्यवस्थापन

 सरसफाई क्षेत्रको विस्तार तथा फोहरमैला ब्यबस्थापन केन्द्रको व्यवस्थापन गर्न विस्तृत परियोजना प्रस्तावबमोजिम निर्माण प्रारम्भ गरिनेछ ।
 नगरको ढल व्यवस्थापन तथा कम्पोष्ट प्लाण्टलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
 नगर क्षेत्रमा वन विकासका लागि सामुदायिक वनसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
 सार्वजनीक खाली जग्गामा बृक्षारोपण तथा विरुवाको संरक्षणका कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
 वैज्ञानिक वन व्यवस्थापन प्रणाली अवलम्बन गर्दै वनलाई वालीको रुपमा विकास गर्ने नीति अवलम्वन गरिनेछ ।
 विपद व्यवस्थापनमा तत्काल राहत तथा पुनरस्थापनाका लागि कोषको व्यवस्थापन गरिनेछ ।
 नगर क्षेत्रमा विद्युत विस्तार तथा सौर्य बत्तिको व्यवस्थापन गरिने छ ।
 विपद व्यवस्थापन योजना तयार गरी वडागत रुपमा उद्धार तथा राहत सामग्रीको अभिलेख अद्यवधिक गरिनेछ ।
 वातावरणीय प्रदुषण नियन्त्रणका लागि वायु प्रदुषण मापन को ब्यबस्था मिलाइनेछ ।
 माध्यमिक विद्यालयमा वातावरण सूचक क्रियाकलाप कार्यान्वयनको कार्य अनिवार्य गरिनेछ ।
 विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनका लागि प्रतिवेदन तयार गरी जोखिम न्यूनीकरण कार्यक्रम गरिनेछ ।
 हरियाली क्षेत्र विस्तार तथा वातावरणीय सौन्दर्यीकरणका कार्यक्रम सचालन गरिनेछ ।
 वातावरण सरक्षणका लागि गैसस तथा निजी क्षेत्रको सहभागित अभिबृद्धिका लागि लागत सहभागिता कार्यक्रम गरिनेछ ।
 विपद व्यवस्थापन पूर्व तयारी प्रतिकार्य पुनर्लाभका लागि आकस्मिक कोषमा पूँजीगत बजेट विनियोजन गरिनेछ ।
 एम्बुलेन्स दमकल जस्ता आकस्मिक सेवामा पहुँच अभिबृद्धि लगायतका लागि नगरका मोटरेवल सडक सफाइ तथा नाली सफाइगरिनेछ ।

सुशासन तथा सस्थागत विकास

 नगरपालिकाद्धारा सञ्चालन भएका कार्यक्रमको अनुगमन मूल्याङ्कन प्रभावकारी रुपमा गरिनेछ ।
 नगरपालिकाको आवधिक गुरुयोजना निर्माण गरिने छ ।
 न्यायिक समितिलाई प्रभावकारी तथा सवल वनाउन श्रोत साधनको व्यवस्थापन गरिनेछ ।
 प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
 सहभागिता तथा श्रममा आधारित रोजगारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
 नगरपालिकाको सूचना तथा तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरिनेछ ।
 नगरपालिकाको सांगठनिक संरचना तालिका अनुसारका महाशाखा तथा शाखामा जनशक्ति व्यवस्थापन गरिनेछ ।
 भूउपयोग योजनालाई प्रभावकारी बनाउन भूमि व्यवस्थापन शाखामा जनशक्ति तथा उपकरण थप गरिनेछ ।
 कर्मचारीको क्षमता विकास तथा बृत्ति विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
 इलाम नगरपालिकामा प्रगतिशील कर प्रणालीलाई अवलम्वन गरिने छ ।
 करको दरमा समायोजन गरी करको दायरा फराकिलो वनाइने छ ।
 नगरमा कर असुलीका लागि सहज वातावरणको निर्माण गरिने छ ।
 करदातालाई कर तिर्न प्रोत्साहन गरिने छ ।
 नगरका उत्कृष्ट करदातालाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिने छ ।
 राजस्व अनुमानको ९० प्रतिशत भन्दा बढी प्रगति गर्ने वडालाई आगामी आ ब मा रु ५० हजार थप प्रशासनिक अनुदान दिइनेछ ।
 साझा हित र सरोकारका विषयमा आवश्यकतानुसार स्थानीय तह संयुक्त समिति गठन तथा सञ्चालन गरिनेछ ।
 क्षमता विकास योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
 नेपाल सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना, सामाजिक सुरक्षा कोष र बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ
 लैगिक उत्तरदायी बजेट परीक्षण कार्यान्वयन तथा बेरुजु शून्य कार्यलाई प्रभावकारी गरिनेछ ।
 सुरक्षित आप्रवासनका लागि नगर प्रमुख सुरक्षित अप्रवास आपतकालीन कोष निर्माण गरी सञ्चालन व्यवस्थापन गरिनेछ ।
 नगरपालिकाको सूचना प्रणालीलाई अनलाइन सेवाअन्तर्गत सञचालन गरी एकीकृत सूचना प्रणालीको विकास गरिनेछ ।
 दीगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
 सेवाग्राहीहरुलाई अनलाइन सेवाबाट सेवा उपलब्ध गराउने प्रणाली विकास र सञ्चालन गरिनेछ ।
 नगरपालिकाको ४ वर्षे कार्यविवरण पुस्तकाकारमा प्रकाशित गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार